बिचार

सन्दर्भ राष्ट्रिय एकता दिवस : स्वाधीनता, समाजवाद र राष्ट्रवादको मेरुदण्ड- पृथ्वी विचार

जनआन्दोलन–२ को सफलतापछि राजतन्त्रसंग जोडिएका सबै पक्षको समुल नष्ट गर्ने होडबाजी चल्यो । यसको पहिलो शिकार राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई बनाइयो । पृथ्वीका शालिक ढालिए, हरेक वर्ष पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवस हटाइयो । त्यसपछिको लामो समयसम्म यसले निरन्तरता पायो । अन्ततः पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले अघिल्लो वर्ष अर्थात् २०७९ देखि पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिन सुरु गर्यो ।

नेपालको राष्ट्रियता र राष्ट्रिय एकताको आधार पृथ्वीनारायण शाहबाट नै खडा भएको हो । उनले सन् १७६८ मा काठमाडौं प्रवेश गरेर एकीकृत नेपाल निर्माणको गति अगाडि बढाएका थिए भने उनको अवशानपछि पनि उनका सन्ततिले राज्य विस्तारको गतिलाई सन् १८१४ सम्म जारी राखेका थिए ।

पृथ्वीनारायण शाहले विजय प्राप्त गरेका क्षेत्रका जनतालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिँदै उनीहरूको परम्परा, रीतिरिवाज, सुविधा र अधिकारको रक्षा गरी नेपाल चार वर्ण ३६ जातको फुलवारी भएको उद्घोष गर्दै समावेशी अवधारणा प्रस्तुत गरे । उनले गोर्खा राज्यको साम्राज्य विस्तार नगरी नेपालको एकीकरण गरेका हुन् ।

नेपाललाई बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक राज्यका रूपमा उनैले स्थापित गरेका हुन् । के उपत्यका, के पहाड, के तराई, के पूर्व र के पश्चिम सवैतिरका ससाना राज्यहरूलाई एउटै सूत्रमा बाँधेर यो भूखण्डको सांस्कृतिक बिशिष्टताको रक्षा गर्दै उनले नेपालको स्वाधीनता र स्वतन्त्रताको संरक्षण र संवर्धन नगरेको भए आज हामीले कहिल्यै पनि विदेशी दासता स्वीकार नगरेको गर्व गर्न पाउने थिएनौं ।

पृथ्वीनारायण शाहले नेपाललाई निरन्तर जोगाउने र जगाइराख्ने विचार प्रतिपादन गरी दिव्योपदेशका रुपमा नेपाली जनतालाई उपहार दिएर गएका छन् । नेपालको राष्ट्रियता अहिले नितान्त कमजोर भएको र राष्ट्रिय एकताको आधार नै समाप्त पार्ने सुनियोजित षड्यन्त्र गरी विखण्डनकारी अनेक सोचको प्रक्षेपण भैरहेको अनपेक्षित सन्दर्भमा यो राष्ट्र जोगाउने र जगाउने वैचारिक स्रोत दिव्योपदेश हुनसक्छ ।

नेपालको राष्ट्रिय एकता र सद्भाव खल्बल्याएर यो देशको हुर्मत लिने षड्यन्त्रको गोटी बनेर जस जसले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानमाथि पर्दा हाल्ने काम गरेका छन् तिनलाई इतिहासले कहिल्यै क्षमा गर्ने छैन । पृथ्वीनारायण शाहले राष्ट्रिय चिन्तनधार अनुरुप कोरेको राष्ट्रिय मार्गचित्रलाई समयसापेक्ष गति दिनसके यो देशमा विदेशी चलखेल मौलाउन पाउने छैन र राष्ट्रियता, राष्ट्रिय एकता र अखण्डता एवं नेपाली–नेपालीबीचको सद्भाव सधैं जोगिइरहने छ ।

विक्रम सम्वत १७७९ को पुस २७ गते १२ हजार घरधुरी भएको सानो राज्य गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले हिमवत्खण्डमा विभाजित भएर रहेका पूर्व र पश्चिमका ससाना भूरे टाकुरे राज्यहरूलाई एकीकरण गरी विशाल नेपालको एकीकरण गरेकाले नै हामी आज स्वतन्त्र, सार्वभौम देश नेपालका नागरिक भएर रहनपाएको गौरव गर्न पाएका छौं ।

दक्षिणमा प्रवेश गरेको बेलायती साम्राज्यले भारतभूमिमा छरिएर रहेका ६–७ सय राज्यहरूलाई आफ्नो अधीनमा पारेर गुलाम बनाउँदै गएको देखेपछि आफ्नो पवित्रभूमिलाई साम्राज्य विस्तारको चपेटाबाट जोगाउन उनले २२ से २४ से ससाना राज्यलाई एकीकरण गरेर विशाल नेपालको निर्माण गर्ने र यो भूभागको स्वतन्त्र अस्तित्व सुरक्षित गर्ने सपना देखे ।

वि.सं. १७९९ को चैत २५ गते २० वर्षको उमेरमा गोर्खा राज्यको राजा बनेका पृथ्वीनारायण शाहमा जुन युगचेतना जागृत भयो त्यसैले नै उनलाई विशाल नेपालको एकीकरणका लागि प्रेरित ग¥यो ।

