वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा आउने
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएसँगै नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलिब्रिज जडान सुरु भएको छ । यसका लागि आवश्यक सामग्री ल्याउने क्रम जारी रहेको र यही बुधबारदेखि पुल जडानको काम सुरु गरी दसैँअघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती आइपुग्ने छन् । बुधबारदेखि नेपाली सेनाको ५५ जनाको टोलीले बेलीब्रिज जडान सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।
पुल जडान गर्न सामान्यतया तीन दिन लाग्ने भए पनि पुरानो ‘जिप’ (पुलको संरचना) होचो भएकाले त्यसमा थप दुई मिटर उचाइ बढाइएको छ । थपिएको संरचना सुक्न केही समय लाग्ने भएकाले दसैँको फूलपातीसम्म पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सेनानी चौलागाईंले बताउनुभयो ।
यसअघि वेत्रावतीमा रहेको पुलको ‘जिप’ भोटेकोशीको बाढीले पुरेको थियो । सोही स्थानमा नयाँ एक्रोब्रिज जडान गर्न पुरानो संरचनामा थप दुई–दुई मिटर उचाइ बढाइएको हो । निर्माण गर्न लागिएको एक्रोब्रिज ७४ मिटर लामो र ५.५ मिटर चौडा हुनेछ । पुलको भारवहन क्षमता ६० टन रहने उल्लेख छ ।
वेत्रावतीसम्म सडक पहुँच पुगेपछि पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न तथा निर्माण कार्य अघि बढाउन सहज भएको छ । गल्छी–रसुवागढी सडक योजनाको कार्यालयले सडक पहुँच खुलाएपछि निर्माण कार्यले गति लिएको हो ।
सडक पहुँच पुग्नुअघि नै नेपाली सेनाले वैकल्पिक मार्गबाट उक्त स्थानमा पुगेर पुल निर्माणका लागि आवश्यक स्थलगत अध्ययन (रेक्की) तथा ‘जिप’को उचाइ थप गर्ने काम सम्पन्न गरेको थियो ।
भोटेकोशी बाढीबाट क्षतिग्रस्त आगिटार–वेत्रावती सडक खण्ड यही शनिबारदेखि सञ्चालनमा आएको छ । दसैँअघि नै वेत्रावतीमा पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सके नुवाकोटबाट रसुवाको धुञ्चेसम्म सडकमार्फत आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।
यसले बाढीका कारण अवरुद्ध नुवाकोट–रसुवा सडक सम्पर्कसमेत पुनःस्थापित गर्नेछ । रसुवासँगको सडक सञ्जाल प्रभावकारी नहुदाँ बाढीपश्चात् रसुवाको दैनिक जनजीवन प्रभावित हुदै आइरहेको छ ।




प्रतिक्रिया राख्नुहोस्