कस्तो जनशक्ति तयार गर्ने ? प्रमाणपत्रधारी कि सीपधारी ??
कोरोना भाइरस संक्रमणको नयाँ संस्करण (ओमिक्रोन भेरियन्ट) सुरु भएको छ । यसबाट सबैभन्दा बढी प्रभावित शिक्षा क्षेत्र बनेको छ । अहिले विद्यालयहरु बन्द गरिएका छन् र वैकल्पिक माध्यमबाट पठनपाठन भैरहेको छ । विगत दुई वर्षयताको अवस्थालाई मूल्यांकन गर्दा यो समस्या अझै पनि साम्य हुने संकेत छैन र शिक्षा प्रणालीलाई अब समयानुकूल परिमार्जन र पठनपाठन पद्धतिलाई व्यवहारिक पक्षबाट बढी केन्द्रित गर्नुपर्ने आवश्यकता देखिएको छ ।

घोकन्ते र व्यवहारिक शिक्षा दुबै शैक्षिक पद्धति नै हो । तर, घोकन्तेसंगै त्यसको व्याख्या–विश्लेषण गर्ने अनि व्यवहारमा उतार्न उद्यत हुने शिक्षण पद्धति भयो भने त्यस्तो शिक्षाले सीप विकास गराउँछ । अहिले किताब र व्यवहारमध्ये कुनलाई प्राथमिकता दिने भन्ने विषय पनि उठेको छ । यो वास्तविकता भए पनि नेपालको विद्यालयस्तरीय शिक्षा ज्ञान, सीप र क्षमतावृद्धि भन्दा घोकन्ते पद्धतिमा आधारित छ । विद्यार्थीको क्षमता उसको कार्यशैली र प्रस्तुतिमा हैन उसले पाउने नम्बरका आधारित हुन्छ ।
शिक्षाको जग मानिएको विद्यालय र त्यसमा पनि शिशु कक्षालाई विशेष ख्याल गरेर शैक्षिक पद्धतिको विकास गर्ने हो भने छोटै समयमा नेपालको शैक्षिकस्तर गुनासोरहित हुनसक्छ । खासमा शिशुतहदेखि समयसापेक्ष, व्यवहारिक र नैतिक पक्षलाई समेटेर उनीहरुको बौद्धिक, शारीरक र मानसिक विकास गराउने शिक्षा प्रारम्भिक चरणको हुनुपर्दछ ।
समस्या छ शिक्षा पद्धतिमा, सिकाई विधिमा । हामीले आजसम्म बालबालिका लागि दिइने प्रारम्भिक शिक्षाका बारेमा खासै बहस गर्न सकेका छैनौं । वास्तवमा शिक्षाको जग प्रारम्भिक शिक्षा नै हो । प्रारम्भमा हामीले जस्तो शिक्षाबाट बालबालिकालाई अघि बढाउँछौं उसको विकास सोही अनुसार हुन्छ, उसको सिक्ने क्षमता, अनि ग्रहण गर्ने क्षमता पनि सोही अनुसार अघि बढछ, परिस्कृत हुँदै जान्छ ।
बालबालिकालाई प्रारम्भिक तहबाट दिइने शिक्षा कस्तो हुनुपर्छ भन्ने अहिले संसारभरकै बहसको विषय हो । शिक्षक, अभिभावक वा विद्यालयले लादेको कुरा मात्र पढाउने कि उसको क्षमता र चाहनालाई पनि ख्याल गर्ने भन्ने महत्वपूर्ण पाटोतिर कसैको पनि ध्यान गएको छैन । विकसित मुलुकहरुमा बालबालिकाको क्षमता र चाहना अनि प्रतिभा अनुसारको शिक्षा दिइन्छ, त्यसैले ती देश विकसित भए ।
आज बालबालिकाले उसको चाहना र क्षमता अनुसार पाएको ज्ञान नै भोलि मुलुकका लागि कामलाग्छ । लादिएको शिक्षाले केवल शैक्षिक बेरोजगार मात्र उत्पादन गर्छ । आज नेपालमा त्यस्तै भएको छ । विद्यालय तह सकेपछि निम्न आय भएका परिवारका छोराछोरी खाडीतिर श्रम गर्न जाने, अलिक हुनेखानेका छोराछोरी “प्लस टु” सकेपछि विदेश जाने । हामीले यो प्रथाको अन्त्य गर्नुपर्दछ । यसका लागि जग मजबुत बनाउनुपर्छ ।
