जन सरोकार

बाढीपहिरोबाट पर्वतमा ३०० र गलकोटमा ६३ घर प्रभावित

बाढीपहिरोबाट पर्वत जिल्लामा करिब ३०० परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका सात पालिकामध्ये छ पालिकाका विभिन्न बस्तीमा बाढीपहिरोले क्षति पुर्‍याएको छ । सबैभन्दा बढी जलजला गाउँपालिकामा ११३ घरमा क्षति भएको छ भने ५८ घर पहिरोको जोखिममा छन् । जलजलाका मात्रै १७१ परिवार विस्थापित भएका छन् ।

कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी गाउँपालिकामा १५ घर पूर्ण रूपमा क्षति भएका छन् । जिल्लाभर १३१ घरमा आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

बाढीपहिरोबाट पाँच विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य संस्था तथा प्रहरी चौकीमा समेत क्षति भएको छ । पर्वत–बागलुङ जोड्ने झोलुङ्गे पुल तथा मध्यपहाडी लोकमार्गअन्तर्गत मालढुङ्गा पुलमा पनि क्षति पुगेको छ ।

जिल्लाका ग्रामीण सडक अझै अवरुद्ध छन् । कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास–बिहादी र लुङ्खुदेउराली–हुवास सडक सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।

बाढीपहिरोबाट विस्थापित परिवारलाई स्थानीय प्रशासन, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न सामाजिक सङ्घसंस्थाले त्रिपाल, खाद्यान्न, भाँडावर्तन, ओढ्ने–ओछ्याउने, सरसफाइ तथा स्वास्थ्य उपचार सामग्री उपलब्ध गराएका छन् ।

यसैबीच, बागलुङको गलकोट नगरपालिकामा पनि असोज ९, १० र ११ गते आएको बाढी, पहिरो तथा हुरीले ठूलो क्षति पुर्‍याएको छ । गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ भने अन्य १३३ घरमा आंशिक क्षति भएको छ ।

हुरीका कारण ३९ घर पूर्ण रूपमा र ५२ घरमा आंशिक क्षति भएको नगरपालिकाले जनाएको छ । बाढीपहिरो तथा हुरीबाट पक्की सिँचाइका २१ संरचनामा धेरै र २४ संरचनामा सामान्य क्षति पुगेको छ । त्यस्तै, कच्ची सिँचाइका २०३ संरचनामा समेत नोक्सानी भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.