मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका लागि उपयुक्त मानिन्छन् । विशेष गरी अरेबिका जातको कफी उत्पादनका लागि अनुकूल हावापानी, उचाइ र माटो भएका पहाडी जिल्लामा यसको व्यावसायिक खेती विस्तार हुँदै गएको छ ।
कफी खेतीले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै किसानको आम्दानी, रोजगारी र निर्यातमार्फत विदेशी मुद्रा आर्जनको सम्भावना बढाएको छ ।
पछिल्ला वर्षमा नेपाली कफीको माग स्वदेशमा मात्र नभई जापान, युरोप, अमेरिका र अन्य अन्तर्राष्ट्रिय बजारमा पनि देखिन थालेपछि कफीलाई प्रमुख निर्यातमूलक कृषि उत्पादनका रूपमा विकास गर्न सकिने सम्भावना बढेको छ ।
विशेष गरी नेपालमा उत्पादन हुने उच्च गुणस्तरको अरेबिका तथा ‘स्पेसियालिटी कफी’को अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान बनाउन सकिने सम्भावना छ ।
नेपालको भौगोलिक विविधता, उच्च पहाडी क्षेत्र, साना किसानमा आधारित उत्पादन प्रणाली र जैविक उत्पादनको सम्भावनालाई नेपाली कफीको प्रतिस्पर्धात्मक विशेषताका रूपमा लिइन्छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको राष्ट्रिय कफी निर्यात रणनीतिले पनि नेपालको कफीलाई परम्परागत कफी उत्पादन गर्ने क्षेत्रभन्दा बाहिरको उच्च उचाइमा उत्पादन हुने, जैविक तथा समुदायमा आधारित अरेबिका कफीका रूपमा ‘स्पेसियालिटी कफी’ बजारमा विकास गर्न सकिने उल्लेख गरेको छ ।
काभ्रे कफी उत्पादनमा अग्रणी
कफी खेतीको विस्तार र उत्पादनका हिसाबले काभ्रेपलाञ्चोक मुलुककै अग्रणी जिल्लाका रूपमा स्थापित भएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा पाँच हजार ५०१.०५ हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएको छ भने प्रशोधनपछिको ग्रीन बिन कफी उत्पादन ६४१.९० मेट्रिक टन पुगेको छ । देशका ४३ भन्दा बढी पहाडी जिल्लामा कफी खेती विस्तार भएको छ ।
काभ्रेपलाञ्चोकमा ४९७ हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएको छ भने ग्रीन बिन कफी उत्पादन १२१ मेट्रिक टन पुगेको छ । क्षेत्रफल र ग्रीन बिन उत्पादनका आधारमा काभ्रे देशकै अग्रणी जिल्ला हो ।
महाभारत गाउँपालिकाका सबै वडामा कफी खेती विस्तार भएको छ । गाउँपालिकाका अनुसार यहाँ वार्षिक २१९.८३ मेट्रिक टन कफी चेरी उत्पादन हुन्छ । यो प्रशोधनअघिको काँचो कफी हो ।
गाउँपालिकाले कफीलाई स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्दै किसानलाई उत्पादनमा जोड्न विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म पाँच लाख ६६ हजार ५०० भन्दा बढी सुधारिएको कफीका बिरुवा किसानलाई वितरण गरिएको छ । कफी खेती विस्तारसँगै उत्पादन बढाउन, किसानलाई व्यावसायिक बनाउन र स्थानीयस्तरमै बजारीकरणको वातावरण तयार गर्न गाउँपालिकाले निरन्तर काम गरिरहेको उहाँ बताउनुहुन्छ ।
