राज्शानिमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाण्डु गोर्खाजले चौथो जित निकालेको छ । सोमबार भएको दिनको दोस्रो खेलमा काठमाण्डुले चितवन राइनोजलाई १० रनले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डुले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनाएको थियो ।
काठमाण्डुका लागि रशिद खानले अर्धशतकीय पारी खेले । उनले आज ३० बलमा चार छक्का र दुई चौकासहित ५२ रनको पारी खेलेका हुन् । जारी एनपिएलमा रशिदको यो दोस्रो अर्धशतक हो ।
त्यस्तै सहान अराच्चिगेले ३३ रन जोड्दा विलियम बोसिस्टोले २७ र कप्तान करण केसीले २० रन जोडे । चितवनका लागि बलिङतर्फ रिजन ढकालले तीन विकेट लिए भने सिकन्दर रजा र कमलसिंह ऐरीले समान दुई-दुई विकेट लिँदा डान मोस्लीको भागमा एक विकेट रह्यो । काठमाण्डुले दिएको १८१ रनको चुनौतीपूर्ण लक्ष्य लियर मैदान उत्रेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर मात्र १७० रन बनाउन सक्यो ।
काठमाण्डुले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाएर १७० रन बनाउन सक्यो । चितवनका लागि रवि बोपाराले ३५ बल खेल्दै २ चौका र ३ छक्काको मद्दतमा ५५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै डान मोस्लीले २९ रन जोड्दा किमल मिसराले २८ र अर्जुन साउदले २३ र कुशल मल्लले १३ रन बनाए ।
बलिङमा काठमाण्डुका सहान अराचिगेले दुई विकेट लिते भने तथा जहानदाद खान, कप्तान करण केसी, सन्तोष यादव र गणेश गौतमको भागमा समान एक-एक विकेट रह्यो ।
जितसंगै काठमाण्डु ५ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा ५ अंक जोडेको चितवन चौथो स्थानमा रहेको छ । यसअघि सोमबारै भएको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले ६३ रनको जित निकालेको थियो ।




प्रतिक्रिया राख्नुहोस्