तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको लिग चरण सकिएको छ । आइतबार सम्पन्न दुई खेलको नतिजासँगै प्रतियोगिताको पहिलो चरण पूरा भएको हो । लिग चरणका खेल सकिँदा चार टोलीले ‘प्लेअफ’मा स्थान सुरक्षित गरेका छन् भने चार टोलीको उपाधि यात्रामा पूर्णविराम लागेको छ ।
यसपटकको एनपिएलमा केही टोलीले सुरुआतदेखि नै सन्तुलित प्रदर्शन गर्दै आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरे । केही टोलीले भने अपेक्षाअनुसारको लय समात्न सकेनन् ।
‘ब्याटिङ’ र ‘बलिङ’ दुवैमा प्रभावशाली देखिएका टोलीले लिग चरणमा आफ्नो वर्चस्व कायम गर्दा कमजोर प्रदर्शन गर्ने टोली भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
लिग चरणको प्रदर्शनका आधारमा सर्वाधिक सफल टोलीको सूचीमा लुम्बिनी लायन्स शीर्ष स्थानमा रह्यो । रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले सात खेलमध्ये पाँचमा जित, एकमा हार तथा एक खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो । यससँगै उसले सर्वाधिक ११ अङ्क जोड्दै अङ्क तालिकाको पहिलो स्थानमा रहेर लिग चरणको अन्त्य ग¥यो ।
गत संस्करणको उपाधि विजेता पनि रहेको लुम्बिनीले यसपटक पनि आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको छ । टोलीले सुरुआतदेखि नै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्दै आफूलाई उपाधि रक्षाको बलियो दाबेदारका रूपमा उभ्याएको छ ।
कप्तान रोहितको नेतृत्वमा रहेको टोलीले ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलन कायम राख्नु उसको सफलताको महत्त्वपूर्ण आधार बन्यो । अब लुम्बिनीको लक्ष्य प्लेअफमा समेत यही लयलाई निरन्तरता दिँदै लगातार दोस्रोपटक उपाधि जित्ने हुनेछ ।
लगातार दुई संस्करणको फाइनल खेलेको सुदूरपश्चिम रोयल्सले पनि यसपटक आफ्नो बलियो उपस्थिति कायम राखेको छ । दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिमले सात खेलमध्ये पाँचमा जित र दुईमा हार व्यहोर्दै १० अङ्क जोड्यो । ऊ अङ्क तालिकाको दोस्रो स्थानमा रह्यो ।
सुदूरपश्चिमका लागि यो सिजन पनि निरन्तरता कायम राख्ने अवसर बनेको छ । अघिल्ला दुई संस्करणमा फाइनलसम्मको यात्रा तय गरेको टोलीले यसपटक पनि प्लेअफमा स्थान सुरक्षित गर्दै उपाधि दौडलाई जीवित राखेको छ । लगातार तीन संस्करण प्लेअफमा पुग्ने पहिलो टोली बनेको सुदूरपश्चिम यसपटक विगतका दुई फाइनलको अनुभवलाई उपाधिमा बदल्ने लक्ष्यमा हुनेछ ।
यस संस्करणमा काठमाण्डु गोर्खाजको प्रदर्शन पनि उल्लेखनीय रह्यो । करण केसीको नेतृत्वमा रहेको काठमाण्डुले सात खेलमध्ये चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्क जोड्यो । ऊ अङ्क तालिकाको तेस्रो स्थानमा रहँदै प्लेअफमा पुग्न सफल भयो ।
काठमाण्डुले लिग चरणमा केही बलिया टोलीलाई चुनौती दिँदै आफ्नो प्रतिस्पर्धात्मक क्षमता देखाएको छ । टोलीका लागि जित र हारबीचको उतारचढाव रहे पनि निर्णायक खेलमा प्राप्त नतिजाले प्लेअफको बाटो खुला ग¥यो । लगातार दोस्रोपटक प्लेअफमा पुगेको काठमाण्डुले अब उपाधि यात्रालाई थप अघि बढाउन आफ्नो प्रदर्शनमा निरन्तरता दिनुपर्नेछ ।
प्लेअफमा स्थान बनाउने चौथो टोली चितवन राइनोजका लागि भने लिग चरण मिश्रित रह्यो । चितवनले सात खेलमध्ये तीनमा जित र तीनमा हार व्यहोर्दा एक खेल वर्षाका कारण रद्द भएको थियो । यससँगै उसले सात अङ्क जोड्दै तालिकाको चौथो स्थान हासिल ग¥यो ।