गाउँपालिकाले ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ बीसको नोट’ भन्ने अभियान सञ्चालन गरेको छ । सहकारीमार्फत जीवित कफीका बोट गनेर प्रतिबोट रु २० का दरले किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसले नयाँ बिरुवा रोप्ने र पुराना बगैँचा संरक्षण गर्ने किसानलाई थप उत्साहित बनाएको जिम्बा बताउनुहुन्छ ।
महाभारतका किसान शङ्खलाल थोकरले १९ रोपनी क्षेत्रफलमा कफी खेती गर्दै आउनुभएको छ । उहाँका अनुसार बगैँचाबाट वार्षिक दुई हजार किलोग्रामसम्म कफी उत्पादन हुने गरेको छ । कफी खेतीमा मेहनत र समय लागे पनि बजार सुनिश्चित हुन थालेपछि यसबाट राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।
अर्का किसान कृष्णबहादुर मोक्तानले पनि व्यावसायिक रूपमा कफी खेती गर्दै आउनुभएको छ । उहाँले वार्षिक ५०० किलोग्राम कफी उत्पादन गर्ने बताउनुभएको छ । कफी खेती विस्तारसँगै उत्पादन, प्रशोधन, बजार र मूल्यको सुनिश्चितता अझ बलियो बनाउन आवश्यक भएको उहाँ बताउनुहुन्छ ।
उत्पादनमा आधारित प्रोत्साहन
काभ्रेकै खानीखोला गाउँपालिकाले पनि कफी खेतीलाई किसानको आयआर्जनसँग जोडेर अघि बढाएको छ । गाउँपालिकाले ‘जसको उत्पादन उसैलाई अनुदान’ भन्ने नीति अवलम्बन गर्दै उत्पादनका आधारमा किसानलाई प्रोत्साहन गर्न थालेको छ ।
गाउँपालिकाले कफी खेती विस्तारका लागि रु १० लाख बराबरका बिरुवा वितरण गर्नुका साथै आठ किसान समूहलाई आठवटा पल्भर मेसिन उपलब्ध गराएको छ । गाउँपालिकाका अनुसार पछिल्लो समय यहाँबाट ८१ मेट्रिक टन कफी चेरी सङ्कलन भएको छ । उत्पादित कफीको परिमाणका आधारमा किसानलाई प्रतिकिलो रु ३५ उत्पादन प्रोत्साहन रकम उपलब्ध गराइएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
कृषि शाखा प्रमुख विकास तामाङका अनुसार उत्पादनमा आधारित अनुदानले किसानलाई कफी खेतीमा थप आकर्षित गरेको छ । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर तामाङले कफीलाई स्थानीय उत्पादनका रूपमा मात्र नभई दीर्घकालीन आयस्रोतका रूपमा विकास गर्ने नीति लिइएको बताउनुभएको छ ।
युरोप र अमेरिकामा बजारको सम्भावना
उत्पादन बढ्दै जाँदा नेपाली कफीको अन्तर्राष्ट्रिय बजार पनि विस्तार हुँदै गएको छ । अहिले जर्मनी, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, इटाली, बेलायत, जापान, अमेरिका लगायतका बजारमा नेपाली कफी पुगिरहेको छ ।
