तातो हुँदैछ पृथ्वी, असुरक्षित बन्दैछ मातृत्व
जलवायु परिवर्तनको चर्चा गर्दा बाढी, पहिरो, खडेरी र हिमाल पग्लिनेजस्ता प्राकृतिक विपद्का तस्वीर सामान्यतया अगाडि आउँछन् । तर बढ्दो तापक्रमले मानव स्वास्थ्यमा पारिरहेको प्रभाव अब शरीरका सबैभन्दा संवेदनशील अवस्थासम्म ‘गर्भावस्था’सम्म पुग्न थालेको छ ।
चरम गर्मीले गर्भवती महिला र गर्भमा रहेको शिशुको स्वास्थ्यमा जोखिम बढाइरहेको चेतावनी संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले दिनुभएको छ । उहाँले फिजीमा सोमबार हुने ‘प्रि–कोप’ सम्मेलनमा जलवायु परिवर्तन र गर्भावस्थाबीचको सम्बन्धबारे विश्वको ध्यानाकर्षण गराउने तयारी गर्नुभएको छ ।
स्टिलले प्रस्तुत गर्ने नयाँ सर्वेक्षणअनुसार पाँच महादेशका दुई तिहाइभन्दा बढी स्वास्थ्यकर्मीले पछिल्लो पाँच वर्षमा अत्यधिक गर्मीसँग सम्बन्धित गर्भावस्थाका जटिलता देखेको बताएका छन् ।
बेलायत, अस्ट्रेलिया, भारत, ब्राजिल र जिम्बाब्वेका एक हजार चिकित्सक तथा प्रसूति सेवामा संलग्न स्वास्थ्यकर्मी सहभागी सर्वेक्षण ‘वेलकम’ नामक संस्थाले गरेको हो ।
सर्वेक्षणमा सहभागी झण्डै सबै स्वास्थ्यकर्मीले चरम गर्मीबाट प्रभावित गर्भवती महिला वा नवजात शिशुको उपचार गरेको बताएका छन् ।
करिब एक तिहाइले कम जन्मतौल वा भ्रूणको वृद्धि सीमित हुने, शिशुलाई दूध खुवाउन कठिनाइ हुने तथा शरीरमा पानीको कमी वा गर्मीजन्य स्वास्थ्य समस्या देखेका बताएका छन् ।
जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम बढ्दै जाँदा चरम गर्मीका घटना पनि थप तीव्र र बारम्बार हुन थालेका छन् । यही कारण गर्भावस्था र प्रसूति स्वास्थ्यलाई जलवायु नीतिको महत्वपूर्ण विषयका रूपमा लिनुपर्ने बहस बढेको छ ।
गाम्बियामा गर्भावस्थामाथि गर्मीको अध्ययन
अत्यधिक गर्मीको गर्भावस्थामाथिको प्रभाव बुझ्न पश्चिम अफ्रिकी मुलुक गाम्बियामा विशेष अध्ययन भइरहेको छ । त्यहाँ उच्च तापक्रम र आर्द्रताको संयुक्त प्रभाव गर्भवती महिला तथा भ्रूणको स्वास्थ्यमा कसरी पर्छ भन्ने विषयमा अनुसन्धान भइरहेको हो ।
गाम्बियामा सञ्चालित अनुसन्धानले गर्भावस्थाका क्रममा शरीरले तापक्रम नियन्त्रण गर्न बढी कठिनाइ भोग्ने अवस्थालाई अध्ययनको केन्द्रमा राखेको छ ।
गर्भावस्थामा हुने तापीय तनावले आमाको स्वास्थ्यसँगै भ्रूणको विकास र प्रसूतिको अवस्थालाई प्रभावित गर्न सक्ने सम्भावनाबारे अनुसन्धान भइरहेको छ ।
विश्वका विभिन्न भूभागमा तापक्रमका नयाँ रेकर्ड कायम भइरहेका बेला यस्तो अनुसन्धानले जलवायु परिवर्तनलाई वातावरणीय मुद्दामात्र नभई सार्वजनिक स्वास्थ्यको विषयका रूपमा बुझ्नुपर्ने आवश्यकता देखाएको छ ।
नेपालमा महिलाको प्रजनन स्वास्थ्य पनि जलवायु जोखिमसँग जोडिँदै
नेपालमा पनि जलवायु परिवर्तनको प्रभाव महिलाको स्वास्थ्यसँग जोडिएर अध्ययन हुन थालेको छ । हालै प्रकाशित एक अध्ययनले बाढी, नदी कटान र अत्यधिक गर्मीजस्ता जलवायुजन्य जोखिमले महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा प्रभाव पार्न सक्ने देखाएको छ ।
