विश्व समाचार

मोदी, सी र पुटिन एउटै फ्रेममा, बढ्दैछ नयाँ कूटनीतिक समीकरण !

सांघाई सहयोग संगठन (एससीओ) को २६औँ शिखर सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आत्मीय भेटवार्ता चर्चाको शिखरमा रहेको छ ।

सम्मेलनस्थलमा ‘फ्यामिली फोटो’ (सामूहिक तस्बिर) अघि तीन नेताले हात मिलाउँदै छोटो संवाद गर्नुभएको दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको विशेष आकर्षण बनेको छ।

किर्गिस्तानको राजधानी बिश्केकस्थित यरिस ओर्दो कङ्ग्रेस हलमा भएको उक्त भेटलाई विशेषगरी भारत–चीन सम्बन्ध सुधारतर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ।

दुई देशबीच सीमा विवादका कारण विगत केही वर्षदेखि सम्बन्ध तनावपूर्ण रहे पनि पछिल्लो समय उच्चस्तरीय संवाद पुनः सक्रिय बन्दै गएको छ।

प्रधानमन्त्री मोदीले यसै महिना भारतको नयाँदिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति सीलाई निमन्त्रणा दिइसक्नुभएको छ। राष्ट्रपति सीले निमन्त्रणाका लागि धन्यवाद दिँदै भारतको ब्रिक्स अध्यक्षताप्रति चीनको समर्थन रहने विश्वास व्यक्त गर्नुभएको बताइएको छ।

यसैबीच, चीन ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) का पत्रकार झाओ युनफेईले एससीओ र ब्रिक्सजस्ता बहुपक्षीय मञ्चले भारत र चीनबीचको संवादलाई अझ सुदृढ बनाउने अवसर प्रदान गर्ने बताउनुभएको छ।

उहाँका अनुसार चीन र भारत छिमेकी मुलुक भएकाले मतभेदलाई व्यवस्थापन गर्दै साझा हितका क्षेत्रमा सहकार्य विस्तार गर्नु दुवै देशका लागि आवश्यक छ।

“एससीओले दुवै पक्षलाई संवादको महत्वपूर्ण मञ्च दिएको छ। आगामी ब्रिक्स सम्मेलनले पनि सम्बन्धलाई थप सकारात्मक दिशामा अघि बढाउने अवसर दिने अपेक्षा गरिएको छ,” उहाँले बताउनुभयो।

राष्ट्रपति सीको आगामी ब्रिक्स सम्मेलनमा सहभागिताबारे सोधिएको प्रश्नमा झाओले औपचारिक कार्यक्रम सार्वजनिक भइनसकेको भए पनि निकट भविष्यमा त्यससम्बन्धी जानकारी आउने अपेक्षा व्यक्त गर्नुभयो।

उहाँले ब्रिक्सलाई उदाउँदा अर्थतन्त्रहरू तथा ‘ग्लोबल साउथ’ राष्ट्रबीच आर्थिक सहकार्य विस्तार गर्ने महत्वपूर्ण मञ्चका रूपमा वर्णन गर्नुभयो।

यसअघि गत अगस्ट २६ मा भारत र चीनले सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन दुईवटा नयाँ सैन्य सम्पर्क केन्द्र (हटलाइन) स्थापना गर्ने तथा उच्च सैन्य कमान्डर तहका बैठकका लागि थप दुई भेटस्थल निर्धारण गर्ने सहमति गरेका थिए।

उक्त सहमति सीमा सम्बन्धी विशेष प्रतिनिधिहरूबीच भएको २५औँ चरणको वार्ताबाट प्राप्त आठबुँदे सहमतिअन्तर्गत भएको हो। वार्ताको सहअध्यक्षता भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चीनका विदेशमन्त्री वाङ यीले गर्नुभएको थियो।

यसैबीच, एससीओ शिखर सम्मेलनको अवसरमा प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनबीच पनि द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा व्यापार, ऊर्जा, रक्षा, अन्तरिक्ष तथा बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको भारतीय प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री मोदीले युक्रेन युद्ध अन्त्यका लागि संवाद र कूटनीतिक पहल आवश्यक रहेको धारणा पुनः दोहोर्‍याउनुभएको थियो।

किर्गिस्तानको अध्यक्षतामा भइरहेको एससीओ शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सुरक्षा, आतंकवाद नियन्त्रण, व्यापार, सम्पर्क सञ्जाल, कृत्रिम बुद्धिमत्ता, ऊर्जा तथा आर्थिक सहकार्यका विषयमा व्यापक छलफल भइरहेको छ।

सम्मेलनमा भारत, चीन, रुस, पाकिस्तान, इरान, काजकिस्तान, उज्बेकिस्तान, ताजिकिस्तान, बेलारुसलगायत सदस्य राष्ट्रका शीर्ष नेताहरू सहभागी छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.