विश्व बैंकको व्यापार तथ्यांकअनुसार सन् २०२४ मा नेपालबाट निर्यात भएको नरोस्टेड तथा नन–डिक्याफिनेटेड कफीमध्ये युरोपेली सङ्घका मुलुकले मात्रै ५२.४ टनभन्दा बढी आयात गरेका थिए । यसको व्यापार मूल्य करिब ६ लाख ७ हजार अमेरिकी डलर थियो । त्यसमध्ये जर्मनीले ३६.९ टन, स्विट्जरल्यान्डले १७.४ टन, नेदरल्यान्ड्सले १४.७ टन तथा जापानले २४.९ टन नेपाली कफी आयात गरेका थिए ।
नेपालको कफीका लागि युरोप महत्वपूर्ण सम्भावित बजार हो । युरोपेली सङ्घले सन् २०२५ मा गैर–ईयू मुलुकबाट २९ लाख टन कफी आयात गरेको थियो । त्यसको कुल मूल्य १८.७ अर्ब युरो पुगेको थियो । जर्मनी मात्रै गैर–ईयू मुलुकबाट १० लाख १० हजार टन कफी आयात गर्ने सबैभन्दा ठूलो आयातकर्ता थियो ।
यसले नेपालका लागि युरोपको कफी बजार ठूलो रहेको देखाउँछ । यद्यपि नेपालले ठूलो परिमाणमा ब्राजिल, भियतनाम वा कोलम्बियाजस्ता मुलुकसँग प्रतिस्पर्धा गर्नुभन्दा उच्च गुणस्तर, विशिष्ट स्वाद, जैविक उत्पादन र उच्च उचाइमा उत्पादित ‘स्पेसियालिटी कफी’को पहिचान बनाएर मूल्यमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना बढी देखिन्छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको कफी निर्यात रणनीतिले पनि नेपाली कफीको विशेषता उच्च उचाइ, जैविक उत्पादन, समुदायमा आधारित उत्पादन र विशिष्ट स्वाद भएको उल्लेख गर्दै विश्व बजारमा ‘स्पेसियालिटी कफी’का रूपमा विकास गर्न सकिने सम्भावना औँल्याएको छ । रणनीतिले माग वर्तमान उत्पादनभन्दा बढी रहेको र उत्पादनको उपलब्धता बढाउन सके नयाँ अन्तर्राष्ट्रिय बजार विस्तार गर्न सकिने निष्कर्ष निकालेको छ ।
अमेरिकामा पनि विस्तारको आधार
अमेरिकी बजार पनि नेपाली कफीका लागि सम्भावनायुक्त गन्तव्य हो । विश्व बैंकको तथ्यांकअनुसार सन् २०२२ मा नेपालबाट अमेरिकाले करिब ४.८ टन नरोस्टेड कफी आयात गरेको थियो, जसको मूल्य करिब ६३ हजार अमेरिकी डलर थियो । सोही वर्ष नेपालबाट जापान, जर्मनी र स्विट्जरल्यान्डमा पनि उल्लेख्य परिमाणमा कफी निर्यात भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको सबैभन्दा ठूलो चुनौती मागको कमीभन्दा पनि पर्याप्त परिमाणमा गुणस्तरीय कफी उत्पादन गर्न नसक्नु हो । हाल नेपालमा उत्पादन हुने कफीको परिमाण अन्तर्राष्ट्रिय बजारको तुलनामा निकै सानो छ । उत्पादन र निर्यातको परिमाण बढाउन सकिए युरोप तथा अमेरिकाका विशेष बजारमा नेपाली कफीको उपस्थिति विस्तार गर्न सकिने व्यवसायीहरूको बुझाइ छ ।
उत्पादनभन्दा माग धेरै
नेपालमा कफीको आन्तरिक माग र उत्पादनबीच पनि ठूलो अन्तर छ । पछिल्लो उपलब्ध विवरणअनुसार नेपालमा वार्षिक कफीको माग दुई हजार ८०० मेट्रिक टनभन्दा बढी रहेको अवस्थामा घरेलु उत्पादन करिब ६४१ मेट्रिक टन मात्र छ । उत्पादनले माग धान्न नसक्दा भारत, भियतनाम, कोलम्बिया, मलेसिया, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्सलगायत मुलुकबाट कफी आयात भइरहेको छ ।
