राजनीति

सरकारको गति बढाउन रास्वपाको निर्देशन, विपक्षीको प्रश्नबीच जनतामाझ जाने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार गठन भएको छ महिनाको अवधिमा भएका कामको समीक्षा गर्दै सरकारको काम सन्तोषजनक रहेको निष्कर्ष निकाले पनि आगामी दिनमा कार्यसम्पादनको गति थप तीव्र बनाउन निर्देशन दिएको छ।

शनिबार बसेको पार्टी केन्द्रीय समिति बैठकले सरकारका कामको समीक्षा गर्दै जनताका समस्या समाधान गर्न अझ प्रभावकारी ढङ्गले अघि बढ्नुपर्ने निष्कर्ष निकालेको हो।

बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले सरकारका पछिल्ला काम सन्तोषजनक रहेको विश्लेषण गर्दै त्यसलाई थप तीव्रता दिन पार्टी सभापति रवि लामिछानेले सरकारलाई निर्देशन दिनुभएको जानकारी दिनुभयो।

सरकारका काममा पार्टीको पूर्ण सहयोग रहेको बताउँदै उहाँले जनताका समस्या समाधान गर्न पार्टी र सरकार सँगसँगै अघि बढिरहेको बताउनुभयो।

आगामी दिनमा पार्टी, सरकार र संसद्बीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउँदै सरकारका कामलाई परिणाममुखी बनाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो।

सरकारले छ महिनाको अवधिमा सुशासन, सेवा प्रवाह, आर्थिक सुधार, रोजगारी, सामाजिक सुरक्षा तथा विकास निर्माणका क्षेत्रमा काम अघि बढाएको दाबी गर्दै आएको छ।

तर विपक्षी दलहरूले भने सरकारको कार्यसम्पादन अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको, जनताका दैनिक समस्या समाधानमा ठोस परिणाम देखिन नसकेको तथा सरकार राजनीतिक प्रचारमा बढी केन्द्रित भएको आरोप लगाउँदै आएका छन्।

विपक्षीहरूले सरकारको छ महिनाको अवधिलाई मूल्याङ्कन गर्दा नीति तथा कार्यक्रमभन्दा कार्यान्वयन र परिणामलाई आधार बनाउनुपर्ने बताउँदै आएका छन्।

सरकारको कार्यशैली, सेवा प्रवाह, आर्थिक अवस्था, रोजगारी सिर्जना तथा सुशासनका विषयमा जनतामा अझै अपेक्षा र असन्तुष्टि दुवै रहेको उनीहरूको दाबी छ। सत्तारूढ दल भने सरकारले छोटो अवधिमा थालेका सुधारका कामलाई संस्थागत गर्दै आगामी दिनमा थप परिणाम देखाउने दाबी गर्दै आएको छ।

रास्वपाले भने सरकारका कामको बचाउ गर्दै सरकारलाई जनतासँग प्रत्यक्ष जोडेर अघि बढाउने रणनीति बनाएको छ। त्यसैअनुसार बैठकले ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

७५३ पालिकामा पुग्ने अभियान

रास्वपाले असोज २० देखि २७ गतेसम्म ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरू ७७ जिल्लाका ७५३ वटै पालिकामा पुगेर जनता, पार्टीका स्थानीय कार्यकर्ता तथा विभिन्न सरोकारवालासँग प्रत्यक्ष छलफल गर्नेछन्।

अभियानमार्फत जनताका समस्या, सुझाव र अपेक्षा सङ्कलन गर्ने तथा त्यसलाई पार्टीको आगामी राजनीतिक कार्यदिशा र सरकारका कामसँग जोड्ने तयारी गरिएको प्रवक्ता खरेलले बताउनुभयो। अभियानमा सबै केन्द्रीय सदस्य तथा सांसदलाई अनिवार्य रूपमा परिचालित हुन निर्देशन दिइएको छ।

