बिचार

बुबाको मुख हेर्ने दिन र जीवनको शाश्वत सत्य

मानिसको जीवनमा केही सम्बन्ध यस्ता हुन्छन्, जसको गहिराइ शब्दले मापन गर्न सकिँदैन । ती सम्बन्धमध्ये बुबा र सन्तानको सम्बन्ध विशेष हुन्छ । यस सम्बन्धमा प्रेम हुन्छ, त्याग हुन्छ, अनुशासन हुन्छ, अपेक्षा हुन्छ र सबैभन्दा महत्वपूर्ण कुरा–निःस्वार्थ संरक्षण हुन्छ ।

नेपाली संस्कृतिले यस्ता सम्बन्धलाई केवल भावनाका रूपमा होइन, संस्कार र कर्तव्यका रूपमा पनि स्थापित गरेको छ । यही परम्पराको सुन्दर अभिव्यक्ति हो–कुशे औँशीअर्थात् बुबाको मुख हेर्ने दिन । यो दिन बाबु र छोराको सम्बन्ध, सम्मान, जिम्मेवारी र पुस्तान्तरणको कथासँग गहिरिएर जोडिएको हुन्छ ।

बुबाको मुख हेर्ने दिन आउँदा धेरैका लागि यो खुसीको अवसर बन्छ । छोराछोरीले बुबालाई भेट्छन्, मिठो खुवाउँछन्, उपहार दिन्छन् र आशिष लिन्छन् तर यो पर्वको अर्थ यति सीमित छैन । यो वास्तवमा आफ्नो जीवनको पछाडि उभिएको एउटा महत्वपूर्ण व्यक्तित्वलाई सम्झने दिन हो । हामी जहाँ पुगेका छौँ, त्यहाँ पुग्नका लागि कसैले आफ्नो बाटो छोट्याएको थियो कि थिएन ?

हामीले पाएका अवसरका लागि कसैले आफ्ना इच्छाहरू त्यागेको थियो कि थिएन ? यस्ता प्रश्नको उत्तर खोज्ने दिन पनि हो यो । आधुनिकताको दौडधूपमा कहिलेकाहीँ टाढिएका मनहरूलाई नजिक ल्याउने यो एउटा सुन्दर अवसर हो । नेपाली समाजमा यो पर्वले परिवारको मूल आधारस्तम्भलाई स्मरण गर्ने र सम्मान गर्ने अद्वितीय अवसर प्रदान गर्दछ ।

परिवारको मेरुदण्ड र मौन अभिभावक

बुबाको परिचय केवल घर चलाउने व्यक्तिका रूपमा गर्नु अन्याय हुन्छ । उहाँ परिवारको सपना बोकेर हिँड्ने व्यक्ति हुनुहुन्छ । परिवारमा आमाको माया धेरैजसो देखिने, प्रस्फुटित हुने र शब्दमा व्यक्त हुने गर्छ तर बुबाको माया अक्सर मौन हुन्छ । बुबा घरको त्यो खम्बा हुन्, जो घाम, पानी र आँधीबेहरी सबै आफैँ सहेर परिवारलाई छहारी दिन्छन् ।

एउटा बाबुले आफ्ना चाहनाहरू त्यागेर छोराको भविष्य उज्यालो बनाउन जीवनभर कडा परिश्रम गरेको हुन्छ । आफूले पुराना जुत्ता लगाएर छोरालाई नयाँ किनिदिने बुबाको त्यो त्याग प्रायः कसैले देख्दैन । उहाँका थकित हातहरूले सन्ततिको उज्ज्वल भविष्यको खाका कोरेका हुन्छन् ।

बुबाको कडा स्वभाव वा अनुशासनलाई धेरैले डरका रूपमा बुझ्छन् तर पछि ठूलो भएपछि मात्र महसुस हुन्छ कि त्यो डर नभई जीवनको सही बाटो देखाउने एउटा सुरक्षा कवच थियो । त्यो अनुशासनले हरेप छोरालाई समाजमा खडा हुन र जीवनका कठिन मोडहरू पार गर्न सक्षम बनाउँछ ।

