विश्व भोकमरी सूचकाङ्कमा नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा
श्रीलङ्का पहिलो, नेपाल ७२औँ स्थानमा; भारत, पाकिस्तान र अफगानिस्तानको अवस्था ‘गम्भीर’
विश्व भोकमरी सूचकाङ्क (ग्लोबल हङ्गर इन्डेक्स–जीएचआई) सूचकाङ्कमा नेपाल १४.५ अङ्कसहित विश्वका १२२ देशमध्ये ७२औँ स्थानमा परेको छ। दक्षिण एसियामा श्रीलङ्का १०.२ अङ्कसहित पहिलो स्थानमा छ। नेपालको भोकमरीको अवस्था भने ‘मध्यम’ श्रेणीमा रहेको प्रतिवेदनले देखाएको छ।
सूचकाङ्कअनुसार दक्षिण एसियाका अन्य मुलुकमध्ये बङ्गलादेश १९.२ अङ्कसहित ८४औँ, भारत २४.१ अङ्कसहित १००औँ, पाकिस्तान २५.५ अङ्कसहित १०६औँ र अफगानिस्तान २८.६ अङ्कसहित १०८औँ स्थानमा छन्।
बङ्गलादेशको अवस्था पनि ‘मध्यम’ श्रेणीमा छ भने भारत, पाकिस्तान र अफगानिस्तानमा भोकमरीको अवस्था ‘गम्भीर’ श्रेणीमा रहेको छ।
यसअनुसार नेपालभन्दा अगाडि दक्षिण एसियामा श्रीलङ्का मात्रै छ। नेपालपछि बङ्गलादेश, भारत, पाकिस्तान र अफगानिस्तान छन्। भुटान र माल्दिभ्सलाई भने यस वर्षको सूचकाङ्कमा निश्चित श्रेणी प्रदान गरिएको छैन।
विश्व भोकमरी सूचकाङ्कले कुपोषण, पाँच वर्षमुनिका बालबालिकाको उमेरअनुसार उचाइ कम हुने अवस्था (पुड्कोपन), उचाइअनुसार तौल कम हुने अवस्था (ख्याउटेपन) र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरलाई आधार बनाएर भोकमरीको अवस्था मापन गर्छ। अङ्क कम हुनु भोकमरीको अवस्था तुलनात्मक रूपमा कम हुनु हो।
नेपालको सूचकाङ्क अङ्क सन् २०१८ मा १८.४ रहेकामा सन् २०२६ मा १४.५ मा झरेको छ। यसले दीर्घकालीन रूपमा भोकमरी घटाउने दिशामा सुधार भएको देखाउँछ। यद्यपि, ‘मध्यम’ श्रेणीमै रहनुले खाद्य सुरक्षा र पोषण सुधारका प्रयासलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखाउँछ।
दक्षिण एसियाको समग्र सूचकाङ्क अङ्क २४.० रहेको छ, जुन ‘गम्भीर’ श्रेणीमा पर्छ। विश्वको औसत अङ्क भने १८.१ छ र यसको अवस्था ‘मध्यम’ श्रेणीमा वर्गीकृत गरिएको छ। यसले दक्षिण एसियामा भोकमरी तथा कुपोषण न्यूनीकरण अझै चुनौतीपूर्ण रहेको देखाउँछ।
सूचकाङ्कको प्रतिवेदनले सन् २०२६ का नतिजालाई अघिल्ला सबै संस्करणका नतिजासँग सीधै तुलना गर्न नमिल्ने स्पष्ट पारेको छ। समयअनुसारको वैध तुलना गर्न सन् २०००, २००६, २०१२, २०१८ र २०२६ का तथ्याङ्क प्रयोग गर्न सकिने प्रतिवेदनमा उल्लेख छ।




प्रतिक्रिया राख्नुहोस्