कैलाली, अर्घाखाँची र कपिलवस्तुका ३८४ महिलामा गरिएको अध्ययनमा जलवायुजन्य जोखिमको स्तर र महिलाको यौन तथा प्रजनन स्वास्थ्यबीच सम्बन्ध देखिएको हो । अध्ययनले जलवायुजन्य जोखिमले महिलाको दैनिक जीवन, घरायसी कामको बोझ तथा प्रजननसम्बन्धी निर्णयमा समेत प्रभाव पार्न सक्ने देखाएको छ ।
यसले जलवायु परिवर्तनको असरलाई केवल तापक्रम वा प्राकृतिक विपद्को तथ्याङ्कबाट मात्र मापन गर्न नसकिने देखाउँछ । जलवायु जोखिमले स्वास्थ्य, परिवारको जीवनशैली र महिलाको प्रजननसम्बन्धी निर्णयसम्म प्रभाव पार्न सक्ने भएकाले अनुकूलनका कार्यक्रमलाई स्वास्थ्य र लैङ्गिक पक्षसँग जोड्नुपर्ने आवश्यकता देखिएको छ ।
तापक्रमसँगै कृषि प्रणालीमा पनि परिवर्तन
जलवायु परिवर्तनको अर्को महत्वपूर्ण असर खाद्य उत्पादनमा देखिन थालेको छ । नेपालमा कृषि प्रणाली उचाइ, तापक्रम, वर्षा र स्थानीय मौसमसँग गहिरोसँग जोडिएको छ । तापक्रम र वर्षाको ढाँचामा आएको परिवर्तनले परम्परागत कृषि प्रणालीलाई प्रभावित पारिरहेको छ ।
कृषि तथा जलवायु अध्ययनहरूले तापक्रम र वर्षाको परिवर्तनले धान, मकै र गहुँजस्ता प्रमुख बालीको उत्पादनमा असर पार्न सक्ने देखाएका छन् । विशेषगरी तापक्रम वृद्धि र वर्षाको अनियमितताले केही क्षेत्रमा उत्पादन घटाउने तथा किसानलाई खेतीको समय र बाली छनोटमा परिवर्तन गर्न बाध्य पार्न सक्छ ।
यसको अर्थ एउटै भूगोलमा पुस्तौँदेखि हुँदै आएको कृषि उत्पादन प्रणाली भविष्यमा उही रूपमा कायम रहने निश्चित छैन । तापक्रम, वर्षा र पानीको उपलब्धतामा आएको परिवर्तनसँगै कुन क्षेत्रमा कुन बाली उपयुक्त हुन्छ भन्ने विषयसमेत पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्छ ।
जलवायु नीति अब स्वास्थ्य र खाद्य सुरक्षासँग जोडिनुपर्ने
जलवायु परिवर्तनको असर वातावरणबाट मानव जीवनका आधारभूत पक्षसम्म विस्तार भइरहेको छ । गर्भावस्था, नवजात शिशुको स्वास्थ्य, महिलाको प्रजनन स्वास्थ्य र खाद्य उत्पादन त्यसका महत्वपूर्ण उदाहरण हुन् ।

संयुक्त राष्ट्रसंघीय जलवायु प्रमुख स्टिलले गर्भावस्था आशाको समय हुनुपर्ने भए पनि जलवायुजन्य जोखिमका कारण विश्वका लाखौँ महिलाका लागि यो चिन्ताको समय बन्न सक्ने चेतावनी दिनुभएको छ ।
फिजीमा भइरहेको प्रि–कोप सम्मेलनले प्रशान्त क्षेत्रका जलवायु जोखिमलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाइरहेका बेला गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यको विषय पनि जलवायु बहसमा जोडिएको छ ।
आगामी कोप–३१ सम्मेलनमा जलवायु परिवर्तनसँग जुध्ने तथा त्यसका असरबाट जोखिममा परेका समुदायको संरक्षण गर्ने विषयमा छलफल हुँदैछ ।
जलवायु परिवर्तनको असर घटाउने प्रयाससँगै त्यसको प्रभावबाट मानिसलाई जोगाउने अनुकूलन नीति पनि उत्तिकै आवश्यक छ । त्यसका लागि स्वास्थ्य सेवा, कृषि तथा खाद्य सुरक्षा र महिला तथा बाल स्वास्थ्यलाई जलवायु नीतिको अभिन्न हिस्साका रूपमा अघि बढाउनुपर्ने देखिन्छ ।




प्रतिक्रिया राख्नुहोस्