एनआरएनएका एनसीसी पदाधिकारीको क्षमता अभिवृद्धिका लागि रणनीतिक कार्यशाला
गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का पदाधिकारीहरूको नेतृत्व, रणनीतिक योजना निर्माण तथा संस्थागत व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने रणनीतिक कार्यशाला सुरु भएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), गैरआवासीय नेपाली संघ र स्विस सरकारको सहकार्यमा ‘माइग्रेन्ट राइट्स एन्ड डिसेन्ट वर्क’ परियोजनाको दोस्रो चरणअन्तर्गत आयोजित ‘स्ट्राटेजिक क्यापासिटी बिल्डिङ वर्कसप’ अक्टोबर २८ देखि ३०, २०२६ सम्म सञ्चालन हुनेछ।
कार्यशालामा एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) की उपाध्यक्ष रोजिना प्रधान राई, कोषाध्यक्ष कृष्ण तिमल्सिना, सचिव दीपेश खत्री, युरोप क्षेत्रीय महिला उपसंयोजक किरण सिग्देल तथा राधासहित विभिन्न राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी र संघको सचिवालयका कर्मचारी सहभागी छन्। एनसीसी यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी पनि कार्यशालामा सहभागी छन्।
कार्यशालाको मुख्य उद्देश्य सहभागीहरूको नेतृत्व क्षमता, रणनीतिक योजना निर्माण, संस्थागत व्यवस्थापन र कार्यसम्पादन क्षमता अभिवृद्धि गर्नु रहेको छ।
कार्यशालामार्फत सहभागीलाई संस्थाको उद्देश्यअनुरूप प्रभावकारी योजना बनाउन, त्यसको कार्यान्वयन गर्न तथा संस्थागत जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न आवश्यक ज्ञान र सीप प्रदान गरिनेछ।
कार्यशालाले राष्ट्रिय समन्वय परिषद्हरूको संस्थागत प्रभावकारिता बढाउन, पदाधिकारी र सचिवालयबीचको समन्वय सुदृढ गर्न तथा संघका उद्देश्य र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया राख्नुहोस्