बिचार

९८ प्रतिशत मतका गगन : अब नेल्सन मण्डेला बन्ने कि गुटका नेता ?

हैन ! गगन थापा त नेल्सन मण्डेलाभन्दा नि पपुलर रैछन् कि क्या ! काँ पार्टी सभापतियाँ ९८ प्रतिशत मत ल्याए रे नि त ! हैन, भोट पनि ९८ प्रतिशतनै खस्या अनि खस्या भोटमध्याट एउटै नेताले ९८ प्रतिशतनै भोट ल्याउनु भन्या चानचुने कुरा त हैन त यार ! त्यसाे त यस्तै लोकप्रियता भएर त होला ।

महाधिवेशन गर्नुभन्दा पैलै विशेष अधिवेशन पनि गरिहाले अनि त विशेष अधिवेशनको नि सभापति, महाधिवेशनको नि सभापति बनेर इतिहासका पानाँ नि नाम त लेखाइहाले त ।

अधिवेशनको चुनाबाँ आफ्ना विरोधिजतिको पत्ता साफ गरेर सजिलो बाटो बनाका गगनले महाधिवेशन पनि गरिहाले अनि आफूले चाहेका मान्छे नि ल्याए । अनि कांग्रेस–कांग्रेस भनेर हिँडिराख्नेहरूलाई नि ठाडो उठ्नै नसक्ने गरी तह लाएछि अब कांग्रेसभित्रको झगडा नि सक्कियो त होला त !

चुनाव त जिते, तर काम भने दक्षिण अफ्रिकाको राष्ट्रपतिले जस्तै गरेर जीवनपर्यन्त हाईहाई हुन सक्ने गर्ने हुन् कि ! उही गुटमात्रै बनाएर पार्टीको लहरविहीन पार्ने हुन् । त्यो त उनका कामले बताउला । यसाँ नि यो समय भन्या जेनजीको हो क्यारे, उनी पनि त दोस्रो श्रेणीकै जेनजी त हुन् ।

त्यसैले गोेडा पन्ध्रेक १५ वर्ष बालेन जेनजीले गगनलाई केही गर्न उछारबाटो नदेनि, अर्थात् बालेनले एकलौटी खाए नि, त्यसको पछिपछि लागेर गगनले नि १५ वर्ष खाए त खाइहाल्ने नि, हैन र ! अब पार्टीमा नि गगनका विरुद्ध च्याएर हेर्ने कोही बचे जस्तो नि लाग्दैन ।

डा. प्रकाश, विमलेन्द्र, प्रकाशमान, कान्छालामा, दीपक खड्का, विजय गच्छदार, किस्न सिलौटा भन्याजस्ता विरोधि नि देउवाकै भेलाँ बगेर गए त ! अब गगनका विरोधि को रहेर उनलाई अप्ठ्यारो पार्ने ?

यसैले सभापतिज्यू, चुनाव जित्न संगठन बलियो चाहिन्न, बस जनताको भित्री इच्छा बुझ्दे पुग्छ । जुन कुरा २१ फागुनको चुनावले देखाकै छ । र यत्ति कुरा त गएको चुनावाँ बुझ्नु भ’कै होला । देख्नुभएन, खराने ग्याङले बिना संगठन नि दुईतिहाइ ल्याको ।

सैले खाली संगठन बलियो बनाउँछु, सदस्यतै बढाउँछु भनेर जनता पछि नलगाए नि हुन्छ । बरु जनताले चाहेको काम गरिदिनुस् । बढ्दो मूल्यवृद्धि, भ्रष्टाचार, रोजगारी र विकासका कुरा गर्दै समयमा काम नगर्ने ठेकेदारको हुलिया बदल्दै अलपत्र पर्या योजना सक्नेतिर ज्यान दिएर लाग्नोस् । जनता तपाईंको पछाडि कसरी हिँड्छन् र चुनाव कसरी जितिन्छ, अनि बल्ल थाहा पाउनुहोला ।

हिजोको जस्तो ३५ वर्षको अवधियाँ लागेका ठेक्कामध्ये कतिपय काम सम्पन्न हुने त कुरै छाडौँ, कतिपय ठेक्का सम्झौताँ हुँदाँ नि कामै सुरु नभएर ती योजना अलपत्र छन् रे । हो, त्यस्तै हालत ऐल्या योजनाँ नि हुन दिनुभयो भने त तपाईंहरको फेरि नि खैरियत छैन ।

हैन, खरानेहरूले गर्या उटपट्याङ कामहरूलाई समेत सच्याएर जनताअगाडि झुटो नबोलेर जे हुने सत्य भन्देर गयो भने गगनजीको पार्टीका नि दिन आउलान् । हैन भने हिजोको आम चुनावाँ ल्याको मतभन्दा नि भारी मत, यानेकि ८० प्रतिशत मत ल्याएर खरानी ग्याङले स्थानीय निकाय नि कब्जा गर्छन् । अनि तिमरका देउबाका आशेपासेलाई लडाएर ठूलै युद्ध जित्छु भन्ने सपनानि “गइल भैंस पानी मे” हुनेछ ।

त्यसैले गगनजी, चुनाव जित्नुभयो, सभापति हुनुभयो, तपाईंलाई भित्री दिलैदेखि बधाई छ । अनि हामी कर्णालीबासीले दिएको भोट र बधाईको गुन तिर्ने भए, रानीघाटमा बन्दै गरेको भेरी नदीको पुल, अनि भेरी–बबई डाइभर्सन आयोजना, चौकुने सिमेन्ट उद्योग, जीएमआरजस्ता विगतको तपाईंको सरकारले अलपत्र पार्देका योजनाहरू सम्पन्न गराउनतिर लाग्नोस् ।

जनताले नि थाहा पाऊन् कि माथिका योजना पूरा गराउन गगन त ज्यान छोडेर लागेकै हुन् । तब जनताले कांग्रेस अनि गगन भन्ने चिन्नेछन् र चुपचाप घण्टी छाप भन्नेहरू नि “चुपचाप रुखछाप” भन्दै हिँड्नेछन् ।

अनि दक्षिण अफ्रिकाका लागि नेल्सन मण्डेला जत्तिकै नेपालका लागि गगन थापाको नाम अन्ततः सम्मानित रूपमा लिइनेछ । यस्तो गर्न सक्नुहोला त ? अनि के साँच्चै कांग्रेस पार्टी एक नम्बरमा आउन सक्ला त ? यस्तो भयो भने ती पुराना दिन फर्केलान् ? अनि हाम्ले ती दिन देख्न पाम्ला ?

कांग्रेसीहरूमा चेतना भया !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.