कृषि

कागतीदेखि ड्रागन फ्रुटसम्म : तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना

लमजुङको बेँसीसहर नगरपालिका–१० बाँझाखेतमा मस्र्याङ्दी नदी किनारको जग्गामा तीन युवाले सुरु गरेको ड्रागन फ्रुटखेतीले नयाँ सम्भावना देखाएको छ । केही वर्षअघि कागतीखेतीबाट अपेक्षित आम्दानी लिन नसकेपछि इन्द्र घले, योगबहादुर घले र रामबहादुर गुरुङ ड्रागन फ्रुटखेतीतर्फ लाग्नुभएको हो ।

तीन जनाले जनही रु तीन लाख लगानी गर्ने सहमति गरी ४० रोपनी जग्गा २० वर्षका लागि भाडामा लिनुभएको थियो । उत्पादन सुरु भएपछि प्रतिरोपनी वार्षिक रु चार हजार भाडा तिर्ने सहमति भएको इन्द्र घलेले बताउनुभयो ।

सुरुमा करिब एक रोपनीमा ६०० कागतीका बिरुवा लगाइएको थियो । बलौटे माटोका कारण कागतीबाट अपेक्षित आम्दानी हुन सकेन । विसं २०७५/७६ तिर सामाजिक सञ्जालमार्फत ड्रागन फ्रुटखेतीबारे जानकारी पाएपछि त्यसतर्फ आकर्षित भएको उहाँले बताउनुभयो ।

विसं २०७७ चैतमा दमौलीबाट बिरुवा ल्याएर ५० वटा पिलरबाट ड्रागन फ्रुटखेती सुरु गरियो । सुरुमा १५–१६ जना मिलेर खेती गर्ने योजना बनाइएको थियो । तर व्यवस्थापन तथा निर्णय प्रक्रियामा कठिनाइ हुने देखिएपछि अन्ततः तीन जनाले खेतीलाई निरन्तरता दिनुभएको छ ।

ड्रागन फ्रुटसँगै उहाँहरूले खुर्सानी र तरबुजाखेती गर्नुभएको छ । करिब दुई रोपनीमा लगाइएको खुर्सानी पहिलो वर्ष १० क्विन्टल र दोस्रो वर्ष ४० क्विन्टल उत्पादन भएको थियो ।

मृगले बालीमा क्षति पुर्याउन थालेपछि खुर्सानीखेती बन्द गरिएको इन्द्रले बताउनुभयो । पहिलो वर्ष करिब ४० क्विन्टल तरबुजा उत्पादन हुँदा रु दुई लाख ५० हजार आम्दानी भएको थियो । सुरुमा आठ रोपनीमा लगाइएको तरबुजा अहिले पाँच रोपनीमा सीमित गरिएको छ ।

ड्रागन फ्रुटको उत्पादन भने हरेक वर्ष बढ्दै गएको छ । विसं २०८० मा करिब एक क्विन्टल, २०८१ मा दुई क्विन्टल र २०८२ मा पाँच क्विन्टल उत्पादन भएको थियो । यस वर्ष बिरुवा परिपक्व हुँदै गएकाले करिब १५ क्विन्टल उत्पादन हुने अपेक्षा गरिएको इन्द्रले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म करिब १२ लाख आम्दानी भएको छ । प्रतिकिलोग्राम रु ४५० का दरले ड्रागन फ्रुट बिक्री भइरहेको छ । कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सिग्देलका अनुसार जिल्लामा करिब १० हेक्टरमा ड्रागन फ्रुटखेती भएको अनुमान छ ।

आधिकारिक तथ्याङ्क प्राप्त नभए पनि ड्रागन फ्रुटको व्यावसायिक उत्पादन र विस्तारका लागि थप अध्ययन आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पानी नजम्ने बलौटे माटोमा ड्रागन फ्रुटखेती राम्रो हुनसक्छ ।

घरआँगन, टारी तथा प्रयोगविहीन जग्गामा समेत खेती गर्न सकिने भएकाले यसको सम्भावना रहेको उहाँले बताउनुभयो । खेतीमा मल व्यवस्थापन भने चुनौतीका रूपमा रहेको इन्द्रले बताउनुभयो । आफ्नै पशुपालनबाट पर्याप्त मल नपुग्ने भएकाले बेँसीसहर र चनौटदेखि ल्याउनुपर्ने बाध्यता छ ।

सुरुमा बाटोमा हिँड्ने तथा घुम्न आउने ग्राहकले खरिद गर्ने गरेकामा अहिले ग्राहक आफैँ बारीमा पुगेर ड्रागन फ्रुट किन्न थालेका छन् । उत्पादन बढेपछि लमजुङबाहिरका बजारमा समेत बिक्री गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

हालसम्म उक्त खेतीका लागि रु ३० लाख लगानी भइसकेको छ । पिलर, बिरुवा, सिँचाइ, मल तथा बारी व्यवस्थापनमा लगानी बढ्दै गए पनि कृषि कर्जा सहज रूपमा उपलब्ध नहुँदा थप विस्तारमा समस्या भएको उहाँले बताउनुभयो । हाल करिब ५०० पिलरमा ड्रागन फ्रुटखेती गरिएको छ ।

आगामी दिनमा पिलरको सङ्ख्या एक हजार पुर्याउने र गुणस्तरीय उत्पादन गर्दै जिल्लाबाहिरका बजारमा पुर्याउने लक्ष्य रहेको इन्द्रले बताउनुभयो ।

कागतीबाट सुरु भएको यात्रा ड्रागन फ्रुटसम्म आइपुग्दा बाँझाखेतमा तीन युवाले खेतीमा नयाँ प्रयोगमात्र गरेका छैनन्, सम्भावना खोज्दै कृषि व्यवसायमा लाग्ने युवाका लागि नयाँ बाटोसमेत देखाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.