क्रिकेटखेलबिशेष

आसिफ शेखको शतकीय पारीमा नेपालद्वारा यूएई सामू जितको लागि ३ सय १४ रनको लक्ष्य

आसिफ शेखको शतकीय पारी तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले यूएई सामू जितको लागि ३ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १३ रन बनायो । नेपालको लागि आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा १०२ रनको शतकीय पारी खेले भने गुलसन झाले ३८ बलम ३ चौका र ४ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै अर्जुन कुमालले ६३ बलमा ४ चौकको मद्दतमा ४३ रन जोड्दा रोहित पौडेलले ४४ बलमा २ चौकको सहयोगमा ४० रन बनाए । यस्तै दीपेन्द्र सिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ र इशान पाण्डेले १३ रन बनाए ।

यूएईको लागि इब्रार अहमदले ४ विकेट लिए भने खुजैमा बिन तनवीरले २ विकेट लिँदा अदीप उस्मानी र हैदर अलिको भागमा समान १-१ विकेट रह्यो ।

दुवै टोली दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा युएईलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो । युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो ।

यसपटक भने उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले फाइनल दुवै टोलीका लागि महत्वपूर्ण छ ।

जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँच खेलमा चार जित र एक हारको नतिजा निकालेको छ । युएई भने अपराजित रहँदै फाइनलमा पुगेको हो ।

एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ खेल भएका छन् । नेपालले ११ र युएईले आठ खेल जितेका छन् । पछिल्ला पाँच खेलमा नेपालले तीन खेल जितेको छ ।

नेपालले युएईसँग पछिल्लोपटक गत मेमा आइसिसी विश्वकप लिग–२ मा पनि स्पर्धा गरेको थियो । त्यसअन्तर्गतका दुवै खेलमा नेपाल विजयी भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.