राजनीति

मालपोतको स्रेस्तामै पूर्वप्रधानमन्त्री चन्दको जग्गा गायब

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नाममा बैतडीको साबिकको गोकुलेश्वर गाविस–१ मा रहेको ३० रोपनी पैतृक जग्गा मालपोत कार्यालयको अभिलेखबाटै गायब गरिएको रहस्य खुलेको छ ।

मालपोतको अभिलेखमा जग्गा २० रोपनी कायम गरिएको, जग्गा रहेको वडा नम्बर १ लाई अभिलेखमा वडा नम्बर ३ बनाइएको र बैंक ऋण नै नलिएको अवस्थामा जग्गा रोक्का राखिएको समेत भेटिएको छ।

गोरखापत्र दैनिकका अनुसार चन्द परिवारले अंशबन्डा गरी चार छोराका नाममा जग्गा नामसारी गर्न खोज्दा मालपोत अभिलेखमा यी त्रुटि फेला परेका हुन्। २०८० सालमा चन्दले नातामा काका पर्ने देवबहादुर चन्दलाई वारेसनामा दिएर प्रक्रिया अघि बढाउनुभएको थियो।

वारेसकर्ता देवबहादुरका अनुसार मालपोत कार्यालयमा समस्या सच्याउन पटक–पटक आग्रह गर्दा पनि दुई वर्षसम्म समाधान भएन। जिल्ला प्रशासन कार्यालयमा समेत गुनासो गर्दा समस्या नसल्टिएपछि परिवार अदालत पुगेको थियो।

कर्मचारीमाथि कारबाही गर्न अदालतको निर्देशन

जिल्ला अदालत बैतडीले असोज १४ गते फैसला गर्दै जग्गाको क्षेत्रफल र ठेगाना बिगारेर सेवाग्राहीलाई हैरानी दिएको विषयमा तत्कालीन मालपोत कार्यालय प्रमुख र सम्बन्धित फाँटवाला कर्मचारीमाथि आवश्यक कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको छ।

अदालतको निर्देशन भूमि व्यवस्थापन तथा अभिलेख विभाग, सम्बन्धित मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बैतडी र हालको भूमिसुधार तथा मालपोत कार्यालयलाई पठाइएको छ। हाल कार्यरत कार्यालय प्रमुख तथा फाँटवालालाई सचेत गराउनसमेत अदालतले भनेको छ।

दुई वर्षपछि अंशबन्डाको बाटो खुल्यो

अदालतको आदेशपछि दुई वर्षदेखि रोकिएको चन्द परिवारको अंशबन्डा प्रक्रिया अघि बढ्ने भएको छ। अंशबन्डाको कानुनी प्रक्रिया पूरा गर्न भूपेन्द्र चन्द र विनोदबहादुर चन्द बैतडी पुग्नुभएको छ भने जयन्तबहादुर चन्द र अरुण चन्दले वारेसमार्फत प्रक्रिया अघि बढाउनुभएको छ।

पूर्वप्रधानमन्त्रीको नाममा रहेको जग्गाको अभिलेखमै क्षेत्रफल र ठेगाना फरक पारिएको यो घटनाले मालपोतका जग्गा अभिलेखको शुद्धता र त्यसमा संलग्न कर्मचारीको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.