एन आर एन न्युज

बागलुङ र पर्वतका ९८ बाढीपीडित परिवारलाई एनआरएनएको राहत

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढीबाट प्रभावित बागलुङ र पर्वतका ९८ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ। एनआरएनएले बागलुङको निसीखोला गाउँपालिकाका ६८ र पर्वतको जलजला गाउँपालिकाका ३० घरपरिवारलाई राहत सामग्री उपलब्ध गराएको हो।

बाढीका कारण निसीखोला जाने मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरी करिब सात घण्टाको यात्रा गरेर राहत टोली प्रभावित क्षेत्रमा पुगेको थियो।

बुटवल–पाल्पा–रिडी–वामीटक्सार–बुर्तिबाङ हुँदै निसीखोला पुगेको टोलीले स्थानीय बाढी प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको हो। एनआरएनएका उपाध्यक्ष एवं विपद् व्यवस्थापन समितिका संयोजक मनोजकुमार श्रेष्ठ र प्रवक्ता सोम सापकोटाको उपस्थितिमा वडा अध्यक्ष सूर्यबहादुर घर्तीको समन्वयमा राहत वितरण गरिएको थियो।

त्यसैगरी, पर्वतको जलजला गाउँपालिका–४, ७ र ८ अन्तर्गत फर्से, ताङमाङ र लामाखेत क्षेत्रमा पुगेर ३० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको एनआरएनएले जनाएको छ। जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यको समन्वयमा प्रभावित परिवारलाई राहत हस्तान्तरण गरिएको हो।

प्रभावित परिवारको तत्कालीन आवश्यकता ध्यानमा राखेर दुवै स्थानमा त्रिपाल, म्याट, ब्ल्याङ्केट, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीसहितको राहत प्याकेज वितरण गरिएको थियो।

प्रति परिवार एक थान त्रिपाल, एक थान म्याट, एक थान ब्ल्याङ्केट, सामान राख्ने एक थान बाल्टिन र एक थान मग वितरण गरिएको थियो। त्यस्तै, २५ किलो चामल, पाँच किलो दाल, दुई लिटर खाने तेल, दुई किलो नुन, ५०० ग्राम मसला तथा साबुन, मञ्जन र ब्रससहितका दैनिक उपभोग्य सामग्रीसमेत उपलब्ध गराइएको थियो।

काजक्रिया सकेका थप चार परिवारलाई सहयोग

भोटेकोशी नदीको बाढीमा आफन्त गुमाएका र काठमाडौंका विभिन्न क्रियाघरमा काजक्रिया सम्पन्न गरी हाल कोठा भाडामा लिएर बसिरहेका थप चार प्रभावित परिवारलाई पनि एनआरएनएले राहत सामग्री उपलब्ध गराएको छ।

एनआरएनए सचिवालयबाट ती परिवारलाई ग्यास सिलिन्डर, भाँडाकुँडा, खाद्यान्नलगायतका सामग्री वितरण गरिएको हो। यसअघि पनि बाढी प्रभावित ४४ परिवारलाई सोही परिमाणमा राहत सामग्री उपलब्ध गराइएको एनआरएनएले जनाएको छ।

रसुवाको राहत टोली प्राविधिक समस्याले रोकियो

यसैबीच, रसुवाका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गर्न जाने तयारीमा रहेको एनआरएनएको टोली प्राविधिक समस्याका कारण रोकिएको छ। सुवाका ७५ बाढी प्रभावित घरपरिवारलाई राहत सामग्री वितरण गर्ने योजना रहेको एनआरएनएले जनाएको छ।

स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित परिवारको पहिचान र राहत वितरणको तयारी गरिएको संघले जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.