क्रिकेटखेल

कोशी प्रदेशलाई पराजित गर्दै एपीएफले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि

रुविना सर्वोत्कृष्ट खेलाडी

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । एपीएफ क्लबले कोशी प्रदेशलाई फाइनल खेलमा ११ रनले पराजित गर्दै उपाधि जितेको हो । विजेता एपीएफ क्लबले रु पाँच लाख तथा उपविजेता कोशीले रु तीन लाख पुरस्कार प्राप्त गर्यो ।

प्रधानमन्त्री कप महिला क्रिकेट

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएको टस जितेर पहिला ब्याटिङ गर्दै एपीएफ क्लबले कोशी प्रदेशसामु जितका लागि एक सय १५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कोशीले २० ओभर खेल्दै चार विकेटको क्षतिमा एक सय तीन रन मात्र बनाउन सक्यो । यसअघि ब्याटिङ गर्ने क्रममा एपीएफ क्लबले सात विकेटको क्षतिमा एक सय १४ रन बनाएको थियो । एपीएफका लागि इन्दु बर्माले अद्र्धशतकीय पारी खेलिन् । उनले ४७ बल खेल्दै ५३ रनको योगदान दिइन् । सो क्रममा बर्माले छ चौका र एक छक्का प्रहार गरिन् । यस्तै ज्योति पाण्डेले २७ तथा रोमा थापाले १४ रन बनाइन् ।

बलिङतर्फ कोशीका लागि अप्सरी बेगमले ह्याट्रिक गरिन् । उनले २०औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिइन् । पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थापा तथा तेस्रो बलमा सोनु खड्काको विकेट लिइन् । यस्तै एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले एक–एक विकेट लिइन् ।

यस्तै कोशी प्रदेशका लागि ब्याटिङ गर्ने क्रममा कप्तान रुबिना क्षेत्रीले अद्र्धशकतीय पारी खेलिन् । उनले ६२ रन बनाइन् । क्षेत्रीले ५८ बल खेल्दै एक छक्का र सात चौका प्रहार गरिन् । यस्तै काजल श्रेष्ठले २९ बलमा २२ रन बनाइन् ।

बलिङतर्फ एपीएफ क्लबका लागि करुणा भण्डारी र कप्तान सीता रानामगरले एक एक विकेट लिइन् ।

रुविना सर्वोत्कृष्ट खेलाडी
त्यस्तै प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छन् । उनी नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तानसमेत हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा कप्तान क्षेत्री सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी हुन । उनले स्कुटर पुरस्कार प्राप्त गरिन् ।

रुविना सर्वोत्कृष्ट खेलाडी

यसैगरी गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनी उदियमान खेलाडी घोषित भइन् । उनले उपाधिसहित रु ५० हजार बराबरको क्रिकेट सामग्री प्राप्त गरिन् । प्रतियोगितामा मधेश प्रदेशकी पूजा महतो उत्कृष्ट बलर छनोट भइन् भने गण्डकी प्रदेशकी सुमन खतिवडाले उत्कृष्ट ब्याटरको उपाधि पाइन । दुवैजनाले जनही रु ५० हजार पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.