युरोपभर महँगी र अव्यवस्थाविरुद्ध प्रदर्शन, फ्रान्सको पर्यटनमा असर पर्ने चिन्ता
जीवनयापनको बढ्दो लागत, महँगो आवास, कमजोर सार्वजनिक सेवा र शिक्षा क्षेत्रमा पर्याप्त लगानी नभएको भन्दै युरोपका विभिन्न मुलुकमा विरोध प्रदर्शन चर्किएका छन्।
फ्रान्समा प्रदर्शनका क्रममा हिंसा र तोडफोड भएपछि पर्यटन क्षेत्रमा असर पर्ने चिन्ता बढेको छ भने ग्रीसमा विद्यार्थी र शिक्षकले शिक्षा तथा आवासको समस्या समाधान गर्न माग गर्दै प्रदर्शन गरेका छन्।
अक्टोबर महिनामा फ्रान्स, इटाली, बेल्जियम, पोर्चुगल, स्पेन, अल्बानिया र ग्रीसलगायतका मुलुकमा भएका प्रदर्शनका माग र स्वरूप फरक भए पनि बढ्दो महँगी, आवासको अभाव र सार्वजनिक सेवाको कमजोर अवस्थाप्रति असन्तुष्टि साझा विषय बनेको छ।
फ्रान्समा हिंसा बढ्दा पर्यटन व्यवसायी चिन्तित
फ्रान्सका विभिन्न सहरमा भएका प्रदर्शनका क्रममा आगजनी, लुटपाट र सार्वजनिक सम्पत्तिमा तोडफोडका दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलिएका छन्। यसले फ्रान्सको पर्यटन छविमा असर पार्ने र पर्यटकको आगमन घट्न सक्ने चिन्ता बढाएको छ।
फ्रान्सका पर्यटन संस्थाहरूको छाता सङ्गठन ‘एडिएन टुरिजम’की प्रमुख क्रिस्टेल कासाग्नेले निस, पेरिस र लियोनजस्ता प्रमुख सहरमा देखिएको हिंसालाई पर्यटन क्षेत्रका लागि गम्भीर चुनौती बताउनुभयो। पर्यटक होटलमा बसेर रमाइलो गर्न आउने भएकाले हिंसाका कारण होटलभित्रै सीमित हुनुपर्ने अवस्था स्वीकार्य नहुने उहाँको भनाइ छ।
परामर्श तथा अनुसन्धान संस्था ‘प्रोटुरिजम’का प्रमुख डिडियर अरिनोका अनुसार पेरिस, लियोन र मार्सेमा होटल बुकिङ रद्द हुने क्रम बढेको छ।
पेरिसको केन्द्रमा भएको एक दिनको दङ्गापछि होटल बुकिङ रद्द हुने दरमा करिब एक प्रतिशतले वृद्धि भएको उहाँले बताउनुभयो। हिंसा छोटो समयमै नियन्त्रणमा आए ठूलो क्षति नहुन सक्ने भए पनि महिनौँसम्म जारी रहे पर्यटन क्षेत्रले गम्भीर आर्थिक क्षति बेहोर्नुपर्ने उहाँको चेतावनी छ।
होटलसम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने संस्था ‘एमकेजी कन्सल्टिङ’का अनुसार पेरिसका होटलमा आगामी छ साताका लागि हुने बुकिङको प्रवृत्तिमा पनि गिरावट देखिएको छ।
अक्टोबर १९ र २० मा गरिएको विश्लेषणअनुसार अक्टोबर २० देखि २९ सम्मको बसाइका लागि अघिल्लो वर्षको तुलनामा देखिएको बुकिङको अग्रता एक प्रतिशत बिन्दुबाट घटेर शून्य दशमलव दुई प्रतिशत बिन्दुमा झरेको थियो।
अक्टोबर २० देखि २५ सम्मको बसाइका लागि पनि यस्तो अग्रता तीन दशमलव पाँचबाट घटेर एक दशमलव नौ प्रतिशत बिन्दुमा पुगेको थियो।
फ्रान्सले वार्षिक करिब १० करोड पर्यटकलाई स्वागत गर्दै पर्यटनबाट ७० अर्ब युरोभन्दा बढी आम्दानी गर्ने गरेको छ। लामो दूरीबाट आउने पर्यटकले तुलनात्मक रूपमा बढी खर्च गर्ने भएकाले उनीहरूको आगमन घट्दा होटल व्यवसायसँगै समग्र पर्यटन आम्दानीमा असर पर्न सक्छ।
संयुक्त राज्य अमेरिका, चीन र जर्मनीलगायतका मुलुकले आफ्ना नागरिकका लागि यात्रा सल्लाह जारी गरेपछि बुकिङमा थप दबाब परेको पर्यटन व्यवसायीहरूको भनाइ छ। हिंसाको अवस्था आगामी दिनमा कस्तो रहन्छ भन्ने कुराले पर्यटकको निर्णय र फ्रान्सको पर्यटन क्षेत्रको आर्थिक क्षति निर्धारण गर्ने देखिएको छ।
ग्रीसमा विद्यार्थी र शिक्षक सडकमा
यसैबीच, बढ्दो महँगी, विद्यार्थीका लागि किफायती आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै बुधबार ग्रीसको राजधानी एथेन्ससहित विभिन्न सहरमा हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
थेसालोनिकी र पात्रासलगायतका सहरमा पनि प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले शिक्षा क्षेत्रमा लगानी बढाउन, विद्यार्थीका लागि सस्तो आवासको व्यवस्था गर्न र जीवनयापनको बढ्दो लागतबाट राहत दिन सरकारसँग माग गरेका छन्।
