विपद्का बेला कालोबजारी गर्नेलाई कडा कारवाही गर्न माग
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुक विपद्को चपेटामा परेका बेला अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने र उपभोक्तालाई शोषण गर्ने व्यवसायी तथा कालाबजारियामाथि कडा कारवाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
उहाँले विपद्का कारण जनजीवन प्रभावित भइरहेका बेला खाद्यान्न, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज र नियमित बनाउन सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको हो ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद केसीले अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा देखिएको कालोबजारी र महँगी नियन्त्रण गर्न प्रभावकारी अनुगमन तथा बजार हस्तक्षेप आवश्यक रहेको बताउनुभयो । विशेष गरी खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तत्काल आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
विपद्को समयमा नागरिकको दैनिक जीवन थप कठिन बन्ने भएकाले यही अवस्थाको फाइदा उठाएर वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाउने वा कालोबजारी गर्ने प्रवृत्तिलाई सरकारले कुनै पनि अवस्थामा छुट दिन नहुने उहाँको भनाइ थियो ।
बजारमा अत्यावश्यक वस्तुको उपलब्धता सुनिश्चित गर्दै उपभोक्तामाथि हुने शोषण रोक्न नियमित अनुगमन र दोषीमाथि कानुनी कारवाही गर्न उहाँले माग गर्नुभयो ।
सांसद केसीले पछिल्लो समय भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
विपद्को अवस्था जटिल बन्दै गएको अवस्थामा सरकारका निकायबीच समन्वय र राहत तथा उद्धारको कामलाई प्रभावकारी बनाउन संसद्बाट सर्वदलीय समिति गठन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
विपद्को समयमा राजनीतिक दलबीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै उहाँले नेपाली कांग्रेसले सरकारलाई आवश्यक सहयोग गरिरहेको जानकारी दिनुभयो ।
उहाँले विपद् व्यवस्थापनलाई तत्कालीन राहत र उद्धारमा मात्र सीमित नगरी प्रभावित क्षेत्रको पुनःस्थापना, क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो ।
सांसद केसीले विपद्का बेला राज्यको पहिलो प्राथमिकता नागरिकको ज्यान जोगाउने, प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने र अत्यावश्यक सेवा तथा वस्तुको आपूर्ति अवरुद्ध हुन नदिने हुनुपर्ने बताउँदै सरकारको ध्यान त्यसतर्फ केन्द्रित गर्न आग्रह गर्नुभयो ।





प्रतिक्रिया राख्नुहोस्