आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई २८१ रनको लक्ष्य दिएको छ। नेपालका देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेपछि नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको हो।
आगामी वर्ष हुने एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावना गुमाइसकेको नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न यो खेल जित्नैपर्ने दबाब छ। त्यसैले ओमानविरुद्धको यो खेल नेपालका लागि निर्णायक बनेको छ।
ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ८० रन बनाए। उनले ८१ बलमा दुई चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ६२ बलमा तीन चौका र चार छक्काको मद्दतमा ६९ रन बनाए। ओपनर देव खनालले ६५ बलमा चार चौका र एक छक्कासहित ५७ रन जोडे।
नेपालले ९९ रन बनाउँदा तीन विकेट गुमाइसकेको अवस्थामा रोहित र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै चौथो विकेटका लागि १३९ रनको साझेदारी गरे। उनीहरूको साझेदारीले नेपाललाई बलियो योगफलतर्फ अघि बढाएको थियो।
तर, २३८ रनमा तीन विकेटको अवस्थामा रहेको नेपालले त्यसपछि लगातार विकेट गुमाउँदा अपेक्षाअनुसारको फिनिसिङ गर्न सकेन। यद्यपि, अन्त्यतिर बसिर अहमदले आक्रामक ब्याटिङ गर्दै सात बलमा दुई चौका र एक छक्कासहित १७ रन बनाए।
ओमानका लागि शाह फैसलले आठ ओभरमा ५७ रन खर्चेर पाँच विकेट लिए। जय ओडेराले तीन तथा समय श्रीवास्तवले दुई विकेट लिए।
शीर्ष ६ मा उक्लिने अवसर
लिग–२ को अंकतालिकामा शीर्ष ६ भित्र रहँदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपालले ओमानविरुद्ध जित निकाल्नैपर्ने अवस्था छ।
नेपालले शृंखलाका सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको थियो। तर, शनिबार क्यानडासँग पराजित भएपछि नेपालको शीर्ष ६ मा रहने सम्भावना दबाबमा परेको हो।
नेपाललाई हराएपछि क्यानडा ३६ खेलबाट २९ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको थियो। ३५ खेलबाट २८ अंक रहेको नेपाल भने सातौँ स्थानमा झरेको थियो।
अब ओमानलाई पराजित गर्न सके नेपाल पुनः छैटौँ स्थानमा उक्लिनेछ। त्यसैले २८१ रनको लक्ष्य रक्षा गर्न सक्नु नेपालका लागि विश्वकप लिग–२ को अभियानमा महत्त्वपूर्ण उपलब्धि हुनेछ।




प्रतिक्रिया राख्नुहोस्