पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाहीमा
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ६३४ जना सवारीचालकलाई कारबाही गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई निगरानी तथा चेकजाँचका क्रममा कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६०, सिसीटिभीबाट पहिचान भएका ५३, सङ्केत बत्ती उल्लङ्घन गर्ने २८ र तीव्रगतिमा सवारी चलाउने ९३ जना छन् ।
त्यस्तै निषेधित क्षेत्रमा हर्न बजाउने पाँच जना, लेन उल्लङ्घन गर्ने पाँच, सवारीसाधनको अवस्था ठिक नभएका १२ र एकतर्फी सडक अनुशासन पालना नगर्ने पाँच जनालाई कारबाही गरिएको उक्त कार्यालयले जनाएको छ ।
अन्य विभिन्न सवारी नियम पालना नगर्ने ३७३ जनालाई जरिवानासहितको कारबाही गरिएको छ । ट्राफिक प्रहरीले सडक अनुशासन कायम गराउन नियमित जाँच तथा निगरानीलाई निरन्तरता दिँदै आएको छ । सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले आग्रह गरेको छ ।
सवारी नियमको पालना गर्नु चालकको जिम्मेवारीमात्र नभई पैदलयात्रीको सुरक्षासँग जोडिएको विषय भएकाले ट्राफिक प्रहरीले नियम उल्लङ्घन नगर्न सबैमा अनुरोध गरेको छ ।




प्रतिक्रिया राख्नुहोस्