काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले पहिलो जित हासिल गरेको छ । बिहीबार भएको पहिलो खेलमा काठमाण्डु गोर्खाजलाई आठ विकेटले पराजित गर्दै जनकपुरले प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाण्डुले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय १५ रन बनायो । काठमाण्डुका लागि भीम सार्कीले २९ बल खेल्ने क्रममा ४ चौकासहित सर्वाधिक ३३ रन जोडे ।
यस्तै, राशिद खानले १७ रन जोड्दा स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ जनकपुरका लागि राहुल यादवले चार ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिए भने सैफ हसनले दुई विकेट लिँदा कप्तान हरमित सिंह, ललितनारायण राजवंशी र मोइन अलीले समान एक-एक विकेट लिए ।
जारी प्रतियोगितामा जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो । यस्तै काठमाण्डु आफ्नो पहिलो खेल खेलेको हो । काठमाण्डुले दिएको एक सय १६ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको जनकपुरले १७ दशमलव २ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
जनकपुरको लाही मोइन अलीले ५१ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अविजिर रहँदै ५८ रनको अर्धशतकीय पारी खेले भने सैफ हसनले 39 बलमा १ चौका र ३ छक्काको मद्दतमा ४० रन बनाए । बलिङतर्फ काठमाण्डुको लागि रिपों मोनडोलले एक विकेट लिए |
प्रतियोगिताअन्तर्गत आजै अर्को खेल विराटनगर किङ्स र कर्णाली याक्सबीच अपरान्ह ५ः०० बजे सुरु हुनेछ । आगामी मङ्सिर ५ गतेसम्म जारी रहने यस प्रतियोगितामा आठ टोली सहभागी छन् ।




प्रतिक्रिया राख्नुहोस्