खेलविविध

रवीन्द्र ढाँट रोड टु यूएफसी सिजन–५ को फाइनलमा, युएफसी सम्झौताबाट एक कदम टाढा

काठमाडौं, २८ साउन : नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटले रोड टु यूएफसी सिजन–५ को फाइनलमा स्थान बनाउँदै नेपाली एमएमए इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्।

उनी रोड टु यूएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बनेका छन्। ढाँटले विजयपछि नेपालमा गएको बाढीबाट पीडितहरुको सम्झना गरेका थिए ।

आज शुक्रबार चीनको सांघाईमा भएको बान्टमवेट (६१.२ किलोग्राम) सेमिफाइनलमा ढाँटले न्युजिल्यान्डका कासिब मर्डकलाई तीन राउण्डसम्म चलेको प्रतिस्पर्धापछि रेफ्रीहरूको सर्वसम्मत निर्णय (युनानिमस डिसिजन) का आधारमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन्।

प्रतिस्पर्धामा ढाँटले सुरुआती चरणमा दबाब खेपे पनि अन्तिम चरणतिर उत्कृष्ट पुनरागमन (कमब्याक) गर्दै खेल आफ्नो पक्षमा पारेका थिए।

आक्रामक प्रहार, सन्तुलित रक्षात्मक खेल र अन्तिम राउण्डको प्रभावशाली प्रदर्शनका कारण उनले निर्णायकहरूको मत आफ्नो पक्षमा पार्न सफल भए।

‘बझाङ्गी बाघ’ उपनामले परिचित ढाँटले अब उपाधिका लागि जापानका रियो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। फाइनलमा जित हात पारे उनले विश्वकै प्रतिष्ठित मिक्स्ड मार्सल आर्ट्स संस्था अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) सँग व्यावसायिक सम्झौता गर्ने अवसर प्राप्त गर्नेछन्।

ढाँटको यो सफलता नेपाली एमएमएका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। पछिल्ला केही वर्षयता अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका उनले आफ्नो खेल जीवनमा ११ व्यावसायिक प्रतिस्पर्धामध्ये १० मा जित र एकमा मात्र हार व्यहोरेका छन्।

उनको एकमात्र हार सन् २०२३ मा इस्माइल खानसँग भएको थियो। त्यसयता भने उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राखेका छन्।

गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ मा भारतीय खेलाडी चुनरेङ कोरेनलाई तेस्रो राउण्डमा नकआउट गर्दै बान्टमवेट उपाधि जितेपछि ढाँट अन्तर्राष्ट्रिय एमएमएमा थप चर्चामा आएका थिए। उक्त जितसँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी बनेका थिए।

रोड टु यूएफसी सिजन–५ को क्वाटरफाइनलमा पनि उनले प्रभावशाली प्रदर्शन गरेका थिए। गत मे महिनामा मकाउमा सम्पन्न क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै उनले सेमिफाइनलको यात्रा तय गरेका थिए।

रोड टु यूएफसी एसियाका उत्कृष्ट एमएमए खेलाडीलाई यूएफसीमा प्रवेश गराउने प्रमुख प्रतियोगितामध्ये एक मानिन्छ। यस प्रतियोगिताका विजेताले यूएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउने भएकाले यसलाई विश्व एमएमएमा प्रवेशको महत्वपूर्ण ‘गेटवे’ का रूपमा लिइन्छ।

ढाँटको अबको ध्यान जापानका रियो ताजिमाविरुद्धको फाइनल प्रतिस्पर्धामा केन्द्रित हुनेछ। त्यसको नतिजाले यूएफसीमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी बन्ने उनको सपना पूरा हुने वा नहुने तय गर्नेछ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.