राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले लगातार तेस्रो हार बेहोरेको छ । शुक्रबार भएको दोस्रो खेलमा पोखरा चितवन राइनोजसंग ३० रनले पराजित भएको हो।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १५१ रन बनायो । चितवनका लागि कप्तान सिकन्दर राजाले सर्वाधिक ३७ रन बनाए भने रवि बोपाराले ३५ रन जोडे ।
त्यस्तै अर्जुन साउदले ३१ रन जोड्दा डेविड मलानले २८ र कुशल मल्लले ११ रन बनाए । बलिङतर्फ पोखराका विपिन खत्री, कुशल भुर्तेल र चमिका करुणारत्नेले समान दुई–दुई विकेट लिए । चितवन राइनोजले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा सबै विकेट गुमाएर १२१ रनमा अलआउट भयो ।
पोखराका लागि अर्जुन कुमालले ४४ बलमा ३ चौका १ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए भने युवराज सम्राले १९ रन जोडे । यस्तै किरण ठगुन्ना र अर्जुन घर्तीले समान १२-१२ रन जोड्नु बाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जितसंगै चितवन चार खेलमा ५ अंकसहित तेस्रो स्थानमा उक्लेकोछ भने अंकविहीन पोखरा पुछारमा रहेको छ । यसअघि शुक्रबारै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको थियो ।




प्रतिक्रिया राख्नुहोस्