जापानको राजधानी टोकियोको महँगो तथा व्यस्त व्यापारिक क्षेत्र गिन्जामा सञ्चालन हुँदै आएको मौरीपालन परियोजनाले यस वर्ष २०औँ वर्ष पूरा गरेको छ।
सहर र प्रकृतिबीच सहअस्तित्व कायम गर्ने उद्देश्यले सुरु गरिएको यो परियोजनाअन्तर्गत वार्षिक मह उत्पादन सुरुआती १५० किलोग्रामबाट बढेर अहिले २.८ टनसम्म पुगेको छ।
सहरभित्रै प्रकृतिसँगको सम्बन्ध कायम गराउने उद्देश्यले सुरु गरिएको यो परियोजनाले जापानभर यस्तै पहलका लागि प्रेरणा दिएको छ। अहिले यसलाई सहरी मौरीपालनको नमुनाका रूपमा समेत लिइने गरिएको छ।
परियोजनाका एक सदस्यले भन्नुभयो, “यस परियोजनाले मानिसहरूलाई सहरी वातावरणबारे सोच्न प्रेरित गरोस् भन्ने मेरो चाहना छ।”
सन् २००६ को मार्चमा स्वयंसेवकहरूले गिन्जास्थित ११ तले भवनको छतमा तीनवटा मौरीघार राखेर परियोजना सुरु गरेका थिए। अहिले गिन्जा र नजिकैको ओतेमाची व्यापारिक क्षेत्रमा रहेका विभिन्न भवनका छतमा करिब ५० वटा मौरीघार छन्। ती घारमा करिब पाँचदेखि छ लाखसम्म मौरी रहेको अनुमान गरिएको छ।
परियोजनामा आबद्ध सदस्यहरूले हरेक वर्ष अप्रिलदेखि जुलाईको अन्त्यसम्म मह संकलन गर्ने गरेका छन्। गत वर्ष मात्रै करिब २.८ टन मह संकलन गरिएको थियो। संकलित महमध्ये केही अनलाइनमार्फत बिक्री गरिन्छ भने केही स्थानीय डिपार्टमेन्ट स्टोर तथा रेस्टुरेन्टमा प्रयोग गरिन्छ।
गिन्जाको यो परियोजनाबाट प्रभावित भएर जापानका अन्य क्षेत्रमा पनि सहरी मौरीपालन सुरु भएका छन्। सन् २०१० मा साप्पोरोमा गैरनाफामूलक संस्थाले सामुदायिक विकास तथा क्षेत्रीय पुनरुत्थानको उद्देश्यले एउटा भवनको छतमा मौरीघार राखेर यस्तै परियोजना सुरु गरेको थियो।
उक्त संस्थाका संस्थापकले अनलाइनमा प्रकाशित एउटा समाचारमार्फत गिन्जाको परियोजनाबारे जानकारी पाएपछि साप्पोरोमा पनि यस्तो अभियान सुरु गर्नुभएको थियो।
साप्पोरोको परियोजना सुरु गर्दा त्यहाँका सदस्यहरूले मौरीपालनसम्बन्धी आवश्यक सुझाव गिन्जा परियोजनामा आबद्ध सदस्यहरूबाट लिएका थिए।
“मौरीका माध्यमबाट मानिसहरू सामान्यतः भेला नहुने भवनका छतहरूमा पनि आपसी सम्पर्क र आदानप्रदानको वातावरण सिर्जना भयो,” गैरनाफामूलक संस्थाका ५१ वर्षीय प्रमुख शुजी साकाईले भन्नुभयो।
जापानका अन्य स्थानमा पनि सहरी मौरीपालनको अभ्यास विस्तार हुँदै गएको छ। नागोया महानगरपालिकाको सरकारी भवनको छत तथा परिसर, शिमाने प्रिफेक्चरको मासुदास्थित हागी इवामी विमानस्थल र चिबा प्रिफेक्चरको उरायासुस्थित मेइकाई विश्वविद्यालयमा समेत मौरीपालन गरिँदै आएको छ।
टोकियोको कियोसे नगरपालिकाको सरकारी भवनको छतमा पालिएका मौरीबाट संकलन गरिएको केही महलाई जापानको ‘फुरुसातो नोज़ेइ’ अर्थात् आफ्नो जन्मस्थान वा स्थानीय क्षेत्रलाई गरिने करदान कार्यक्रमअन्तर्गत दातालाई प्रदान गरिने उपहारका रूपमा समेत उपलब्ध गराइन्छ।
गिन्जा परियोजनाले सुरुआतदेखि नै स्थानीय प्राथमिक विद्यालयमा वातावरणसम्बन्धी शिक्षा प्रदान गर्दै आएको छ। साथै, मौरीपालन गरिने स्थानको अवलोकन भ्रमण तथा सहर र प्रकृतिबीच सहअस्तित्वका विषयमा व्याख्यानसमेत आयोजना गर्दै आएको छ।
परियोजनाका ६८ वर्षीय सदस्य अत्सुओ तानाकाले भन्नुभयो, “सहरी वातावरणसँग सम्बन्धित विषयमा हामी सबैले मिलेर सोच्न सकौँ भनेर यो पहललाई विश्वभर विस्तार गर्न सकियोस् भन्ने मेरो चाहना छ।”
समाचार र तस्वीर स्रोत द जापान टाइम्स




प्रतिक्रिया राख्नुहोस्