सरकारी स्वामित्वको मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को आधिकारिक साझेदार बन्ने भएको छ।
नेपाल क्रिकेटको व्यावसायिक विकास, प्रतियोगिताको प्रवर्द्धन र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यसहित टेलिकमले एनपिएलसँग साझेदारी गर्न लागेको हो।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र नेपाल क्रिकेट सङ्घ (क्यान) का महाप्रबन्धक उत्सव ढुङ्गानाले कात्तिक १ गते आइतबार यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।
राष्ट्रिय स्तरमा लोकप्रिय हुँदै गएको क्रिकेट प्रतियोगितासँग जोडिएर टेलिकमले खेलकुदको प्रवर्द्धन तथा क्रिकेटको संस्थागत विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
सम्झौताका अवसरमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले कम्पनीले यसअघि पनि राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगितालाई सहयोग गर्दै आएको स्मरण गर्नुभयो।
उहाँले एनपिएलसँगको सहकार्यले देशमा क्रिकेटको संस्थागत विकास, खेलप्रतिको आकर्षण र प्रतियोगिताको लोकप्रियता बढाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुँदैछ। दसैँलगत्तै सुरु हुने प्रतियोगिताले नेपाली क्रिकेटका समर्थकलाई लामो समयसम्म प्रतिस्पर्धात्मक खेलको रोमाञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ।
आईसीसीको मान्यता, विदेशी स्टार खेलाडीको आकर्षण
यसपटकको एनपिएल नेपाली क्रिकेटका लागि अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा पनि हेरिएको छ। आईसीसीले अक्टोबर १६ मा प्रतियोगिताको तेस्रो संस्करणलाई औपचारिक मान्यता दिएसँगै यसको अन्तर्राष्ट्रिय पहिचान र विश्वसनीयता थप बलियो हुने अपेक्षा गरिएको छ।
यसअघि प्रतियोगितामा विदेशी खेलाडीको सहभागितासम्बन्धी स्वीकृतिको प्रतीक्षा भइरहेको थियो। आईसीसीको मान्यताले विश्व क्रिकेटका स्थापित खेलाडीलाई प्रतियोगितामा सहभागी गराउने बाटो थप सहज बनाएको छ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेटमा ख्याति कमाएका खेलाडीको सहभागिताले पनि दर्शकको आकर्षण बढाएको छ। अस्ट्रेलियाका पूर्व ओपनर डेभिड वार्नर काठमाडौं गोर्खाजबाट खेल्दैछन् भने वेस्ट इन्डिजका आक्रामक अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्समा आबद्ध भएका छन्।
वार्नरले अस्ट्रेलियाबाट एकदिवसीय र टी–२० विश्वकप जितेका छन् भने रसेल विश्वभरका विभिन्न फ्रेन्चाइज टी–२० प्रतियोगितामा खेलिसकेका अनुभवी खेलाडी हुन्।
यसैगरी, एनपिएलका विभिन्न टोलीमा अन्य देशका चर्चित खेलाडी पनि आबद्ध भएका छन्। यस्ता खेलाडीको उपस्थितिले नेपाली खेलाडीलाई उच्चस्तरको प्रतिस्पर्धा अनुभव गर्ने, खेल रणनीति सिक्ने र आफ्नो क्षमता निखार्ने अवसर मिल्नेछ।
विदेशी खेलाडी र नेपाली प्रतिभाबीचको प्रतिस्पर्धाले प्रतियोगिताको स्तर उकास्नुका साथै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एनपिएलमा आठ फ्रेन्चाइज टोली सहभागी हुँदैछन्। कात्तिक १० अर्थात् अक्टोबर २६ देखि सुरु हुने प्रतियोगिताको फाइनल मङ्सिर ५ अर्थात् नोभेम्बर २१ मा हुनेछ। सबै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन गर्ने तालिका छ।
नेपाल टेलिकमजस्तो सरकारी स्वामित्वको ठूलो संस्थाको सहभागिताले एनपिएलको व्यावसायिक प्रवर्द्धनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
खेलकुद प्रतियोगितामा निजी तथा सरकारी क्षेत्रको लगानी र सहकार्य बढ्दा प्रतियोगिताको व्यवस्थापन, प्रचारप्रसार र दर्शकसम्म पहुँच विस्तार गर्न मद्दत पुग्न सक्छ।
नेपाल टेलिकम र क्यानबीचको साझेदारीले तेस्रो संस्करणको एनपिएललाई थप व्यवस्थित र आकर्षक बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ। आईसीसीको मान्यता र अन्तर्राष्ट्रिय खेलाडीको सहभागितासँगै प्रतियोगिताले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउने अवसर पाएको छ।




प्रतिक्रिया राख्नुहोस्