लिग चरणमा चितवनले अपेक्षाकृत स्थिर प्रदर्शन गर्न नसके पनि आवश्यक खेलमा जित निकाल्दै प्लेअफमा पुग्न सफल भयो । जित र हारको समान सङ्ख्या तथा वर्षाका कारण बाँडिएको एक अङ्कले उसको यात्रा केही उतारचढावपूर्ण बनेको देखिन्छ । अब चितवनसामु लिग चरणका कमजोरी सुधार्दै नकआउट चरणमा थप प्रभावशाली प्रदर्शन गर्ने चुनौती छ ।
गत संस्करणको लिग चरणमा दोस्रो स्थान हासिल गरेको विराटनगर किङ्सका लागि भने यसपटकको एनपिएल सुखद रहन सकेन । उसले सात खेलमध्ये तीनमा मात्र जित निकाल्दा चार खेलमा पराजय व्यहोर्यो । अघिल्लो संस्करणमा बलियो उपस्थिति जनाएको विराटनगर यसपटक भने शीर्ष चारमा पर्न असफल रह्यो ।
लिग चरणमा टोलीले अपेक्षाअनुसारको निरन्तरता कायम राख्न नसक्दा उसको प्लेअफ यात्रा समाप्त भयो । अघिल्लो संस्करणको प्रदर्शनलाई आधार मान्दा यसपटक विराटनगरबाट थप राम्रो नतिजाको अपेक्षा गरिएको थियो । तर, प्रतिस्पर्धात्मक लिगमा साना कमजोरीको मूल्य उसलाई महँगो साबित भयो ।
कर्णाली याक्सका लागि पनि एनपिएलको तेस्रो संस्करण उपलब्धिमूलक बन्न सकेन । उसले सात खेलमध्ये तीनमा जित र चारमा हार व्यहोर्दै अङ्क तालिकाको छैटौँ स्थानमा रहेर प्रतियोगिता टुङ्ग्यायो । केही खेलमा प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि त्यसलाई निरन्तर जितमा परिणत गर्न नसक्नु कर्णालीका लागि महँगो साबित भयो । फलस्वरूप टोलीले प्लेअफमा स्थान बनाउन सकेन ।
पोखरा एभेन्जर्सको एनपिएल यात्रा पनि यसपटक निराशाजनक रह्यो । सात खेलमध्ये दुईमा मात्र जित निकाल्न सफल पोखराले पाँच खेलमा पराजय व्यहोर्यो । चार अङ्क जोडेको पोखरा अङ्क तालिकाको सातौँ स्थानमा रह्यो ।
गत संस्करणमा पाँचौँ स्थान हासिल गरेको पोखराले यसपटक पनि आफ्नो प्रदर्शनमा अपेक्षित सुधार गर्न सकेन । प्रतियोगिताका तीनवटै संस्करणमा सहभागिता जनाए पनि हालसम्म प्लेअफमा स्थान बनाउन नसकेको पोखराका लागि यो निरन्तरको निराशा हो । टोलीले आगामी संस्करणमा आफ्नो खेल रणनीति र समग्र प्रदर्शनमा सुधार गर्नुपर्ने देखिएको छ ।
पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका लागि भने तेस्रो संस्करण सबैभन्दा निराशाजनक रह्यो । जनकपुरले सात खेलमध्ये दुईमा मात्र जित निकाल्दा पाँच खेलमा हार व्यहो¥यो । चार अङ्क जोडेको जनकपुर अङ्क तालिकाको अन्तिम अर्थात् आठौँ स्थानमा रह्यो ।
पहिलो संस्करणको उपाधि जितेर एनपिएलमा आफ्नो बलियो पहिचान बनाएको जनकपुरले त्यसपछिका संस्करणमा भने अपेक्षित प्रदर्शन गर्न सकेको छैन । गत संस्करणमा पनि अङ्क तालिकाको पुछारमा रहेको जनकपुर यसपटक पनि सोही स्थानमा सीमित भयो । लगातार कमजोर नतिजाले टोलीको आगामी यात्रालाई थप चुनौतीपूर्ण बनाएको छ ।
लिग चरण सकिएसँगै अब प्रतियोगिता उपाधिको निर्णायक मोडमा प्रवेश गरेको छ । चार टोलीबीच हुने प्लेअफ प्रतिस्पर्धाले यस संस्करणको विजेताको टुङ्गो लगाउनेछ । लिग चरणमा शीर्ष स्थान हासिल गरेको लुम्बिनी आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम, काठमाण्डु र चितवन पनि पहिलोपटक उपाधि उचाल्ने योजनासहित मैदानमा उत्रनेछन् ।(रासस)




प्रतिक्रिया राख्नुहोस्