भाषा/साहित्य

ऊर्जा उद्योगको नालीबेली- ‘नेपालको जलविद्युत् : असफलताको राजनीति’

नेपालको जलविद्युत् क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि कलम चलाउँदै आउनुभएका जलसरोकार डटकमका प्रधान सम्पादक तथा लेखक विकास थापाद्वारा लिखित ‘नेपालको जलविद्युत् : असफलताको राजनीति’ पुस्तक लोकार्पण गरिएको छ।

असोज २४ गते शनिबार काठमाडौंमा आयोजित समारोहमा पूर्वजलस्रोत मन्त्री तथा जलस्रोतविद् दीपक ज्ञवाली, प्रतिनिधिसभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपाने, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष मोहनकुमार डाँगी, ऊर्जा उद्यमी मोहनविक्रम कार्की, वरिष्ठ पत्रकार तथा लेखक हरिबहादुर थापा र पुस्तकका लेखक थापाले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभयो।

कार्यक्रममा पूर्वमन्त्री ज्ञवालीले पुस्तकमा समेटिएका विषय सदाबहार रहेकाले राजनीतिक नेतृत्व र नीति–निर्माताहरूले अनिवार्य रूपमा पढ्नुपर्ने बताउनुभयो।

प्रमुख अतिथिज्ञवालीले “पुस्तकमा समेटिएका विषयहरु अझै पनि समाधान हुन नसकेका र आगामी कयौं वर्षहरुसम्म पनि जीवन्त मुद्दाका रुपमा रहने विषय हुन्” भन्दै अब ऊर्जाको विविधतामा जानुपर्ने बताउनुभयो ।

अर्का अथिति सांसद न्यौपानेले नेपालको अर्थतन्त्रको एक आधार स्तम्भका रुपमा रहेको जलविद्युत्‌ क्षेत्रलाई वर्तमान सरकारले गति दिन विभिन्न ऐन–कानुनहरु लागू गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले ३० हजार मेगावाट जलविद्युत्‌ आयोजना निर्माणको लक्ष्य निर्धारण गर्दै गर्दा सुरुदेखि त्यसको गुरुयोजना बनाउनुपर्नेछ । वन अनुमति लगायतका जलविद्युत्‌ क्षेत्रले भोगेको समस्या समाधान गर्न सरकारले विभिन्न ‘सनसेट ल’ लागू गर्न लागेको छ ।”

विद्युत् नियमन आयोगका अध्यक्ष डा. धितालले पुस्तकले जलविद्युत् क्षेत्रका गम्भीर समस्या उजागर गर्दै विकासका लागि मार्गदर्शन प्रदान गर्ने बताउनुभयो। इप्पानका अध्यक्ष डाँगीले पुस्तकले निजी क्षेत्रले भोग्दै आएका समस्यालाई उजागर गरेको उल्लेख गर्नुभयो।

पुस्तकको समीक्षा गर्दै वरिष्ठ पत्रकार तथा लेखक हरिबहादुर थापाले यसले जलविद्युत् क्षेत्रका असङ्गति उजागर गर्नुका साथै सुधारको दिशासमेत देखाएको बताउनुभयो।

लेखक थापाले पत्रकारिताका क्रममा प्राप्त ज्ञान र अनुभवका आधारमा नेपालको जलविद्युत् क्षेत्रलाई नीति, संरचना र भूराजनीतिले कुन दिशातर्फ डोर्‍याइरहेको छ भन्ने विषय पुस्तकमा समेटिएको जानकारी दिनुभयो। उहाँका अनुसार पुस्तक जलविद्युत् क्षेत्रका साथै समग्र अर्थतन्त्र बुझ्नसमेत उपयोगी हुनेछ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.