नोबेल पुरस्कारको इतिहासमा पाँच रोचक तथ्य
मानवताका लागि उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सन् १९०१ देखि प्रदान गरिँदै आएको नोबेल पुरस्कारको इतिहासमा सङ्घर्ष, उमेरको विविधता, महिला प्रतिनिधित्व तथा संस्थापक अल्फ्रेड नोबेलको साहित्यप्रतिको रुचिसँग सम्बन्धित अनेक रोचक पक्ष छन् ।
यस वर्षका पुरस्कार विजेताको घोषणा अक्टोबर ५ देखि १२ सम्म हुनेछ । नोबेल शान्ति पुरस्कारका पाँच विजेता पुरस्कार समारोहमा सहभागी हुन पाएका छैनन् ।
सन् १९३६ का विजेता कार्ल भोन ओस्सिट्स्की नाजी यातना शिविरमा हुनुहुन्थ्यो भने आङ सान सुकी सन् १९९१ मा नजरबन्दमा हुनुहुन्थ्यो । सन् २०१० का विजेता लिउ सियाओबो जेलमा रहँदा उहाँका लागि पुरस्कार राखिएको कुर्सी खाली राखिएको थियो ।
सन् २०२२ मा एलेस बियालियात्स्की जेलमा हुनुहुन्थ्यो र उहाँको प्रतिनिधित्व पत्नी नतालिया पिन्चुकले गर्नुभएको थियो । सन् २०२३ मा नर्गिस मोहम्मदी पनि जेलमै हुनुहुन्थ्यो ।
उमेरका हिसाबले पाकिस्तानी अधिकारकर्मी मलाला युसुफजाई १७ वर्षमा नोबेल पुरस्कार पाउने सबैभन्दा कान्छी विजेता बन्नुभएको थियो ।
अर्कोतर्फ अमेरिकी वैज्ञानिक जोन गुडएनफले ९७ वर्षको उमेरमा सन् २०१९ मा रसायनशास्त्रतर्फ पुरस्कार पाउनुभएको थियो । उहाँ सबैभन्दा वृद्ध नोबेल विजेता हुनुहुन्छ ।
सन् १९७४ देखि सामान्यतः मरणोपरान्त नोबेल पुरस्कार दिन रोकिएको छ । त्यसअघि डाग ह्यामरशोल्ड र एरिक एक्सेल कार्लफेल्टले मरणोपरान्त पुरस्कार पाउनुभएको थियो ।
सन् २०११ मा राल्फ स्टाइनम्यानलाई पुरस्कारका लागि चयन गरिएको तीन दिनअघि उहाँको निधन भएको जानकारी नभए पनि फाउन्डेसनले उहाँलाई पुरस्कार प्रदान गरेको थियो ।
सन् १९०१ यता प्रदान गरिएका ६३३ नोबेल पुरस्कारमध्ये ६८ वटा मात्र महिलाले पाएका छन् । विज्ञानतर्फ प्रतिनिधित्व अझ न्यून छ । मेरी क्युरी सन् १९०३ मा नोबेल पुरस्कार पाउने पहिलो महिला बन्नुभएको थियो र उहाँ आजसम्म दुई नोबेल पुरस्कार पाउने एक्ली महिला हुनुहुन्छ ।
नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड नोबेल डाइनामाइटका आविष्कारकका रूपमा प्रसिद्ध भए पनि उहाँ अङ्ग्रेजी कविताका प्रशंसक तथा स्वयं कवि हुनुहुन्थ्यो ।
पर्सी बिसी शेली र लर्ड बायरनबाट प्रभावित उहाँले जीवनभर कविता लेख्नुभयो । जीवनको अन्तिम वर्ष सन् १८९६ मा उहाँले शेलीको ‘द सेन्सी’ बाट प्रेरित ‘नेमेसिस’ नामक चार अङ्कको त्रासदीसमेत लेख्नुभएको थियो ।




प्रतिक्रिया राख्नुहोस्