आफ्नो जीवनकालमा २५ वर्ष नेपाल एकीकणमा बिताएका पृथ्वीनारायण शाहले नेपाललाई साम्राज्यवादीको चंगुलबाट बचाएर बलियो नेपाल खडा गरेको सन्दर्भमा उनी नेपालको एकीकरणकर्ता हुन् । त्यसैले यिनैको जन्मोत्सवको दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइन्छ । यति मात्र होइन पृथ्वीनारायण शाह एक दार्शनिक, धार्मिक, सामाजिक, समावेशी र समाजवादी चरित्रका राजनेता पनि हुन् भन्ने धेरैको ठम्याई छ । आफ्ना दिव्य उपदेशहरुमा पृथ्वीनारायणले यस्तै कुरा व्यक्त गरेर मार्गदर्शन गरेको पाइन्छ पनि ।

नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी भएको घोषणा गर्दै यसलाई मर्न नदिन आफ्ना सन्ततिलाई दिव्योपदेश दिएर गएका पृथ्वीनारायण शाहको महानायकको नेतृत्वमा बाइसे–चौविसे राज्यमा विभक्त नेपालको एकीकरण भएको थियो । दक्षिणतिर अंग्रेज साम्राज्यको विस्तार भैरहेको बेलामा यो पहाडी भूभागको स्वतन्त्र अस्तित्व जोगाइराख्न पृथ्वीनारायण शाहले नै नेपालको एकीकरण अभियान चलाएर सबल नेपाल राष्ट्रको निर्माण गरेका थिए ।

उनले सानो गोर्खा राज्यको विस्तार साम्राज्यवादी शैलीमा गरेका नभै यो भूभागका ससाना राज्यलाई समीकरण र एकीकरण गरेका हुन् । उनले नेपालको राजनीतिक एकीकरणका अतिरिक्त सामाजिक–सांस्कृतिक एकीकरण पनि गरे । नेपाललाई विजित राज्यका रुपमा उनले कहिल्यै हेरेनन् र व्यवहार पनि गरेनन् । अहिले हामी नेपाली भएको र नेपाल सार्वभौम राष्ट्र भएको जुन गर्व गर्छाैं त्यो पृथ्वीनारायण शाहकै देन हो । नेपालमा समावेशी राजनीतिक, सामाजिक र सांस्कृतिक चेत जगाउने समय सापेक्ष दृष्टिकोण उनैले उत्तिबेलै प्रक्षेपण गरेका थिए ।

समय बदलियो, राजनीतिक सन्दर्भ बदलिए, सत्तामा पुग्नेहरू, शक्तिमा रम्नेहरूको अनुहार बदलियो, योसंगै नेपालको एकीकरणको आधार भत्काउने काम भए, राष्ट्रिय एकता छिन्नभिन्न पार्ने काम भए । यसको सुरुवात पृथ्वीनारायण शाहको सालिक भत्काउने, उनको जन्मोत्सव नमनाउने, उनलाई राजतन्त्रको जननीका रुपमा अपव्याख्या गर्दै उनले नेपाल राष्ट्र बनाउन र नेपाली जनतालाई एकताको सूत्रमा बाँध्न निर्वाह गरेको भूमिकाको अपव्याख्या गर्दै घृणा पैदा गराउने काम राजनीतिक तहबाट भयो । तर, तिनैले पछि भन्न थाले कि पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेकै हुन् । नेपालको अखण्डित भूमि कायम गर्न पृथ्वीनारायण शाहको योगदान छ ।

इतिहासको अर्काे पाटो के छ भने लिच्छवीकालमा नेपाल एक र विशाल थियो । मध्यकालमा आएर विशाल नेपाल खण्डित हुँदै गयो र कमजोर भयो । यो भूखण्ड बाइसे–चौविसे राज्यमा विभक्त हुनपुग्यो । तर, पृथ्वीनारायण शाहले नेपाल रक्षाको आत्मबोध गरी विखण्डित नेपालको पुनः एकीकरण गरे एसियाकै पहिलो स्वतन्त्र राष्ट्रका रुपमा यो देशको अस्मिता जोगाएका हुन् ।

विगतमा पृथ्वीनारायण शाहले विच्छिन्न नेपाललाई एकीकृत गरेर यो देशको स्वतन्त्र अस्तित्व जोगाएका थिए । सो कठिन सत्कार्यका लागि जनताको साथ लिएका थिए । उनको दूरदृष्टि र आत्मबललाई जनताले साथ दिएका थिए । सानो गोर्खा राज्यबाट विशाल नेपालको पुनः एकीकरण त्यसैको परिणाम थियो ।

नेपालको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकता जोखिममा पर्दैगएको चिन्ता अहिले सर्वत्र जागेको छ । यस्तो चिन्ता उत्पन्न हुनुको पछाडि नेपालका सत्ता आकाङ्क्षी राजनीतिक नेताहरूको आन्तरिक राजनीतिक समस्याको निराकरण र परिवर्तनका लागि बाहिरी शक्तिलाई गुहार्ने परनिर्भरतावादी सोच नै प्रमुख कारण छ ।

