चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित नाग्छु सहरको बाकेन काउन्टीमा ७ म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
चिनियाँ समयअनुसार बिहीबार राति १०ः३३ बजे गएको भूकम्पबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्न विद्यालय परिसरमा अस्थायी पाल टाँग्न थालिएको छ। शुक्रबार, अक्टोबर २३ का दिन बाकेन काउन्टीको एक प्राथमिक विद्यालयमा भूकम्पपीडितका लागि पालको व्यवस्था गरिएको सिन्ह्वाले जनाएको छ।
नाग्छु सहरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ।
क्षेत्रीय आपत्कालीन कमान्ड केन्द्रका अनुसार सिजाङमा दोस्रो तहको भूकम्प विपद् आपत्कालीन प्रतिक्रिया सक्रिय पारिएको छ। भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण सङ्कलन भइरहेको छ।
भूकम्पका कारण ३३९ वटा घर भत्किएका वा क्षतिग्रस्त भएका छन् । उद्धारकर्मीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ ।
चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी)ले सार्वजनिक गरेको दृश्यमा भूकम्पपछि मानिसहरू रेस्टुरेन्टबाट बाहिर निस्किएको र सुपरमार्केटका सामानहरू दराजबाट खसेको देखिएको छ । उद्धारकर्मीहरूले क्षतिग्रस्त भवनमा खोजी गर्नुका साथै घाइतेहरूलाई सुरक्षित स्थानमा पुर्याइरहेका छन् ।
अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र नागकुबाट करिब १९० किलोमिटर पूर्व–उत्तरपूर्व र क्षेत्रीय राजधानी ल्हासाबाट ३९० किलोमिटर उत्तरपूर्वमा थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो ।
भूकम्पको केन्द्र बाकेन काउन्टीको मारु बस्तीमा परेको सिन्ह्वाले जनाएको छ । बस्तीका उपप्रमुख लावाङ डाग्पोले भूकम्पको धक्का कार्यालयमा स्पष्ट रूपमा महसुस भएको र भवनका पर्खालमा चिरा परेको बताउनुभएको छ । भूकम्पपछि काउन्टीको सदरमुकाममा विद्युत् तथा दूरसञ्चार सेवा अवरुद्ध भएको छ ।
सिसिटिभीका अनुसार प्रभावित क्षेत्रमा तेस्रो तहको भूकम्पीय विपद् आपत्कालीन प्रतिक्रिया सक्रिय पारिएको छ । उद्धारका लागि ३०० भन्दा बढी प्रहरी अधिकारी र क्षेत्रीय अग्नि तथा उद्धार टोलीका ३४७ जना कर्मचारी परिचालन गरिएको सिन्ह्वाले जनाएको छ । उद्धारकर्मीहरूले क्षतिग्रस्त भवनभित्र खोजी गरिरहेका छन् भने थप उद्धारका लागि सैनिक परिचालन गर्ने तयारी गरिएको छ ।
चीनमा भूकम्प जाने घटना तुलनात्मक रूपमा सामान्य मानिन्छ । यसअघि सन् २०२५ को जनवरीमा तिब्बतको टिङ्गरी काउन्टीमा गएको भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको थियो । सन् २०२३ को डिसेम्बरमा उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा गएको भूकम्पमा कम्तीमा १२७ जनाको मृत्यु भएको थियो ।
सन् २०१४ मा दक्षिणपश्चिमी युन्नान प्रान्तमा गएको भूकम्पमा ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । त्यस्तै, सन् २००८ मा सिचुआन प्रान्तमा गएको विनाशकारी भूकम्पमा करिब ९० हजार मानिसको मृत्यु भएको वा बेपत्ता भएका थिए । तीमध्ये करिब पाँच हजार विद्यार्थी थिए ।




प्रतिक्रिया राख्नुहोस्