जापान

जापानमा ह्यारी पोटर थिमको विशेष रेल सञ्चालनमा

जापानको दक्षिणपश्चिमी क्षेत्र क्युशुमा शनिबारदेखि विश्वप्रसिद्ध ‘ह्यारी पोटर’ चलचित्र शृङ्खलामा आधारित विशेष रेल सीमित अवधिका लागि सञ्चालनमा आएको छ। क्युशुका विभिन्न सहर तथा स्थान जोड्ने यो रेल यात्रामार्फत यात्रुले ह्यारी पोटरको जादुमयी संसारको अनुभव गर्न पाउनेछन्।

जापानको फुकुओका प्रान्तस्थित हाकाता रेल स्टेसनमा सन् २०२६ नोभेम्बर १४ (शनिबार) आयोजित समारोहमा क्युशु रेलवे कम्पनीले सञ्चालन गरेको ह्यारी पोटर थिममा सजाइएको विशेष एक्सप्रेस रेल ‘म्याजिकल जर्नी’लाई प्रस्थान सङ्केत दिँदै प्राथमिक विद्यालयका विद्यार्थीहरू।

क्युशु रेलवे कम्पनी (जेआर क्युशु) ले सञ्चालन गरेको ‘म्याजिकल जर्नी’ नामक विशेष एक्सप्रेस रेलको औपचारिक शुभारम्भ समारोह फुकुओका प्रान्तस्थित हाकाता स्टेसनमा आयोजना गरिएको थियो। ह्यारी पोटर शृङ्खलासँगको सहकार्यमा सुरु गरिएको यो विशेष अभियान आगामी जुन महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ।

उद्घाटन समारोहमा ११ वर्ष उमेरका चार जना प्राथमिक विद्यालयका विद्यार्थी जादुगरले लगाउने पोसाकमा सजिएर र हातमा जादुको छडी बोकेर सहभागी भएका थिए।

ह्यारी पोटर कथाको मुख्य पात्र ह्यारीले जादु तथा तन्त्रमन्त्रसम्बन्धी विद्यालय हगवार्ट्समा प्रवेश गर्दा ११ वर्षकै उमेर भएको सन्दर्भलाई ध्यानमा राखेर उनीहरूलाई सहभागी गराइएको थियो।

छ वटा डिब्बा रहेको उक्त रेललाई ह्यारी पोटर चलचित्रमा देखाइने हगवार्ट्स विद्यालय र त्यसको प्रसिद्ध किल्लाको चित्रसहित विशेष रूपमा सजाइएको छ। रेलको बाहिरी तथा भित्री सजावटले यात्रुलाई चलचित्रको जादुमयी संसारको अनुभूति गराउने उद्देश्य राखिएको छ।

शनिबारदेखि सञ्चालनमा आएको रेलले हाकाता स्टेसनदेखि ओइता र किताक्युशुको मोजिको जोड्ने मार्गलगायत क्युशु क्षेत्रका विभिन्न रेलमार्गमा सेवा दिनेछ। यसले सागा प्रान्तस्थित हिजेनकाशिमा स्टेसन जोड्ने मार्गमा समेत यात्रु ओसार्नेछ।

रेलवे सञ्चालक जेआर क्युशुका अनुसार आगामी जनवरीको मध्यदेखि हाकाता र मियाजाकी विमानस्थल जोड्ने मार्गलगायत अन्य क्षेत्रमा पनि यो विशेष रेल सञ्चालन गरिनेछ। यसरी अभियानलाई क्रमशः क्युशुका थप रेलमार्गमा विस्तार गर्ने योजना कम्पनीले बनाएको छ।

अभियान अवधिभर ह्यारी पोटरसम्बन्धी विशेष सामग्री तथा स्मृति वस्तु बिक्री गरिनेछ। त्यसैगरी, यात्रुहरूलाई विभिन्न रेल स्टेसनमा पुगेर विशेष छाप सङ्कलन गर्न प्रोत्साहित गर्ने ‘स्ट्याम्प र्‍याली’ कार्यक्रम पनि आयोजना गरिनेछ।

समाचार र तस्वीर स्रोत क्योदो न्यूज

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.