जन सरोकार

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन नरही संवाद सुरु गर्न तथा सङ्कटमा रहेका व्यक्तिलाई सुन्ने, बुझ्ने र सहयोग गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोग

विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा बिहीबार प्रेस–विज्ञप्ति जारी गर्दै आयोगले आत्महत्या मानसिक स्वास्थ्यको मात्र विषय नभई जीवन, मर्यादा, स्वास्थ्य, सुरक्षा तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारसँग सम्बन्धित गम्भीर मानव अधिकारको विषय भएको जनाएको हो ।

आयोगले मानसिक तनाव, चिन्ता तथा निराशा, घरेलु तथा लैङ्गिक हिंसा, दीर्घकालीन मानसिक स्वास्थ्यसम्बन्धी समस्या, आर्थिक समस्या, गरिबी तथा बेरोजगारीलगायतका कारण आत्महत्याका घटना हुने गरेको विभिन्न अध्ययनबाट देखिएको जनाएको छ ।

साथै, आत्महत्या रोकथामलाई मानसिक स्वास्थ्यको सीमित विषयका रूपमा मात्र नहेरी व्यक्तिको जीवन र मर्यादाको अधिकारसँग जोडेर सम्बोधन गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।

सङ्कटमा रहेका व्यक्तिलाई सुन्ने, बुझ्ने र सहयोग गर्ने वातावरण निर्माण गर्न तथा आत्महत्याको प्रयास गरेका व्यक्ति र आफन्त गुमाएका परिवारलाई दोष लगाउने, लाञ्छना लगाउने वा सामाजिक बहिष्करण गर्ने कार्य अन्त्य गर्न आयोगले सरकार तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

यस्तै, आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई सम्मान, गोपनीयता, भेदभावरहित व्यवहार र आवश्यक सहयोग उपलब्ध गराउन आयोगले आग्रह गरेको छ । विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्ष सेप्टेम्बर १० तारिखमा मनाइन्छ । यस वर्ष सन् २०२६ का लागि ‘संवाद सुरु गरौँ’ भन्ने नारा तय गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.