विश्व समाचार

ट्रम्प–सी वार्ता : व्यापार युद्धदेखि बदलिँदो भूराजनीतिक शक्ति-सन्तुलनसम्म

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार ह्वाइट हाउसमा हुने वार्ता केवल दुई मुलुकबीचको व्यापार विवादमा सीमित नहुने भएको छ ।

व्यापार युद्धबाट सिर्जित आर्थिक तथा रणनीतिक तनाव, प्रविधि प्रतिस्पर्धा, कृत्रिम बौद्धिकता, दुर्लभ माटो तथा महत्त्वपूर्ण खनिजको आपूर्ति, ताइवान, इरानलगायतका क्षेत्रीय विषयसँगै बदलिँदो विश्व भूराजनीतिमा अमेरिका–चीन सम्बन्धको दिशासमेत वार्ताको प्रमुख विषय बन्ने देखिएको छ ।

दुवै मुलुकबीच रणनीतिक प्रतिस्पर्धा तीव्र भए पनि विश्वका दुई ठूला अर्थतन्त्रबीचको गहिरो आर्थिक परस्पर निर्भरताका कारण सम्बन्ध पूर्ण रूपमा विच्छेद गर्ने अवस्था सहज छैन । चीन अमेरिकी वस्तु तथा सेवाको ठूलो बजार हो भने अमेरिका चिनियाँ निर्यातको प्रमुख बजारका रूपमा रहँदै आएको छ ।

त्यसैले व्यापार युद्धले एकअर्कालाई दबाबमा पार्ने प्रयास गरे पनि त्यसको असर दुवै अर्थतन्त्र, विश्व आपूर्ति शृङ्खला र अन्तर्राष्ट्रिय बजारमा पर्ने गरेको छ ।

वार्ताअघि अमेरिका र चीन व्यापार युद्धविरामलाई दुई महिना थप गरी आगामी जनवरी १० सम्म कायम राख्न सहमत भएका छन् । यसअघि युद्धविराम नोभेम्बर १० मा समाप्त हुने तय थियो ।

यसले तत्कालका लागि व्यापारिक तनाव नियन्त्रणमा राख्ने प्रयास देखाए पनि अमेरिकी उच्च भन्सार तथा चीनका प्रतिकारात्मक व्यापार र निर्यात नियन्त्रणका मुद्दा अझै समाधान भइसकेका छैनन् ।

दुर्लभ माटो तथा महत्त्वपूर्ण खनिजको आपूर्ति वार्ताको सबैभन्दा रणनीतिक विषयमध्ये एक बन्ने भएको छ । चीनले विश्वको दुर्लभ माटो प्रशोधन क्षमताको ठूलो हिस्सा नियन्त्रण गर्छ ।

यी खनिज विद्युतीय सवारीसाधन, इलेक्ट्रोनिक्स, सेमिकन्डक्टर, रक्षा प्रविधि तथा अन्य उच्च प्रविधिका उत्पादनका लागि आवश्यक छन् । अमेरिकाले वैकल्पिक आपूर्ति शृङ्खला विकास गरिरहेको भए पनि चीनमाथिको निर्भरता तत्काल हटाउन कठिन रहेको देखिन्छ ।

यसले दुई मुलुकबीचको व्यापार सम्बन्धमा नयाँ भूराजनीतिक आयाम थपेको छ । विगतमा अमेरिकी बजार र प्रविधिमा चीनको पहुँचलाई दबाबको माध्यम बनाइएको थियो भने पछिल्लो समय चीनले दुर्लभ खनिज तथा प्रशोधन क्षमतामार्फत रणनीतिक प्रभाव प्रयोग गर्न सक्ने अवस्था बनेको छ ।

फलतः व्यापार युद्ध अब केवल भन्सार र आयात–निर्यातको विवाद नभई प्रविधि, ऊर्जा, रक्षा र विश्वव्यापी आपूर्ति शृङ्खलाको प्रतिस्पर्धासँग जोडिएको छ ।

