जापान

जापानमा मुसलधारे वर्षा, टोकियोका टापुमा उच्चतम तहको पहिरो चेतावनी

जापानको मौसम विज्ञान एजेन्सीले राजधानी टोकियोको दक्षिणमा रहेको द्वीपमा लगातारको भारी वर्षाका कारण पहिरो तथा अन्य प्राकृतिक विपत्तिको जोखिम बढेपछि स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जापानको कान्तो क्षेत्रमा सोमबार बिहानदेखि परेको मुसलधारे वर्षाले जनजीवन प्रभावित भएको छ। भारी वर्षाका कारण विद्यालयहरू बन्द गरिएका छन् भने केही रेल सेवा प्रभावित भएका छन्।

वर्षापछि टोकियोको दक्षिणमा रहेका इजु द्वीपसमूहका केही क्षेत्रमा पहिरोसम्बन्धी उच्चतम तह–५ को आपत्कालीन चेतावनी जारी गरिएको छ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए)ले टोकियो महानगरअन्तर्गतका निजिमा, तोसिमा र ओसिमा क्षेत्रमा पहिरोको जोखिमलाई लिएर उच्चतम तहको चेतावनी जारी गरेको हो।

तह–५ जापानको पाँच तहको विपद् चेतावनी प्रणालीमा सबैभन्दा उच्च स्तर हो र यसले तत्काल जीवन सुरक्षाका उपाय अपनाउनुपर्ने अवस्था जनाउँछ।

निजिमामा सोमबार बिहान ९ः४० बजेसम्मको २४ घण्टामा ४८५ मिलिमिटर वर्षा भएको थियो, जुन उक्त क्षेत्रमा अहिलेसम्मकै उच्च वर्षा हो। ओसिमामा पनि दिउँसो २ः३० बजेसम्म २४ घण्टामा ५८१.५ मिलिमिटर वर्षा मापन गरिएको जेएमएको तथ्याङ्कमा उल्लेख छ।

भारी वर्षाले टोकियोका उत्तरी क्षेत्रसँगै चिबा र कानागावा प्रिफेक्चर पनि प्रभावित भएका छन्। चिबा सहरको चुओ वडामा सोमबार अपराह्न ४ः२० बजेसम्म २४ घण्टामा १४८ मिलिमिटर वर्षा भएको थियो। चिबामा पनि भारी वर्षाका लागि तह–४ को चेतावनी जारी गरिएको थियो।

जेएमएले प्रभावित क्षेत्रमा पहिरो, नदीको सतह बढ्ने तथा होचा भूभागमा डुबानको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कान्तो र इजु द्वीप क्षेत्रमा छोटो समयमा अत्यधिक वर्षा गराउने वर्षा-पट्टी बन्न सक्ने भएकाले जोखिम अझ बढ्न सक्ने चेतावनी दिइएको छ।

वर्षाका कारण फुकुसिमा प्रिफेक्चरको इवाकी सहरमा सोमबार बिहान एउटा भूमिगत सडकमा दुईवटा सवारीसाधन डुबेका थिए। उद्धार गरिएकी ६० वर्ष आसपासकी एक महिलालाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए भने अर्को सवारीमा रहेका व्यक्ति भने सकुशल बाहिर निस्कन सफल भएका थिए।

भारी वर्षाको प्रभाव शिक्षा क्षेत्रमा पनि परेको छ। जापानको शिक्षा मन्त्रालयका अनुसार देशभरका करिब ३ हजार सरकारी प्राथमिक तथा माध्यमिक विद्यालयमा कक्षा स्थगित गरिएको छ।

यातायात सेवासमेत प्रभावित भएका छन्। पूर्वी जापान रेलवेका यामानोते, चुओ र सोबु रेलमार्गमा सोमबार सामान्यभन्दा २० देखि ३० प्रतिशत कम रेल सञ्चालन गरिएको थियो।

पश्चिमी टोकियोका भारी वर्षाका कारण आइतबारदेखि बन्द रहेका केही महानगरीय तथा राष्ट्रिय सडक सोमबार बिहान १० बजेबाट पुनः सञ्चालनमा ल्याइएको टोकियो महानगर सरकारले जनाएको छ।

शिन्कान्सेन रेल सेवामा समेत ढिलाइ भएको छ। यामागाता शिन्कान्सेनले सोमबार दिउँसो केही समय सेवा स्थगित गरे पनि पछि सीमित रूपमा सञ्चालन पुनः सुरु गरेको थियो।

यसबीच, दक्षिणी जापानको ओकिनावा प्रिफेक्चरनजिक रहेको उष्णकटिबन्धीय चक्रवात क्रोभान्हबाट आएको तातो र ओसिलो हावा वर्षा प्रणालीतर्फ प्रवेश गर्दा अग्रभाग थप सक्रिय भएको जेएमएले जनाएको छ।

सोमबार बिहान ९ बजे क्रोभान्ह ओकिनावाको मिनामिदाइतो द्वीप आसपासको समुद्री क्षेत्रमा उत्तर–उत्तरपूर्वतर्फ बिस्तारै अघि बढिरहेको थियो। जापानी सञ्चारमाध्यमका अनुसार क्रोभान्ह यस वर्षको २४औँ आँधी हो र सोमबार बिहान उष्णकटिबन्धीय चक्रवातमा परिणत भएको थियो।

जेएमएले भारी वर्षाबाट प्रभावित क्षेत्रमा सोमबार रातिसम्मै पहिरो र बाढीको जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ। विशेषगरी कान्तो क्षेत्र र इजु द्वीपमा एकै क्षेत्रमा लामो समयसम्म भारी वर्षा गराउने रेखीय वर्षा-पट्टी बनेमा विपद्को जोखिम तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिइएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.