यसले नेपालको कफी क्षेत्रका लागि दोहोरो अवसर देखाउँछ । पहिलो, देशभित्रै बढिरहेको कफी उपभोगको मागलाई स्वदेशी उत्पादनले प्रतिस्थापन गर्न सक्ने र दोस्रो, उच्च गुणस्तरको कफीलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गरेर विदेशी मुद्रा आर्जन बढाउन सकिने ।
तर अहिले नेपाल कफीमा निर्यातकर्ता मात्रै नभई ठूलो आयातकर्ता पनि हो । पछिल्लो विवरणले उत्पादनको ठूलो सम्भावना हुँदाहुँदै नेपालले आफ्नै आन्तरिक माग पूरा गर्नसमेत पर्याप्त कफी उत्पादन गर्न नसकेको देखाउँछ ।
उत्पादनमा तीव्र वृद्धि
नेपालमा कफी खेतीको विस्तार पछिल्ला वर्षमा क्रमशः बढ्दै गएको छ । आर्थिक वर्ष २०७१/७२ मा दुई हजार ३८१ हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएकोमा उत्पादन ४६३.५८ मेट्रिक टन थियो । आर्थिक वर्ष २०७५/७६ मा उत्पादन ५३० मेट्रिक टन पुगेको थियो । आर्थिक वर्ष २०७६/७७ मा उत्पादन घटेर २९६.५० मेट्रिक टनमा सीमित भयो ।
जलवायु तथा मौसमजन्य समस्या, रोग तथा सेतो गबारोको प्रकोपलगायत कारणले उत्पादनमा असर परेको थियो । त्यसपछि भने क्षेत्रफल र उत्पादन क्रमशः बढ्दै गएको देखिन्छ ।
आर्थिक वर्ष २०८०/८१ मा चार हजार ३०९ हेक्टरमा ५०१.३० मेट्रिक टन ग्रीन बिन कफी उत्पादन भएकामा आर्थिक वर्ष २०८१/८२ मा क्षेत्रफल बढेर पाँच हजार ५०१.०५ हेक्टर तथा उत्पादन ६४१.९० मेट्रिक टन पुगेको छ ।
एक वर्षमै कफी खेतीको क्षेत्रफल एक हजार १९२ हेक्टरले बढेको छ भने उत्पादन १४०.६ मेट्रिक टनले वृद्धि भएको छ ।
काभ्रेपछि अन्य जिल्लामा विस्तार
प्रदेशगत रूपमा पनि कफी खेतीको विस्तार उल्लेखनीय छ । बागमती प्रदेशमा एक हजार ५७८ हेक्टरमा २९२.४५ मेट्रिक टन, गण्डकी प्रदेशमा एक हजार ४५१ हेक्टरमा १५६ मेट्रिक टन, कोशी प्रदेशमा एक हजार ७३४.९५ हेक्टरमा १२८.५५ मेट्रिक टन, लुम्बिनी प्रदेशमा ६८१.२० हेक्टरमा ६२.०९ मेट्रिक टन, कर्णाली प्रदेशमा ४४.३० हेक्टरमा २.७० मेट्रिक टन तथा सुदूरपश्चिम प्रदेशमा ११.६० हेक्टरमा ०.०९ मेट्रिक टन कफी उत्पादन भएको केन्द्रीय कफी उत्पादक सङ्घले जनाएको छ ।
जिल्लागत रूपमा काभ्रेपलाञ्चोक १२१ मेट्रिक टन ग्रीन बिन उत्पादनसहित अग्रस्थानमा छ । त्यसपछि नुवाकोटमा ९०.५० मेट्रिक टन, इलाममा ८३ मेट्रिक टन, स्याङ्जा र लमजुङमा ३३–३३ मेट्रिक टन, गुल्मीमा ३० मेट्रिक टन, कास्कीमा २४ मेट्रिक टन, धादिङमा २०.७० मेट्रिक टन तथा पाल्पा र गोरखामा २०–२० मेट्रिक टन ग्रीन बिन कफी उत्पादन भएको छ ।
