काठमाडौँ, २७ असोजः आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत नेपालले ओमानलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको छ। जारी शृङ्खलामा नेपालको यो लगातार दोस्रो जित हो। नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो।
ओमानको अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६३ रन बनायो ।
नेपालको लागि रोहित पौडेलले ६७ बलमा ३ चौका र १ छक्काको मद्दतमा ६१ रनको अर्धशतकीय पारी खेले भने अर्जुन कुमालले ५९ बलमा ४ चौका प्रहार गर्दै ४० रन बनाए । त्यस्तै करण केसीले १६ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४० रन बनाए भने इशान पाण्डेले ५५ बलमा ४ चौका प्रहार गर्दै ३७ र दीपेन्द्र सिंह ऐरीले २२ रन जोडे ।
ओमानको लागि शाह फैसल, शकील अहमद, करण सोनवले समान दुई-दुई विकेट लिए भने हसनैन शाहको भागमा एक विकेट रह्यो । नेपालले दुएको दुई सय ६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटियो ।
ओमानका कप्तान विनायक शुक्लाले ८३ बलमा छ चौका र एक छक्कासहित ७७ रन बनाए। जय ओडेराले २५ र जतिन्दर सिंहले १८ रन जोडे। ओमानका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान तीन-तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले समान एक विकेट लिए । त्यसअघि शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई ४१ रनले पराजित गरेको थियो । ओमानको जितपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ भने नेपालको ध्यान अब एकदिवसीय मान्यतालाई जोगाउनेतर्फ रहेको छ ।
आइसिसी विश्व लिग २ मा ३४ खेल खेलेको नेपाल २८ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । यता क्यानडा ३४ खेलबाट २५ अङ्कसहित अङ्क तालिकाको सातौँमा झरेको छ । ३० खेल खेलेको ओमानले ३३ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा छ ।
नेपालले जारी शृङ्खलामा अब शनिबार क्यानडासँग खेल्नेछ।




प्रतिक्रिया राख्नुहोस्