बिचार

नेपालको जनसंख्याभन्दा धेरै कार्यकर्ता नबनाउनु होला !

देशाँ बहुदल आउने बित्तिकै जब गिरिजाप्रसाद कोईराला देशाँ आको बहुदलको प्रचार गर्दै देश दौडाहामा हिँडे उनी जाँजाँ भाषण गर्न जान्थे त्याँत्याँ मान्छेको लत्को लागेर मान्छे काँग्रेस पस्थे ।

गिरिजाको हातको अबिर दलिमाग्न मान्छे यसरी घोप्टिन्थे कि टीका लाउँदा लाउँदा गिरिजाका हातै दुखेर कटकटी खान्थे । त्यतिमात्र हो र काँग्रेस प्रवेश गर्नेको नामै पढ्दापढ्दा र प्रवेश गर्नेको संख्या लेख्दालेख्दै रेडियो नेपाल र गोर्खापत्र अनि राससका हामी पत्रकार भैखाका मान्छेहरु नि थाक्थिम । ऐलेको जस्तो सामाजिक सन्जालनि थिएन ।

मान्छेलाई अघिल्लो दिन रेडियोले नाम भनेकै हुनुपर्थ्यो । नाम नलेखेर संख्यामात्रै भन्दा चम्चाहरले नेताकाँ खबर पुर्याउँथे र भोलिपल्ट फेरि नेताको आदेशाँ नालिबेली लेखेर रेडियोमा प्रशारण गर्नु पर्थ्यो । ऐलेको जस्तो सामाजिक सन्जाल भैद्याभा फोटो खिचेर त्यै फोटो सामाजिक सन्जालाँ हाल्दा कमसेकम यति धेरै कागजका ढड्डा र लेखाईको बेथा त व्यहोर्नु पर्थेन ।

नेताले जिल्ला दौडाहा लगाए सँगै व्यहोर्नुपर्ने दुख्ख ऐलेका पत्रकारलाई छैन । देशैभरि काँग्रेसमा कति जना छिरे भनेर लेख्दा लेख्दै बनेको चाङ देखेरै गनिनसक्नु भएर हरेक दिन प्रबेश गर्नेको संख्याको कुल जम्मा समेत नगरेर राख्न थालियो । अन्तत नेताजीहरुको देश दौडाहा सकियो चुनाब आयो ।

एक दिन ठट्टै ठट्टामा साथीहरुले देशभर काँग्रेस पाटीभित्र कतिजनाले प्रवेश गर्या रै’छन ? पाटी प्रवेश गर्नेको संख्या त अत्यन्त धेरै थियो तर जम्मा १ सय १३ सिट मात्रै किन ल्यायो भन्ने कुतुहलता जागेर काँग्रेस प्रवेश गर्नेको संख्या जोडेर हेर्दा त नेपालको कुल जनसंख्या भन्दा धेरै पो देखियो ।

त्यो देखेर हामी तिरिमिरि झ्याईँ भईम । हाँस्दाहाँस्दै पेटका नसा चुटलान जस्ता भए । त्यो दिनबाट बुझियो कि राजनीति भन्या झुठको खेल हो । अनि जल्लाई जुनबेला जे भनेर मख्ख पार्नुपर्ने हुन्छ त्यै उसका लागि तयार गरिने जेल हो ।

ऐले पनि यो देशाँ दलहरु ठ्याक्कै त्यै खेलाँ ब्यस्त छन । हिजो ४७ को निर्वाचनाँ जसरी राप्रपा भन्ने पाटी दुलोबाट बाईर निस्कन सक्थेनन् त्यस्तै हालत काँग्रेस कमिनिष्टको भा छ । भदौ २३/२४ पछि देखापरेको पाटी रास्वपा दैनिक मान्छेहरुलाई पाटीमा छिराउँदै, छातिमा लकेट टाँस्दिँदै घण्टी बजाउँदै पठाउन ब्यस्त छ ।

तर, ती पुराना दल भनाउँदाहरु विचरा चल्ला कोरल्न बसेको पोथिझैँ थुपुक्क कुनाँ बस्या छन् । यिनरको पाटीमा मान्छे भित्रिने हैन कि बाहिर को को गए भनेर लेखेर बस्नुपर्ने स्थिति छ ।

४७ मा बहुमत ल्याएर काँग्रेसले सरकार बनाएझैँ ऐले रास्वपाले नि झन दुई तिहाईकै सरकार बनाएको छ । बिपक्षीहरुको बाधाबिरोधबिना निर्धक्क सरकार चलाउन पाइएको छ ।

तर, सरकार भने सरकारी स्तरबाट गरिने हरेक निर्णयबाट विवादित बनिरहेको छ । जसरी काँग्रेस पहिलो चुनाबपछि ओरालो झर्दै गयो र उसलाई ओरालो झर्न गोडा बिसेक बर्ष लाग्यो तर यो जेनजी अर्थात् रास्वपाको सरकारको गतिविधि हेर्दा त यसलाई पनि ओरालो झर्न काँग्रेसलाई जति पनि लाग्ला जस्तो देखिएन ।

प्रधानमन्त्री र पाटी अध्यक्ष हिँडने प्रस्ट दुईटा बाटोका कारण दुई तिहाईको सरकार निर्णयपिच्छे बिवादमा तानिएको छ । जबकि उनीहरुले लिएको उद्देश्य र लक्षलाई हेर्दा त सरकनरले जे निर्णय गर्छ त्यसको पक्षमा वाहवाही हुनु पर्ने हो तर त्यस्तो भै रहेको छैन । त्यसकारण यो रास्वपा नि नेपालको जनसंख्या भन्दा बढी पाटी कार्यकर्ता बनाउने खेलमा नलाग्दै राम्रो ! चेतना भया !!

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.