भारतीय खेलाडीलाई हराउँदै प्रिन्स फाइनलमा
हालै मात्र विश्व ब्याडमिन्टन वरियतामा चौधौं स्थानमा रहन सफल नेपालका प्रिन्स दाहाल काठमाडौंमा जारी ‘प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिज’को फाइनलमा प्रवेश गर्नुभएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा भएको सेमिफाइनलमा यु १९ एकलतर्फ उहाँले भारतका अभिन वशिष्टलाई २–१ सेटमा हराउँदै उपाधि भिडन्त पक्का गर्नुभएको हो ।
प्रिन्सले पहिलो सेट २१–१८ अङ्कले जित्नुभएको थियो । दोस्रो सेट उहाँले २०–२२ अङ्कले गुमाउनुभयो । तेस्रो सेट २१–१७ अङ्कले आफ्नो पक्षमा पार्दै पिन्सले फाइनलमा स्थान बनाउनुभएको हो ।
प्रिन्सले शनिबार उपाधिका लागि शनिबार भारतीय खेलाडी मिरावा लेवाङसित खुल्नुहुनेछ । लेवाङले आज भएको सेमिफाइनल खेलमा श्रीलङ््काका दुमिन्दु अवेविक्रमालाई २१–१२ र २१–८ अङ्कले हराउँदै उपाधिको दाबेदारी गर्नुभएको हो ।
यस्तै यु १९ महिला एकलतर्फ भारतकी मिर तस्मिन फाइनलमा प्रवेश गर्नुभएको छ । उहाँले नेपालकी निता लम्साललाई २१–९ र २१–९ अङ्कले पराजित गर्नुभएको हो ।