राजनीति

सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ : सञ्चारमन्त्री कार्की

सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ ।

अनलाइन पत्रकार सङ्घको ११औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सञ्चार क्षेत्रको मुख्य काम जनमत निर्माण गर्ने रहेको बताउँदै त्यसका लागि अनलाइन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले पत्रकारिता पेसाको शुद्दीकरणका लागि अनलाइन पत्रकार सङ्घजस्ता विधागत संस्थाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

उहाँले अनलाइन सञ्चारमाध्यमलाई पनि अन्य सञ्चारमाध्यम सरह लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली सञ्चार क्षेत्रमा अनलाइनको महत्व र औचित्य वर्तमान समयमा झन् बढेको बताउनुभयो ।

सङ्घका अध्यक्ष शिवप्रसाद सत्याल, नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाल, नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलगायतले अनलाइन पत्रकारिताको विकासका लागि सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

सङ्घको ११औँ साधारणसभाले डिल्लीप्रसाद सापकोटाको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । सङ्घको उपाध्यक्षमा गोविन्द अधिकारी, सचिवमा गोविन्द मरासिनी कोषाध्यक्षमा निर्दोष घोरसइनेलाई निर्विरोध निर्वाचित गरेको हो । यस्तै सदस्यमा प्रजु पन्त, अमृत पौडेल र रविराज बराल हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button