राजनीति

पूर्व अधिराजकुमारी प्रेरणाले दाबी गरेको दाइजो ट्रष्टकै सम्पत्ति भएको ठहर

सर्वोच्च अदालतले तत्कालीन अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहले आफ्नो दाइजो भनी दाबी गर्दै आएको काठमाडौँको छाउनीमा रहेको १५ रोपनी जग्गा नेपाल ट्रष्टकै भएको ठहर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले आज उक्त जग्गा नेपाल ट्रष्टकै भएको फैसला गरेको हो ।

अदालतले छाउनीमा रहेको नेपाल ट्रष्टको उक्त जग्गामा प्रेरणाको माग दाबी नपुग्ने उल्लेख गर्दै मुद्दा नै खारेज गरेको छ । अदालतको निर्णयसँगै सो जग्गामा नेपाल ट्रष्टकै भएको छ ।

सर्वोच्च अदालतबाट एक प्रेरणाको दाइजो भएको फैसला र अर्को पटक नेपाल ट्रष्टकै सम्पत्ति भएको ठहर गर्दै दुईपटक फैसला भइसकेको थियो । तेस्रोपटक संवैधानिक इजलासमा पुनरावलोकन निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले नेपाल ट्रष्टकै सम्पत्ति भएको ठहर गरेको हो ।

सरकारले पूर्वराजा वीरेन्द्र शाहको नाममा रहेको सम्पूर्ण सम्पत्ति २०६४ पुस १ गते नेपाल ट्रष्टमा राख्ने निर्णय गरेको थियो । ट्रष्टकै नाममा रहेको उक्त जग्गा पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी छोरीलाई दाइजो दिएको उल्लेख गर्दै २०७१ माघ २५ मा सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश रामकुमार साह र तत्कालीन न्यायाधीश चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले नेपाल ट्रष्टको नाममा रहेको सो जग्गा प्रेरणाको दाइजो नै भएको फैसला गरेको थियो । नेपाल ट्रष्टको उक्त फैसलाविरुद्ध दायर गरेको पुनरावलोकन निवेदनमा अदालतले उक्त जग्गा प्रेरणाको माग दाबी नपुग्ने हुँदा नेपाल ट्रस्टकै भएको फैसला सुनाएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपक कार्की र सपना मल्लको इजलासले २०७३ पुस २१ गते पूर्वराजा वीरेन्द्र र उहाँका परिवारको नाममा रहने व्यवस्थाअनुसार सबै सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी ट्रष्टकै भएको हुँदा छाउनीको उक्त जग्गा ट्रष्टकै भएको फैसला गरेको थियो ।

अदालतले नेपाल ट्रष्टकै सम्पत्ति भएको फैसला सुनाएपछि उक्त फैसलामाथि चित्त नबुझेर २०७५ पुस ६ गते प्रेरणा शाहले संवैधानिक इजलासमा पुनरावलोकन निवेदन दायर गर्नुभएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले गत असार २० गते यसअघि सर्वोच्च अदालतले फैसला गरेका दुईवटा फैसलाको मिसिल झिकाउने आदेश जारी गरेको थियो । ट्रष्टको वा प्रेरणाको दाइजो भन्ने विवाद अन्त्य हुँदै उक्त जग्गा ट्रष्टकै भएको ठहर भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.