संस्कृति

पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई आगामी असोज २० गतेभित्र पात्रो गणनाको गणित पेस गर्न आह्वान गरेको छ ।

समितिले पञ्चाङ्गखण्ड सौरोक्तपद्धतिबाट र अन्य ग्रहहरूको गणना केतकीय पद्धतिबाट गर्न सूचित गरिएको अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिनुभयो ।

असोज २० गतेभित्र सबै विषयवस्तु समावेश गरिएको पञ्चाङ्ग पेस गर्न अनुरोध गरिएको पनि उहाँले सुनाउनुभयो । विसं २०८३ को पात्रोसमेत यही पद्धतिबाट स्वीकृति दिइएको छ ।

नयाँ पञ्चाङ्गकारहरूले हातले लेखेको तीन वर्ष अर्थात् २०८४ देखि २०८६ सम्मको गणितको मस्यौदा पेस गर्नुपर्ने समितिले जारी गरेको सूचनामा उल्लेख छ । नयाँ पञ्चाङ्गकारले पञ्चाङ्गगणनाको सबै आधार तथा विषयवस्तुको खेस्रा पनि समितिमा बुझाउनुपर्ने निर्णय समितिले गरेको अध्यक्ष भट्टराईले बताउनुभयो ।

“म्याद नाघी पेस भएका, अङ्ग नपुगेका र समितिले अङ्गीकार नगरेका सिद्धान्तबाट गणना गरिएका पञ्चाङ्गहरूलाई स्वीकृति प्रदान गरिने छैन, भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन गर्न चाहने संस्था वा व्यक्तिले पनि समितिको स्वीकृति लिएर मात्र प्रकाशन गर्नुहुन समितिले अनुरोध गरेको छ”, उहाँले भन्नुभयो ।

समितिले निर्णय गरेका चाडपर्व, जात्रालगायतका विवरणहरू फरक पर्न गई भ्रम पर्न जाने अवस्था देखिएमा प्रकाशित पञ्चाङ्ग तथा भित्तेपात्रोलाई नियमअनुसार आवश्यक कारबाहीसमेत हुने पनि समितिले सूचनामार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.