‘हवाई फायर’ गरी हेरोइनसहित एक जना पक्राउ
प्रहरीले ‘हवाई फायर’ गरी खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले वीरगञ्ज महानगरपालिका–३१ बेगनाका ४१ वर्षीय बासुदिन मियाँलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।
ब्यूरोका सहप्रवक्ता जीवन निरौलाका अनुसार मियाँ रक्सौल नाका हुँदै काठमाडौँ उपत्यकामा लागूऔषध आपूर्ति गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई काठमाडौँको तारकेश्वर नगरपालिका–४ बाट पक्राउ गरिएको हो ।
तारकेश्वर नगरपालिका–४ मा शङ्कास्पद अवस्थामा भेटिएका मियाँलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेका थिए । त्यस क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनलाई नियन्त्रणमा लिएको सहप्रवक्ता निरौलाले बताउनुभयो ।
प्रहरीले मियाँका साथबाट ३०० ग्राम खैरो हेरोइन र एक थान मोबाइल फोन बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानअनुसार उनले विगत तीन महिनादेखि प्रतिपटक २०० ग्रामका दरले पाँच पटकसम्म काठमाडौँ उपत्यकामा खैरो हेरोइन आपूर्ति गरेका थिए । मियाँमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया राख्नुहोस्