निर्यात बजारमा जर्मनी अगाडि
उत्पादन बढेसँगै नेपाली कफीको अन्तर्राष्ट्रिय बजार पनि विस्तार हुँदै गएको छ । आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट करिब ६३ हजार ९९७.५५ किलोग्राम कफी निर्यात भएको छ । यसको निर्यात मूल्य रु एक करोड १४ लाख ३६ हजार ९७२ रहेको छ ।
निर्यात भएका मुलुकमध्ये जर्मनी नेपाली कफीको प्रमुख बजारका रूपमा देखिएको छ । जर्मनीमा २७ हजार ९८१.७ किलोग्राम कफी निर्यात भएको छ, जसको मूल्य रु पाँच करोड ४२ लाख ५६ हजार होइन, रु ५४ लाख २५ हजार ६०० रहेको छ । कुल निर्यातमध्ये जर्मनीको हिस्सा करिब ४७.४ प्रतिशत रहेको छ ।
जापानमा १७ हजार ६४८.९ किलोग्राम, बेलायतमा तीन हजार ८७८ किलोग्राम, नेदरल्यान्ड्समा पाँच हजार ३७३ किलोग्राम, स्विट्जरल्यान्डमा दुई हजार ९३२ किलोग्राम तथा इटालीमा दुई हजार एक किलोग्राम कफी निर्यात भएको छ । नेपाली कफी २२ भन्दा बढी मुलुकमा पुगिसकेको छ ।
अन्तर्राष्ट्रिय व्यापार तथ्यांकले पनि जर्मनी, स्विट्जरल्यान्ड, जापान, नेदरल्यान्ड्सलगायत बजार नेपाली कफीका लागि स्थापित गन्तव्य बन्दै गएको देखाउँछ । सन् २०२४ मा युरोपेली सङ्घले नेपालबाट मात्रै ५२.४ टन नरोस्टेड कफी आयात गरेको तथ्यांकले नेपाली कफीको युरोपेली बजारमा रहेको पहुँच देखाउँछ ।
निर्यात बढाउन प्रशोधन र गुणस्तरमा जोड
कफी उत्पादक किसानका लागि उत्पादनसँगै प्रशोधन र बजारीकरण पनि उत्तिकै महत्वपूर्ण पक्ष हो । केन्द्रीय कफी उत्पादक सहकारी सङ्घका केन्द्रीय सदस्य तुलसीराम धिताल नेपालमा कफीको सम्भावना उच्च भए पनि किसानलाई उचित मूल्य, नियमित बजार र आवश्यक प्रविधि उपलब्ध गराउन अझै धेरै काम गर्नुपर्नेमा जोड दिनुहुन्छ ।
कफी उत्पादन बढाउन सहकारीलाई बलियो बनाउने, सङ्कलन केन्द्र विस्तार गर्ने, पल्भर तथा प्रशोधन मेसिनको पहुँच बढाउने, गुणस्तर कायम गर्ने र जैविक प्रमाणीकरणलाई प्राथमिकता दिन आवश्यक छ । उत्पादन क्षेत्रमै प्रशोधन केन्द्र स्थापना गर्न सके किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउनुका साथै कफीको गुणस्तर कायम गर्न सकिने उहाँ बताउनुहुन्छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको हालैको रणनीतिक दस्तावेजले पनि नेपाली ग्रीन बिन मुख्यतः दक्षिण कोरिया, जापान, युरोप र अमेरिकाका अन्तर्राष्ट्रिय बजारमा जाने गरेको उल्लेख गरेको छ । कफीको गुणस्तर कायम गर्न नसके अन्तर्राष्ट्रिय मागमा असर पर्न सक्ने भएकाले उत्पादनदेखि प्रशोधनसम्मको गुणस्तर व्यवस्थापनलाई महत्वपूर्ण चुनौतीका रूपमा औँल्याइएको छ ।
मूल्य बढेसँगै किसानको आकर्षण