समयको परिवर्तन र जिम्मेवारीको बोध

बाल्यकालमा बुबालाई सबैभन्दा शक्तिशाली र संसारको ज्ञानी मान्ने छोरा, जब आफैँ युवा हुन्छ र जिम्मेवारीको भार बोक्छ, तब बुबाको वास्तविक सङ्घर्ष बुझ्न थाल्छ । यो कालखण्डमा छोराले आफ्नो बुबाको विगत र वर्तमानलाई नजिकबाट नियाल्ने मौका पाउँछ ।

एउटा छोराका लागि सबैभन्दा मर्माहत क्षण त्यो हो, जब उसले आफ्नो बुबाका चाउरी परेका गाला, सेताम्मे कपाल र कमजोर हुँदै गएको शरीर देख्छ । जसले आफूलाई औँला समातेर हिँडाएका थिए, उही बुबा आज हिँड्दा लड्नुहोला भनेर सहारा दिनुपर्ने अवस्था आउँछ । समयको यो चक्रले हरेक युवालाई वास्तविकताको कठोर धरातलमा उभ्याउँछ ।

बुबाको मुख हेर्ने दिन केवल मिठो खाने र आशीर्वाद लिने दिन मात्र होइन, यो बुबाप्रतिको आफ्नो कर्तव्य सम्झिने दिन पनि हो । बुढेसकालमा आमाबुबालाई समय दिनु, उनीहरूको स्वास्थ्यको ख्याल राख्नु र उनीहरूलाई एक्लो महसुस हुन नदिनु एउटा असल छोराको मुख्य धर्म हो । आधुनिक जीवनशैलीको व्यस्ततामा यो यथार्थलाई बिर्सनुहुँदैन ।

जिन्दगी धेरै छोटो छ । हामी भविष्यको दौडमा यति धेरै व्यस्त हुन्छौँ कि घरमा कुर्न बसेका बुबाको अनुहारमा बढेका चाउरीहरू र उनीहरूको सुक्खा हाँसो हेर्ने फुर्सद हामीलाई हुँदैन । यस दिनले हामीलाई रोकेर सोच्न बाध्य पार्छ । के हामीले आफ्ना बुबालाई उनीहरू जीवित हुँदा पर्याप्त माया र सम्मान दिएका छौँ ? यो प्रश्नले हरेक जिम्मेवार सन्तानको विवेकलाई घचघच्याइरहेको हुन्छ ।

चाडपर्व आउँछन् र जान्छन्, तर बाबु र छोराको सम्बन्ध समयको बगिरहने नदीजस्तै निरन्तर चलिरहन्छ । शब्दमा कम बोलिए पनि, हृदयको गहिराइबाट बुबाप्रतिको सम्मान सधैँ रहनुपर्छ । त्यसैले बुबाको बुढेसकाल सन्तानको परीक्षाको समय हो । पैसा पठाउनु मात्र पर्याप्त हुँदैन ।

उहाँसँग बसेर कुरा गर्नु, स्वास्थ्यको जानकारी लिनु, उहाँको एक्लोपन बुझ्नु र निर्णयमा उहाँको सम्मान कायम राख्नु पनि सन्तानको जिम्मेवारी हो । आजै आफ्नो व्यस्तताबाट केही समय निकालेर आफ्ना बुबाको नजिक बस्नुहोस्, उहाँको हात समात्नुहोस् र महसुस गराउनुहोस् कि उहाँ एक्लो हुनुहुन्न किनकि बाबुको आशीर्वादभन्दा ठूलो धन यो संसारमा अर्को कुनै छैन ।

बुबाको मुख हेर्नु भनेको केवल उहाँको अनुहार हेर्नु होइन, उहाँको अनुहारमा आफ्नो विगत, आफ्नो सङ्घर्ष, आफ्नो अस्तित्व र आफ्नो भविष्यको आधार देख्नु हो । बुबाको मुस्कानमा सन्तानको सफलता लुकेको हुन्छ र सन्तानको सम्मानमा बुबाको जीवनको सार रहेको हुन्छ ।

यही सम्बन्धको निरन्तरता नै हाम्रो संस्कृतिको शक्ति हो र यही नै जीवनले सिकाउने सबैभन्दा गहिरो, शाश्वत सत्य हो भन्ने तथ्यलाई आजको दिनले स्मरण गराउँछ । जीवनको यो सुन्दर यात्रामा बुबाको उपस्थिति नै सबैभन्दा ठूलो शक्ति हो, जसले हामीलाई जुनसुकै आँधीबेहरीसँग लड्ने हिम्मत प्रदान गरेको हुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.