बिचार

सकारात्मक ऊर्जाको स्रोत साझा पर्व माघे संक्रान्ति

नेपालमा मनाइने हरेक पर्वलाई सूक्ष्म दृष्टिले विश्लेषण गर्ने, यसको अभ्यास परम्परा हेर्ने हो भने मानव जीवन सहज बनाउन प्रकृतिसंग निकट रहनुपर्छ र प्रकृतिको निकट रहेर जीवनयापन गर्नुपर्छ भन्ने मान्यता रहेको पाइन्छ । यही मान्यतालाई पुष्टि गर्ने नेपालीहरुको साझा पर्व हो माघे संक्रान्ति ।

कुनै पनि धार्मिक पर्वहरु कुनै जात विशेषले मात्र मनाउने गर्दैनन्– सबै जात, धर्म र सम्प्रदायले आआफ्नै किसिमले मनाउने गर्दछन् । यो पूर्वीय जीवनशैलीको एउटा उत्कृष्ट अभ्यास हो । यस्तै एउटा उत्कृष्ट बहुजातीय, बहुधार्मिक पर्व माघे संक्रान्ति नेपालीको साझा पर्व हो ।

माघे संक्रान्ति खाने पिउने, रमाइलो गर्ने पर्व मात्र नभएर यसलाई मनाउनुको बहुविध अर्थ छ । सूर्य कर्कट राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जान्छ ।

माघे संक्रान्तिपछि सकारात्मक ऊर्जाको प्रवाह हुने विश्वास छ । शास्त्र अनुसार दक्षिणयनलाई देवताको रात्री अर्थात नकारात्मकताको प्रतीक मानिन्छ । जबकी उत्तरायणलाई देवताको दिन अर्थात सकारात्मकताको प्रतीक मानिन्छ । यसै दिनदेखि अन्धकार कम हुन्छ, सूर्यको प्रकाश तेज हुन्छ । प्रकाश अधिक हुने भएकाले प्राणीको चेतना र कार्यशक्तिमा वृद्धि हुन्छ ।

धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक तबरबाट पनि माघे संक्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ । धार्मिक रूपले यस दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने सात जन्मसम्म पनि ऊ निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ, त्यस्तै वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको शरीर र आत्मा शुद्ध हुने अनि संक्रान्तिमा खाइने तिल, चाकु, तरुल जस्ता खानेकुराले शरीरमा तापक्रम बढ्ने र जाडो हट्ने गर्दछ ।

माघे संक्रान्तिको अर्को विशेषता भनेको नेपाली समाजको भाइचाराको सम्बन्ध पनि हो । आजभोलि यो प्रथा हराउँदै गए पनि गाउँघरतिर अझै पाइन्छ । तरुल, सख्खरखण्ड, पिँडालु आदि छरछिमेकमा बाँडेर खाने गरिन्छ । त्यस्तै यतिबेला खास गरी गरिब, निसाहयलाई अन्न, तिल, गुड आदि दान गरिन्छ ।

माघे संक्रान्ति हरेक जातजातिले आआफ्नै महत्वका साथ मनाउने गर्दछन् । नेवार समूदायमा ‘घ्य–चाकु सँल्हु’ नामले मनाउँछन् । उनीहरुले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् ।

यस पर्वलाई थारु समुदायले ‘माघी’ नयाँ वर्षको रूपमा मनाउँछन् । माघी पर्वलाई थारू समुदायमा स्वतन्त्रताको पर्वका रूपमा पनि चिनिन्छ । माघीमा थारू संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेषभूषा, थारूहरूको मौलिक खानाको परिकार घोंघी, ढिक्री लगायत सांस्कृतिक झाँकी, नाचगान जस्ता कार्यक्रमको आयोजना गरिन्छ ।

माघे संक्रान्ति मगर जातिहरुले तीन दिनसम्म बिशेष धुमधामका साथ मनाउने गर्दछन् । पहिलो दिन स्नान गरेर पुर्खा तथा कुलायनको पूजा गर्ने र दिदीबहिनीलाई ‘निशो’ ले पुज्ने प्रचलन छ । दोस्रो दिन माघ खान बनभोजको रुपमा टाढा जाने गर्दछन् भने अन्तिम दिन गाउँभरिका पुरुषहरु मिलेर तारो हान्ने चलन छ ।