एथेन्समा प्रदर्शनकारीले ‘ग्रीसदेखि फ्रान्ससम्म, शिक्षामा लगानी बढाऊ’ भन्ने नारासहितका ब्यानर बोकेका थिए। केहीले ‘पढ्ने कि बाँच्ने?’ लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।
इन्जिनियरिङका २० वर्षीय विद्यार्थी पानागियोटिस मोस्कोनासले सरकारले विद्यार्थीलाई जीवनयापनको बढ्दो लागतबाट जोगाउन पर्याप्त सहयोग नगरेको बताउनुभयो। सरकारले घोषणा गरेको मासिक १२० युरोको आवास अनुदानले आधा भाडासमेत तिर्न नपुग्ने र उक्त रकम वर्षको अन्त्यमा मात्र उपलब्ध हुने उहाँको भनाइ छ।
शिक्षकहरूले पनि विद्यालयको अवस्था बिग्रँदै गएको र पारिवारिक खर्च धान्न कठिन भएको भन्दै हडताल गरेका छन्। शिक्षक इओनिस रोम्पसले बढ्दो महँगी र विद्यालयमा देखिएका समस्याका कारण शिक्षकहरू हडतालमा उत्रिन बाध्य भएको बताउनुभयो।
प्रदर्शनका क्रममा सम्भावित हिंसा रोक्न प्रहरीले निगरानी बढाएको थियो। विगतका प्रदर्शनमा हिंसा भएका घटनालाई ध्यानमा राख्दै जुलुस मार्गमा पर्ने केही पसल र क्याफेले आफ्ना झ्यालको सुरक्षाका लागि स्टिलका सटर बन्द गरेका थिए।
इटालीदेखि स्पेनसम्म फरक मागमा प्रदर्शन
युरोपका अन्य मुलुकमा पनि आर्थिक दबाब र सार्वजनिक सेवासम्बन्धी असन्तुष्टिले प्रदर्शन चर्काएको छ। अक्टोबर १७ मा फ्रान्स, इटाली, बेल्जियम र पोर्चुगलमा भएका प्रदर्शनमध्ये केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।
इटालीको मिलानलगायतका सहरमा महँगी र सार्वजनिक सेवासम्बन्धी असन्तुष्टिका बीच प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। केही स्थानमा पसलमा लुटपाट तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ। इन्धनको मूल्यवृद्धिविरुद्ध ट्रक चालकहरूले गरेको आन्दोलनले पनि देशका विभिन्न भागमा सामान ढुवानी प्रभावित पारेको छ।
बेल्जियमको ब्रसेल्स र लिजमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। त्यहाँ विद्यार्थीहरूले शिक्षा खर्च र विद्यालयको अवस्थालाई लिएर पनि विरोध गर्दै आएका छन्। केही प्रदर्शन नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ।
पोर्चुगलमा न्यून ज्याला, महँगो आवास, बढ्दो भाडा र पेन्सनको विषयलाई लिएर प्रदर्शन भएका छन्। राजधानी लिस्बनमा प्रदर्शनकारीले आवासको पहुँच सहज बनाउन र दैनिक जीवनको खर्च घटाउन माग गरेका छन्।
स्पेनमा पनि महँगो आवास र भाडावृद्धिविरुद्ध प्रदर्शन भएका छन्। कतिपय स्थानमा घरको अभाव र विस्थापनको विरोधमा प्रदर्शनकारीले अस्थायी शिविरसमेत खडा गरेका छन्।
अल्बानियामा भने भ्रष्टाचारको आरोप, कमजोर सार्वजनिक सेवा र जीवनयापनको लागतलाई लिएर सरकारविरुद्ध प्रदर्शन भइरहेका छन्। राजधानी तिरानामा भएका केही प्रदर्शन हिंसात्मक बनेका छन्।
महँगी र भविष्यप्रतिको अनिश्चितता मुख्य कारण
विश्लेषकहरूका अनुसार युरोपका सबै प्रदर्शन एउटै आन्दोलनका हिस्सा होइनन्। प्रत्येक देशमा असन्तुष्टिका कारण र राजनीतिक परिस्थिति फरक छन्। तर खाद्यान्न, इन्धन र आवासको बढ्दो मूल्य, ज्यालाको तुलनामा खर्च बढ्नु, शिक्षा तथा स्वास्थ्यजस्ता सार्वजनिक सेवामा दबाब र युवाका लागि सीमित अवसरले असन्तुष्टि बढाएको छ।
विशेषगरी विद्यार्थी र युवा वर्गले शिक्षा र आवासको खर्च धान्न कठिन भएको तथा भविष्यप्रति अनिश्चितता बढेको गुनासो गर्दै आएका छन्। शिक्षक र श्रमिक सङ्गठनले पनि सार्वजनिक सेवामा लगानी बढाउन, ज्याला सुधार गर्न र दैनिक खर्चको दबाब घटाउन माग गरेका छन्।
युरोपका विभिन्न मुलुकमा भइरहेका प्रदर्शनले सरकारहरूलाई महँगी नियन्त्रण, आवासको पहुँच र सार्वजनिक सेवाको गुणस्तर सुधार गर्न दबाब बढाएको छ। फ्रान्समा भने हिंसा लम्बिएमा सामाजिक असन्तुष्टिको प्रभाव पर्यटन र अन्य आर्थिक क्षेत्रमा समेत गहिरिन सक्ने चिन्ता बढेको छ।




प्रतिक्रिया राख्नुहोस्