नेपाल प्रिमियर लिग (एनपिएल) टोली काठमाडौँ गोर्खाजबाट अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले क्रिकेट खेल्ने भएका छन् । मंगलबार काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई टोलीमा अनुबन्ध गरिएको जानकरी दिएको हो ।
यसअघि काठमाडौँले विदेशी खेलाडीको रूपमा भारतका विकेटकिपर/ब्याटर केएस भरत र श्रीलंकाका अलराउन्डर सहन अराचचिगेलाई अनुबन्ध गरेको थियो । ३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि दुईपटक एकदिवसीय विश्वकप, एकपटक टी–२० विश्वकप तथा विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेका छन् ।
अस्ट्रेलियाका लागि तीनवटै अन्तर्राष्ट्रिय फर्म्याटमा शतक बनाएका वार्नरले अस्ट्रेलियाका लागि ११० टी–२० अन्तर्राष्ट्रिय खेलमा एक शतकसहित ३ हजार २७७ रन बनाएका छन् ।
उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा तत्कालिन दिल्ली डेयरडेभिल्स, सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सबाट खेल खेलिसकेका छन् । वार्नरले अस्ट्रेलियाबाट ११२ टेस्ट, १६१ एकदिवसीय अन्तर्राष्ट्रिय र ११० टी–२० अन्तर्राष्ट्रिय खेल्दै ४९ शतकसहित झन्डै १९ हजार अन्तर्राष्ट्रिय रन बनाएका छन् । उनले ८ हजार ७ सय ८६ टेस्ट र ६ हजार ९ सय ३२ एकदिवसीय रन बनाएका छन् ।
एनपिएलको तेस्रो संस्करण आउँदो कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुने तय भएको छ ।





प्रतिक्रिया राख्नुहोस्