बिचार

महाधिवेशन कि राजनीतिक जात्रा ?

आज (असोज १८, आइतबार) नेपाली कांग्रेसको जात्रा सुरु भएको छ। यो जात्रा हेर्न भनेर गोडा सातेक हजार त आउँछन् नै, तीनका पछि लागेर अरू गोडा तिनेक हजार रहरै–रहरमा जात्रामा सामेल हुन सक्छन्।

हाम्रो टोटनाङ्लातिर लाग्ने गोडा पाँचेक दिनको जात्राजस्तै सुरुमा चार दिने जात्रा भनेर तोकिए पनि अरू दुई दिन बढी थपिन पनि सक्छ।

किनभने घण्टीले लगाएको जात्रामा पनि तोकिएको दिनभन्दा बढी दुई दिन खर्च भएको थियो भने यो जात्रामा पनि त्यत्तिकै दिन लाग्न सक्ने अनुमान जात्रामा भाग लिन जानेहरूले गरेका छन्। त्यसै त अहिले कांग्रेस फुटेर आफैँ जात्रा भइरहेछ।

यस्तो बेला गरेको महाधिवेशनको जात्रामा केही न केही बखेडा निकाल्नेहरूले तमासा त गर्नै होला। हाम्रो जस्तो एउटा क्षेत्रबाट निर्वाचित भएर महाधिवेशनमा जानेहरूले त गोडा दशेक दिन जात्रा लाएर जनताले थाहा पाउने गरी प्रतिनिधिको नाम सार्वजनिक गर्ने हिम्मत गर्न सकेनन् भने यो कांग्रेसको महाधिवेशनमा छुट्टै कांग्रेस पार्टी खोलेर चुनदेवी माताको चरणमा कथा लाएर बसेका शेरबहादुर देउबाका समर्थक गगनका भन्दा धेरै छन् भन्छन्।

अनि ती दुवैथरी शत्रुका लडाकु एकै ठाउँ जम्मा भएपछि त्यहाँ के इमानदारीपूर्वक सत्यनारायणको पूजा गरेर प्रसादी खाएर खुरुक्क घर फर्केजस्तो होला त?

त्यसै त विगत एक वर्षदेखि देउबा र गगन पार्टीमा कसले कब्जा गर्ने भनेर लड्यालड्यै छन्। अनि यस्तो बेला विशेष अधिवेशनका नाममा नेता बनेका गगनलाई सजिलै खान देउबाले के देलान् के ! हुन त देउबाको भागमा बुढाबुढा र हिजोदेखि पार्टीमा हैकम जमाएका मान्छे छन् भने गगनका भागमा युवायुवा र स्वाँठ–स्वाँठ भुसतिघ्रेहरू छन्।

अहिले जमानै युवा र भुसतिघ्रेको भएको बेला बुढाहरूलाई त पर्न नदेलान्, तैपनि के भन्न सकिन्छ र? युवाहरूको सनसन विगत ६ महिनादेखि हेरिएकै छ। अनि यिनले गरेका काम हरेक ठाउँमा लथालिङ्ग मात्रै भएका छन्।

त्यसैले अब यो युवा र जेनजीको पछि नलागेर बुढाहरूकै पक्षमा लागे भने त महाधिवेशन गराउने गगन पार्टीका चुनावमा जित्ने जति देउबा हुन पनि बेर छैन।

अहिलेको गगनको चुनाव फेरि कांग्रेसको इतिहासमै गजबको छ। गाउँदेखि पैसा खर्च गरी–गरी राजधानी जाऊ, अनि खान–बस्न आफ्नै पैसा तिर, महाधिवेशनमा भाग लेऊ, भोट हाल अनि घरतिर फर्क। यस्तो राम्रो नीति गगनले ल्याबेला ‘काठमाडौं जाम्ला र पेटभरि मासुभात खाएर जिल्ला फर्किम्ला’ भन्नेहरूका लागि राजधानी गै फासो भएन त!

यही बिहान–बेलुका भात खान र सुत्ने पैसा आफैँ बेहोर्नुपर्ने काण्डले कल्लाई आउने भन्या भोट कलाई जाने हो, पत्तै नहुने भो। नेता–कार्यकर्ताले लजिङ–फुडिङ आफैँ बेहोर्नुपर्ने जुन हल्ला आएको छ, यसले अब भोट किन्ने र बेच्ने खेलको खेती गगन थापाबाटै सुरु हुने भो भनेर जाने हुन्छ।

स्थानीय, प्रदेश र आम चुनावमा मात्रै किनबेच हुने गरेको बेला अब यो पटकदेखि कांग्रेस पार्टीको चुनावमा नि किनबेचै हुने भो। भलै यो किनबेचको फाइदा चाहिँ नेताले हैन कि भोटरले मात्रै उठाउने भए।

महाधिवेशनमा भाग लिँदा लाग्ने खर्च जब पार्टीले भुक्तानी नगर्ने भएपछि चुनावमा जुन चाहिँ उम्मेदवारले भोटर किन्न सक्छ र दारुपानी ख्वाउन सक्छ, उसकै पार्टीमा कब्जा हुने भएपछि राम्रो नेता आउला त?

त्यसै त पुराना दलको हरकत जेनजीलाई मन नपरेर लखेट्या–लखेट्यै छन्। अझ भएन भनेर पार्टीको नेता हुन नै राजनीतिक योगदानको सट्टा रुपैयाँ–पैसाको योगदान हुनुपर्ने देखिएपछि कांग्रेस पार्टी त त्यसै पनि बोरामा जाने भो त हँ!

अधिवेशनमा लाखौँ–करोडौँ लगानी गरेर नेता भएपछि भोलि उसले राज्यमा प्रतिनिधित्व गर्दा होस् वा पार्टीकै पदबाट भ्रष्टाचार गर्ने बाटो खोजेर हिँड्नेसिवाय अरू काम नहुने हो भने यो कांग्रेसको अधिवेशन होइन कि जात्रै त हुने भो, हैन र?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.