सरकारमा सहभागी भएर काम गरिरहेको रास्वपाका लागि आगामी स्थानीय निर्वाचनलाई समेत आधार बनाएर जनतामाझ आफ्नो प्रभाव विस्तार गर्ने यो अभियानलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। पार्टीले सरकारका कामबारे जनताको प्रत्यक्ष प्रतिक्रिया लिने तथा स्थानीय तहमा आफ्नो सङ्गठनको अवस्थासमेत बुझ्ने उद्देश्य राखेको छ।

स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति

बैठकले आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ। पार्टी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठन गरिएको समितिमा मीलन लिम्बू, रहबर अन्सारी, डा. तोसिमा कार्की, कवीन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनक सिंह धामी सदस्य रहनुभएको छ।

पार्टीका सातै प्रदेशका सभापति समितिको पदेन सदस्य रहने व्यवस्था गरिएको छ। समितिका अन्य सदस्य पछि मनोनयन गरिने प्रवक्ता खरेलले जानकारी दिनुभयो।

स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको प्रारम्भिक संरचना तयार गर्नुका साथै पार्टीले स्थानीय तहमा आफ्नो सङ्गठन विस्तार र जनसम्बन्धलाई प्राथमिकतामा राखेको देखिन्छ।

विभागीय जिम्मेवारी हेरफेर

बैठकले पार्टीका विभिन्न विभागका प्रमुख तथा उपप्रमुखसमेत मनोनयन गरेको छ। प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य तथा सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रुबिना आचार्य चयन हुनुभएको छ।

त्यसैगरी सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाल, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपककुमार साह (महोत्तरी), आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्दबहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी तथा वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी चयन हुनुभएको छ।

सामाजिक न्याय तथा समता प्रवर्धन विभाग प्रमुखमा रिमा विश्वकर्मालाई चयन गरिएको छ। अभियान तथा प्रचारप्रसार विभाग उपप्रमुखमा आनन्द मिश्र, अर्थ विभाग उपप्रमुखमा डिल्लिश्वोर कार्की (रोहन) तथा संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभाग सदस्यमा सम्राट् बुढाथोकी चयन हुनुभएको प्रवक्ता खरेलले जानकारी दिनुभयो।

मधेशको सङ्गठनात्मक समस्या अध्ययन

रास्वपाले मधेश प्रदेश सङ्गठनमा देखिएका समस्या समाधानका लागि गठित कार्यदलको प्रतिवेदनसमेत बैठकमा प्रस्तुत गरेको छ। सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको विस्तृत प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइएको छ।

प्रतिवेदन अध्ययन गरेपछि मधेश प्रदेश सङ्गठनका विषयमा आवश्यक निर्णय लिइने प्रवक्ता खरेलले बताउनुभयो।

स्थायी कार्यालयका लागि जग्गा तथा घर खोजिने

बैठकले पार्टीको हाल भाडामा रहेको कार्यालयलाई अन्यत्र सार्ने तयारीसमेत गरेको छ। त्यसका लागि काठमाडौँ उपत्यकामा पार्टीलाई पायक पर्ने स्थानमा जमिन वा घर खरिद गर्न सकिने भएकाले उपयुक्त स्थानको खोजी गर्न पार्टीका सदस्य तथा शुभेच्छुकलाई अनुरोध गरिएको छ।

सरकारको छ महिनाको कार्यसम्पादनबारे सत्तापक्ष र विपक्षीबीच फरक–फरक धारणा सार्वजनिक भइरहेका बेला रास्वपाले भने सरकारको बचाउसँगै पार्टीलाई जनतामाझ थप सक्रिय बनाउने रणनीति अघि सारेको छ।

आगामी स्थानीय निर्वाचनलाई समेत लक्षित गर्दै ‘हामी आउँदै छौँ’ अभियान, उम्मेदवार छनोट समिति गठन र सङ्गठनात्मक जिम्मेवारी हेरफेरलाई पार्टीले आफ्नो आगामी राजनीतिक यात्राको तयारीका रूपमा अघि बढाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.