विश्व समाचार

द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै इरान–इराकबीच छलफल

इरान र इराकले आपसी सम्मान, मैत्रीपूर्ण सम्बन्ध तथा पारस्परिक विश्वासलाई उच्च प्राथमिकता दिँदै द्विपक्षीय सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार इरानको राजधानी तेहरानमा सम्पन्न उच्चस्तरीय भेटवार्तामा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाई र इराकका राष्ट्रिय सुरक्षा सल्लाहकार कासिम अल-अबुदीबीच दुई देशको साझा हित, सुरक्षा सहकार्य तथा क्षेत्रीय शान्ति र स्थायित्वका विषयमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको इरानको सरकारी समाचार संस्था इरनाले जनाएको छ।

भेटका क्रममा दुवै पक्षले सन् २०२३ मा सम्पन्न द्विपक्षीय सुरक्षा सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्दै आपसी समझदारी र सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

इरानी अधिकारी रेजाईले इरान र इराकबीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा छिमेकी सम्बन्धलाई आपसी सम्मान र विश्वासका आधारमा अझ उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । उहाँले साझा सीमाक्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम राख्न दुवै देशबीच निरन्तर संवाद, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो।

उहाँले स्वतन्त्र, शक्तिशाली र विकसित इराक पश्चिम एसियामा शान्ति तथा स्थायित्व प्रवर्द्धन गर्ने क्षेत्रीय प्रयासको महत्वपूर्ण आधार बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

यसैगरी, रेजाईले दुई देशबीच आर्थिक, व्यापारिक तथा अन्य पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने उल्लेख गर्दै दुवै राष्ट्रको साझा समृद्धिका लागि सकारात्मक र रचनात्मक सम्बन्धलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।

इराकका राष्ट्रिय सुरक्षा सल्लाहकार अल-अबुदीले इराक सरकार द्विपक्षीय सुरक्षा सम्झौताको पूर्ण कार्यान्वयनप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे। उहाँले इराकको सार्वभौमिकता, क्षेत्रीय अखण्डता तथा छिमेकी राष्ट्रहरूसँगको मैत्रीपूर्ण सम्बन्धप्रति आफ्नो देशको सम्मान र प्रतिबद्धता व्यक्त गर्दै इराकको हवाई क्षेत्र तथा भूभाग इरान वा अन्य छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने बताउनुभयो।

इराकका प्रधानमन्त्री अली अल-जैदीका विशेष प्रतिनिधिका रूपमा तेहरान पुगेका अल-अबुदीले भ्रमणका क्रममा इरानका वरिष्ठ अधिकारीहरूसँग विभिन्न विषयमा भेटवार्ता तथा छलफल गर्ने कार्यक्रम रहेको छ।

दुई देशका वरिष्ठ अधिकारीबीच भएको यस भेटवार्ताले पारस्परिक सम्मान, विश्वास, सद्भाव र कूटनीतिक सहकार्यलाई थप प्रगाढ बनाउँदै पश्चिम एसियामा शान्ति, सुरक्षा, सहअस्तित्व र क्षेत्रीय स्थायित्व प्रवर्द्धन गर्ने साझा प्रयासलाई सकारात्मक दिशा दिने अपेक्षा गरिएको छ।(रासस/सिन्ह्वा)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.