खेलविविध

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा कुनै सन्देह छैन : मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने कुरामा कुनै दुविधा नभएको बताउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आसन्न मङ्सिर १६–२७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न मूल आयोजक समितिको बैठकमा बोल्दै उहाँले प्रतियोगिता निर्धारित मितिमै हुने कुरामा कुनै सन्देश नभएको बताउनुभयो ।

“दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर १६–२७ गतेसम्म सञ्चालन हुँदैछ । मूल आयोजक समितिको बैठकले यो भव्य महोत्सवको सुरुआत आजबाटै भएको घोषणा गर्दछ,” मन्त्री पोखरेलले भन्नुभयो, “बिगतमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताभन्दा यसलाई प्रभावकारी र उपलब्धिमूलक बनाउने गरी तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य छ ।”

यसमा प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको अझ महत्वपूर्ण भूमिका र जिम्मेवारी रहेको मन्त्री पोखरेलले बताउनुभयो । स्वस्थ व्यक्ति र समृद्ध देशका लागि खेल आवश्यक भएको बताउँदै उहाँले आजैबाट देशभर कर्णाली प्रदेश दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ भन्ने सन्देश प्रवाह गर्न र आ–आफ्नो ठाउँबाट जिम्मेवारी पुरा गर्न सरोकारवालालाई अपिल गर्नुभयो ।

नेपालका गाउँ र विकट क्षेत्रमा बसेका खेलाडीलाई सबैले उत्साह प्रदान गर्नुपर्नेमा जोड दिँदै उहाँले मुलुकलाई विश्वमाँझ चिनाउने गरी आफ्नो प्रतिभा प्रदर्शन प्रतियोगीलाई अनुरोध गर्नुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णाली प्रदेश रङ्गशालाका लागि रु नौ करोड, खेल पूर्वाधारका लागि रु पाँच करोड र दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालनका लागि रु तीन करोड बजेट प्रदेश सरकारले विनियोजन गरेको बताउनुभयो ।

पाँचौँ पटकसम्म स्थगित भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब सुनिश्चित हुने कुराले हर्षित तुल्याएको बताउँदै उहाँले प्रदेश सरकारले खेल क्षेत्रलाई महत्व दिएर राष्ट्रियस्तरको खेलकुद पूर्वाधारको संरचना निर्माण गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.