संस्कृति

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

नेपाली मौलिक देउसी–भैलोको संरक्षण र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजित प्रतियोगितामा ‘पुन समाज पोखरा’ च्याम्पियन बनेको छ ।

पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिकाको पर्यटन प्रवद्र्धन शाखा र पब्लिक फोरके टेलिभिजनको संयुक्त आयोजनामा पोखरा–६ लेकसाइडस्थित गौरीघाटमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा सहभागी ११ समूहलाई पछि पार्दै पुन समाज पोखरा प्रथम भएको हो । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति गरेको पुन समाजले नगद रु २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

नेपाली चाडपर्वसँग जोडिएका मौलिक कला, संस्कृति र परम्परा आधुनिकताका कारण ओझेलमा पर्दै गइरहेका बेला आयोजित प्रतियोगिताले पुरानो पुस्ताबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको सन्देश दिएको छ । प्रतियोगितामा सहभागी समूहले परम्परागत वेषभूषा, मौलिक भाका, शब्द, लय र तालमार्फत देउसी–भैलो प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा सहभागी समूहको मूल्याङ्कन मौलिकता, परम्परागत भाका, शब्द, लय, ताल, भेषभूषा र सांस्कृतिक प्रस्तुतिका आधारमा गरिएको थियो । मुख्य निर्णायक पोखरा प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति पद्मराज ढकाल रहनुभएको थियो ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले नेपाली मौलिक कला, संस्कृति र परम्परा पछिल्लो समय ओझेलमा पर्दै गएको उल्लेख गर्दै यसको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न यस्ता प्रतियोगिता प्रभावकारी हुने उहाँको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले मौलिक देउसी–भैलोको संरक्षणसँगै पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले नेपाली चाडपर्व र सांस्कृतिक परम्परालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सके पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने धारणा राख्नुभयो ।

प्रतियोगितामा सहभागी सबै समूहलाई नेपाली परम्पराअनुसार दानदक्षिणासहित बिदाइ गरिएको थियो । आयोजकका अनुसार प्रत्येक समूहलाई चामल, फलफूल, सेलरोटी, नगद रु पाँच हजार ५५५ र प्रमाणपत्र प्रदान गरिएको थियो ।

पोखरा पर्यटन परिषद्का महासचिव मिलन तिवारीले प्रतियोगितामा स्थानीय समूहका साथै स्वदेशी तथा विदेशी पर्यटकको समेत उल्लेख्य सहभागिता रहेको बताउनुभयो । मौलिक देउसी–भैलो विदेशी पर्यटकका लागि नेपाली संस्कृति बुझ्ने र प्रत्यक्ष अनुभव गर्ने नयाँ अवसर बनेको उहाँको भनाइ थियो ।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले मौलिक संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनलाई एकसाथ जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । पोखरालाई प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न यस्ता कार्यक्रमले सहयोग पुर्याउने उहाँले उल्लेख गर्नुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.