कफीको मूल्यमा पनि पछिल्ला वर्षमा सुधार भएको छ । आर्थिक वर्ष २०८१/८२ मा ताजा कफी चेरी ‘ए’ ग्रेडको मूल्य प्रतिकिलो रु १०५ र ‘बी’ ग्रेडको रु ९५ निर्धारण गरिएको थियो । पार्चमेन्ट कफीमा ‘ए’ ग्रेडको रु ५३५ र ‘बी’ ग्रेडको रु ४८२ तथा ड्राइ चेरीमा ‘ए’ ग्रेडको रु २८० र ‘बी’ ग्रेडको रु २४२ मूल्य निर्धारण गरिएको थियो ।
कफीको मूल्य वृद्धिले किसानको आकर्षण पनि बढाएको छ । आर्थिक वर्ष २०७७ मा ड्राइ चेरी ‘ए’ ग्रेडको मूल्य प्रतिकिलो रु १४८ रहेकामा आर्थिक वर्ष २०८१/८२ मा बढेर रु २८० पुगेको छ ।
प्रमुख निर्यातमूलक कृषि उत्पादन बन्ने सम्भावना
नेपालको कफी क्षेत्र अब परम्परागत कृषि उत्पादनमा मात्र सीमित छैन । यो ग्रामीण अर्थतन्त्र, रोजगारी, स्थानीय उद्यम, सहकारी, पर्यटन र निर्यातसँग जोडिँदै गएको क्षेत्र हो । पहाडी पाखामा लगाइने कफीको एउटा बोटले किसानलाई वर्षौँसम्म आम्दानी दिन सक्ने भएकाले यसलाई दीर्घकालीन कृषि लगानीका रूपमा विकास गर्न सकिन्छ ।
नेपालका लागि कफीको सबैभन्दा ठूलो सम्भावना ठूलो परिमाणमा सस्तो कफी उत्पादन गरेर विश्व बजारमा प्रतिस्पर्धा गर्नुमा भन्दा उच्च गुणस्तरको ‘स्पेसियालिटी कफी’ उत्पादनमा रहेको देखिन्छ । युरोपेली बजारमा कफीको आयात मूल्य र उपभोग दुवै ठूलो रहेको अवस्थामा नेपालको सानो उत्पादनलाई विशिष्ट स्वाद, उच्च उचाइ, जैविक उत्पादन र ट्रेसिबिलिटीसँग जोडेर प्रिमियम बजारमा पुर्याउन सके निर्यात आम्दानी उल्लेख्य रूपमा बढाउन सकिने आधार छ ।
काभ्रेपलाञ्चोकले कफी उत्पादनका क्षेत्रमा बनाएको पहिचानले अन्य पहाडी जिल्लालाई पनि सिकाइको अवसर दिएको छ । स्थानीय तहको लगानी, किसानको श्रम, सहकारीको भूमिका र बजारको पहुँचलाई एकीकृत गर्न सके काभ्रेको अनुभव अन्य जिल्लामा पनि विस्तार गर्न सकिने केन्द्रीय कफी उत्पादक सङ्घका केन्द्रीय सदस्य तुलसीराम धिताल बताउनुहुन्छ ।
हाल ४३ भन्दा बढी पहाडी जिल्लामा कफी खेती हुँदै आएको अवस्थामा आगामी दिनको चुनौती उत्पादन क्षेत्र विस्तार गर्नु मात्र होइन, उत्पादनको गुणस्तर र किसानको आम्दानीलाई दिगो बनाउनु हो ।
युरोप र अमेरिकामा नेपाली कफीको माग विस्तार गर्ने हो भने उत्पादन बढाउनुका साथै अन्तर्राष्ट्रिय गुणस्तरको प्रशोधन, जैविक तथा अन्य आवश्यक प्रमाणीकरण, निर्यातयोग्य परिमाण, ब्रान्डिङ, ट्रेसिबिलिटी र नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने हुन्छ ।
अहिलेको उत्पादनको आकार सानो भए पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीले आफ्नो विशिष्ट पहिचान बनाउन सकेमा कफी आगामी दिनमा नेपालको प्रमुख निर्यातमूलक उच्च मूल्यको कृषि उत्पादन बन्न सक्ने सम्भावना उच्च देखिन्छ ।




प्रतिक्रिया राख्नुहोस्