सुरुङ उद्धारबारे प्रधानमन्त्रीको चासोमा घिसिङको सुझाव (भिडियो)
प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको जतिसक्दो चाँडो उद्धार गरिने बताउनुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहितको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि विज्ञसहितको टोलीले प्रयास जारी राखेको स्पष्ट पार्नुभयो ।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वऊर्जामन्त्री घिसिङले सुरुङभित्र फसेका व्यक्तिको उद्धारबारे प्रधानमन्त्रीले चासो राख्दै सम्भावित उपायबारे जिज्ञासा व्यक्त गर्नुभएको बताउनुभयो।
उहाँले भन्नुभयो, “उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरुङ क्षेत्रमा आवश्यक उपकरण र दक्ष जनशक्ति तत्काल परिचालन गर्न सुझाव दिएका छौँ।”
भेटमा प्रधानमन्त्रीले सुरुङमा फसेका नागरिकको सकुशल उद्धारका लागि सरकारले जस्तोसुकै साधनस्रोत र जनशक्ति परिचालन गर्न तयार रहेको विश्वास दिलाउनुभएको उहाँले जानकारी दिनुभयो ।
घिसिङले भन्नुभयो, “प्रधानमन्त्रीले स्वदेशमा उपलब्ध साधनस्रोत पर्याप्त नभए बाहिरबाट समेत आवश्यक उपकरण र स्रोत तत्काल ल्याएर परिचालन गरिने प्रतिबद्धता जनाउनुभएको छ।”
अध्यक्ष घिसिङले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा राहत वितरणलाई तीव्र बनाउन सडक सञ्जाल तत्काल पुनःस्थापित गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “बाढीले ध्वस्त भएको स्याफ्रुबेँसीसम्म सडक सञ्जाल पुनःस्थापना गर्ने र बेलिब्रिज राख्ने विषयमा पनि प्रधानमन्त्रीसँग विस्तृत छलफल भयो।”





प्रतिक्रिया राख्नुहोस्