देश अहिले परनिर्भरतावादीहरूको चंगुलमा फसेर अनिर्णयको बन्दी बनिरहेको छ । यो अवस्थामा वैदेशिक हस्तक्षेपमुक्त राष्ट्रिय चिन्तनधारको राजनीतिक मार्ग अवलम्बन नै सही विकल्प हो । राष्ट्रिय चिन्तनधारको राजनीतिका निम्ति पृथ्वीनारायण शाहको योगदानको उचित मूल्यांकन र उनले दिव्योपदेश मार्फत दिग्दर्शन गरेको मार्गचित्रको अनुशरण सही बाटो हुनसक्छ ।

मुलुक अहिले जुन समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको छ यसमा राष्ट्रिय चिन्तनधारको अभाव हो । पृथ्वीनारायण शाहले देशको ढुकुटी कसरी बलियो बनाउने, उत्पादन कसरी बढाउने, विदेशीसंग कस्तो र कसरी सम्बन्ध कायम गर्ने, जनतालाई न्याय, सुरक्षा कसरी दिने, शासन व्यवस्था कसरी जनमुखी बनाउने, कसरी जनताको भावनाको कदर गर्ने र कसरी सबैलाई राज्य संचालन तहमा सामेल गर्ने भन्ने दृष्टान्त दिएर गएका छन् ।

नेपाल एकीकरणकै क्रममा बिसे नगर्चीको सुझाव ग्रहण गर्ने पृथ्वीनारायण शाहको सेनामा देशका सबै जातजातिको सहभागिता थियो । समावेशी समाज निर्माणमा त्यो अद्भूत परिस्थिति थियो । आज समावेशी, समानुपातिक भनेर कर्णकटु आवाज जतिसुकै निकाले पनि यसको अभ्यास नेपाल एकीकरणताकाबाटै सुरु भैसकेको तथ्य बुझ्ने हो भने पृथ्वीनारायण शाहलाई नै बुझ्नुपर्छ ।

पृथ्वीनारायण शाहले नेपाल भूगोलमा विदेशी पस्न नदिने नीति लिएकै कारण एकीकरणकै क्रममा नेपालमाथि बेलायती साम्राज्यले आक्रमण गर्ने सुइँको पाएपछि पहिलोपटक बेलायतलाई सिन्धुलीगढीको युद्धमा पराजयको स्वाद चखाएर विश्वमा नेपालको स्वतन्त्र अस्तित्व, नेपालीको वीरता र साहस अनि स्वाभिमानको चिनारी दिन सफल भए ।

यो गौरवशाली इतिहास नै नेपाल र नेपालीको प्राण हो भन्ने बुझ्न कञ्जुस्याई गर्नु पर्दैन । हामी आफ्नै पुर्खाप्रति कृतघ्न बन्दाको परिणाम राष्ट्र निर्माताहरुको योगदानको कदर गर्न नसकेका हौं । राजनीतिक गतिविधिको अनुसरण र चर्चा गर्दा विदेशको उदाहरण दिने हाम्रा राजनेताहरूले नेपालभन्दा झण्डै एक सय वर्ष पछाडि रक्तरञ्जित रुपमा एकीकरण भएको जर्मनको स्मरण गर्दैनन् । जर्मनले बिस्मार्कलाई राष्ट्र एकीकरणकर्ता मान्छ । त्यहाँ यस विषयमा बहस हुन्छ ।

बिस्मार्कका राम्रा कामको चर्चा हुनुका साथै नराम्रा कामको पनि चर्चा–परिचर्चा भए पनि वर्षमा एकदिन त्यस्तो व्यक्तित्वको स्मरण राष्ट्रले गर्ने गर्दछ । नेपालमा पनि नेपाली जनता पृथ्वीनारायण शाहको जयजयकार गरिरहेका बेला राजनीतिक दलका नेताहरू छिद्रान्वेषी भएर पृथ्वीनारायण शाहले कहाँ के गल्ती–कमजोरी गरेका थिए त्योमात्रै खोतल्ने गर्दछन् ।

निश्चित छ– पृथ्वीनारायण शाहका कमजोरीहरू पनि प्रकाशमा आउनुपर्छ तर एकीकरणको जग हाल्ने महापुरुषको स्मरण नै नगर्नु घोर विडम्बना हो । राष्ट्र हाँक्नेहरू नै आज राष्ट्रको एकताबद्ध जग हाल्ने विभूतिलाई दुत्कारिरहेको अवस्थामा यो राष्ट्र कसरी बलियो हुन सक्ला ?

राष्ट्रिय विभूतिका अतुलनीय कार्यको गलत चर्चा र इतिहासको अपव्याख्या गरेर योगदानको अवमूल्यन गर्नु राष्ट्रघातलाई बल दिनुमात्र हो । नेपाल जोगाउन र जगाउन पृथ्वी विचारको मनन गर्ने र राष्ट्रिय चिन्तनधारको अविरल र अजस्र स्रोतका रुपमा त्यसलाई ग्रहण गर्ने हो भने राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकता निरन्तर जोगिनसक्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.