कृत्रिम बौद्धिकता र उन्नत चिप्ससम्बन्धी विषय पनि वार्ताको नयाँ प्रमुख क्षेत्र बनेको छ । राष्ट्रिय सुरक्षा तथा उच्च प्रविधिसँग जोडिएका कृत्रिम बौद्धिकतासम्बन्धी जोखिमबारे सूचना आदानप्रदान गर्ने संयन्त्र निर्माणका विषयमा छलफल हुनसक्ने अमेरिकी अधिकारीहरूले बताएका छन् ।

तर दुवै मुलुक आफ्नो प्राविधिक क्षमता र रणनीतिक अग्रता जोगाउन चाहेकाले एआई र सेमिकन्डक्टर क्षेत्रमा सहकार्य र प्रतिस्पर्धा सँगसँगै अघि बढ्ने अवस्था देखिएको छ ।

यसैगरी, इरानको विषयमा अमेरिकाले चीनलाई आफ्नो प्रभाव प्रयोग गरी द्वन्द्व अन्त्यका लागि तेहरानलाई प्रोत्साहित गर्न आग्रह गर्दै आएको छ ।

चीन भने इरानसँगको आर्थिक सम्बन्ध र मध्यपूर्वको बदलिँदो शक्ति-सन्तुलनलाई आफ्नै रणनीतिक दृष्टिकोणबाट हेरिरहेको छ । ऊर्जा बजार र क्षेत्रीय स्थिरतासँग जोडिएको इरानको विषय दुई मुलुकबीचको व्यापक भूराजनीतिक प्रतिस्पर्धाको अर्को आयाम बन्न सक्नेछ ।

ताइवान पनि वार्ताको संवेदनशील विषयका रूपमा रहनेछ । चीनले ताइवानलाई आफ्नो मुख्य राष्ट्रिय हितसँग जोड्दै आएको छ भने अमेरिकाले ताइवानलाई सुरक्षा सामग्री उपलब्ध गराउँदै आएको छ ।

राष्ट्रपति सीले अमेरिकी हतियार बिक्री र सैन्य सहयोगप्रति असन्तुष्टि जनाउँदै आउनुभएको छ । ताइवानको विषय व्यापार र प्रविधिसँग मात्र नभई एसिया–प्रशान्त क्षेत्रको सुरक्षा तथा शक्ति-सन्तुलनसँग जोडिएकाले वार्तामा यसको रणनीतिक महत्त्वसमेत रहनेछ ।

बदलिँदो विश्व व्यवस्थामा अमेरिका–चीन सम्बन्धको प्रभाव दुई मुलुकको सीमाभन्दा निकै बाहिर पुगेको छ । आपूर्ति शृङ्खला, ऊर्जा, प्रविधि, लगानी, व्यापार तथा सुरक्षा संरचनामा दुवै मुलुकको प्रभावका कारण उनीहरूबीचको प्रतिस्पर्धाले विश्व अर्थतन्त्र र अन्य मुलुकको आर्थिक नीतिसमेत प्रभावित पार्दै आएको छ ।

त्यसैले आगामी सम्बन्धमा ‘पूर्ण आर्थिक विच्छेद’ भन्दा प्रतिस्पर्धासँगै व्यवस्थापन गरिएको परस्पर निर्भरता कस्तो बन्ने भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ ।

व्यापार र सुरक्षामा गम्भीर मतभेद रहे पनि दुवै पक्षले सम्बन्धलाई थप तनावपूर्ण हुन नदिन उच्चस्तरीय संवादलाई निरन्तरता दिन खोजिरहेका छन् ।

विश्लेषकहरूका अनुसार यसपटकको वार्ताबाट ठूलो र व्यापक सम्झौताभन्दा विद्यमान व्यापार युद्धविरामलाई निरन्तरता दिने, दुर्लभ खनिज तथा आपूर्ति शृङ्खलामा स्थिरता खोज्ने र संवेदनशील रणनीतिक विषयमा संवाद कायम राख्ने प्रयास हुनसक्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.