त्यस्तै तराईका जिल्लाहरूमा ‘तिला संक्रान्ति’ पर्वका रूपमा मनाइन्छ । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डु लगायतका परिकार बनाएर खाने गरिन्छ ।

यो त केही टिपोट मात्रै हो । अन्य विविध जातजातिले आआफ्नै संस्कार र रितीरिवाज अनुसार माघे संक्रान्ति मनाउने गर्दछन् । विविधतामा एकता र एकतामा सद्भावपूर्ण विविधता नै नेपालको मौलिकता हो र यस्तो मौलिकतालाई माघे संक्रान्तिजस्ता हाम्रा चाड पर्वहरुले जोगाइराखेका छन्, नेपालीहरुमा कायम रहेको सहिष्णुतालाई जगाउँदै–जोगाउँदै अएका छन् ।

ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु माघे संक्रान्ति पर्व नेपालभर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ । यसको आफ्नै धार्मिक महत्व पनि छ ।

भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ ।

धर्मको कुरा मात्र होइन, शिशिर ऋतुको यो कठ्याङ्ग्रिने चीसोमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।

माघे संक्रान्तिका परम्परागत र अभ्यासगत विशेषताका बारमा सबै जानकार नै देखिए पनि यो पर्वले मानिसको जीवनमा प्रकृतिले पार्ने प्रभाव र यसबाट उत्पन्न हुने सकारात्मक ऊर्जाका विषयमा भने अनभिज्ञ नै पाइन्छन् । चाडपर्व मनाउने परम्पराको निर्वाह मात्र अहिले भैरहेको छ । यो दुःखको विषय भए पनि आजभोलि यस्ता पर्वहरुको विशेषताका बारेमा विस्तारै थप अध्ययन हुन थालेको छ ।

नेपालमा मनाइने पर्वहरुले ग्रामीण अर्थतन्त्रलाई केही न केही मात्रामा टेवा दिएको छ । हुन त वर्षदिनमा एकपटक आउने चाडपर्वहरुले के आर्थिक विकास होला र भन्ने प्रश्न नउठ्ने होइन । तर, हेर्दा माघे संक्रान्ति वर्षमा एकपटक आउँछ तर, यस्तै पर्वहरु वर्षमा कतिवटा आउँछन् र यी पर्वहरुलाई हरेक धर्म–सम्प्रदायले कसरी आआफ्नै किसिमले मनाउँछन् भनेर हेर्ने हो भने यसले उपरोक्त प्रश्नको उत्तर दिन्छ ।

कुनै पनि चाडपर्वहरु संस्कृतिसंग मात्र नजोडिएर आर्थिक पाटोसंग पनि जोडिएको हुन्छ भन्ने प्रमाण बजारमा दुर्गम गाउँघरदेखि तरुल विक्री गर्न आएका मानिसहरुको भीडले नै देखाउँछ भने उपत्यका लगायतका क्षेत्रमा चाकु बनाउनेहरुको व्यस्तताले अरु पुष्टि गर्छ । माघे संक्रान्ति मनाउनेहरुका लागि तरुल र चाकुको व्यापार, माघी मनाउनेहरुका लागि उनीहरुको संस्कार र अभ्यास अनुसारको व्यापार भैरहेकै हुन्छ । यसले ग्रामीण क्षेत्रको अर्थतन्त्रमा केही न केही टेवा दिएकै छ ।

कुनै पनि पर्व कुनै जात वा धर्म विशेषको मात्र हो भन्ने मान्नै हुँदैन र त्यस्तो ठान्नु पनि हूँदैन । यदि त्यस्तो हुन्थ्यो भने माघे संक्रान्ति किन सबै धर्म, समुदाय, जात र क्षेत्र तथा भेगका मानिसले आआफ्नै परम्परा अनुसार मनाउथे ? यही प्रश्नको उत्तर खोज्ने हो भने नेपालको भौगोलिक वनावट, यहाँको धार्मिक–सांस्कृतिक विशेषता, जातीय एकता र सहिष्णुता कसरी कायम हुन सम्भव रहेछ भन्ने बुझ्न सकिन्छ ।

तसर्थ, पर्वहरुलाई केवल मीठो खाने एउटा दिनका रुपमा मात्र नहेरी यसको सम्बन्ध प्रकृति र सृष्टि संरचनासंग पनि सम्बन्धित छ भनेर बुझ्ने कोसिस गरियो भने हाम्रा पर्वहरु विश्वव्यापी रुपमा सबैका लागि अनुकरणीय हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.