जब बालबालिका विद्यालयल भर्ना गरिन्छ, तब उनीहरुको मनोविज्ञान बुझ्नु शिक्षक–शिक्षिकाको पहिलो कर्तव्य हो । उनीहरुलाई विद्यालय बोझ नभएर मनोरञ्जन गर्ने थलो हो भन्ने अनुभूति दिलाएर उनीहरुको प्रतिभा निखार्ने प्रयास गर्नुपर्छ । खेलकूद, संगीत, कला वा अन्य जुनसुकै विषयमा जसको जस्तो रुची छ त्यस्तै वातावरण विद्यालयले दिनुपर्छ ।
अर्को महत्वपूर्ण कुरा, बालबालिकाको मनोविज्ञान अनुसार उनीहरुका अभिभावकलाई विद्यालयले उनीहरुका छोराछोरीको प्रतिभा, चाहना र क्षमताका बारेमा जानकारी दिएर त्यस्तै वातावरण घरमा पनि तयार गर्न मनाउन सक्नुपर्दछ । एउटा कुशल शिक्षक–शिक्षिकामा यति गुण हुनैपर्छ ।
हामीकहाँ छोराछोरीले किताबी ज्ञान बाहेक बाहिरी ज्ञान राख्नु वा त्योभन्दा फरक सोच्नु अपराध नै ठानिन्छ । केवल घोकन्ते विद्यामा हामी सबैको ध्यान गढेको छ । शिक्षा भनेको किताब घोकाउनु, गृहकार्य गराउनु मात्र हैन । अझ साना (प्ले ग्रुप) लाई पठनपाठनभन्दा बढी उनीहरुको शारीरिक र मानसिक स्थिति मजबुत पार्ने तथा खेलकूद र उनीहरुको चाहना अनुसारको गतिविधि गराउनु पर्दछ । यही समूहबाट निस्कने बालबालिका नै भोलिका लागि उत्कृष्ट विद्यार्थी र उत्कृष्ट नागरिक बन्नसक्छन् ।
तर, अभ्यास कस्तो छ भने– आजभालि प्ले ग्रुपलाई कतिपय विद्यालयहरुले अतिरिक्त आम्दानीको स्रोत अनि अभिभावकहरुले बालबालिका हेरचाहको केन्द्रका रुपमा मात्र बुझेको पाइन्छ । यो सबभन्दा नराम्रो पक्ष हो । सानैदेखि विद्यालयीय वातावरणमा कलिला बालबालिकाहरुलाई त्यस्तै गतिविधिमा सक्रिय गराउन नै यो समूह स्थापना गरिएको हो र यसलाई त्यही अनुसार बुझेर व्यवहार गर्नुपर्दछ ।
जब बालबालिका औपचारिक शिक्षा आर्जनतर्फ लाग्छन् तब हामी उनीहरुको तौलभन्दा बढीको किताबको भारी बोकाउने गर्दछौं । यसले बालबालिकालाई विद्यालय जानु भनेको ठूलो सजाय काट्नु सरह भएको छ । आजभोलि यो प्रचलन कम हुँदैछ तापनि बालबालिकालाई अझै किताब–कापीको भारी बोकेर घरबाट विद्यालय र विद्यालयबाट घर जाने गरेको प्रशस्तै देखिन्छ । यो नितान्त गलत छ ।
विद्यालय जानु भनेको रमाइलो गर्न जाने हो भन्ने भावनाको विकास गराउन सक्नुपर्छ । बालबालिकालाई निश्चित उमेर समूहसम्म किताबी ज्ञानभन्दा बाहिरी र व्यवहारिक ज्ञान दिनु आवश्यक छ । साथै उनीहरुको प्रतिभा र क्षमताको पहिचान गर्नु आवश्यक छ । यो समूहमा अध्यापन गराउने शिक्षक–शिक्षिकाहरुमा मनोवैज्ञानिक विश्लेषण गर्नसक्ने क्षमता र दयालुपन हुनु उत्तिकै जरुरी छ ।
आजको युग सूचना प्रविधिको युग हो । हामीले पुस्तकमा पढाएकोभन्दा धेरै जान्ने हुन्छन् बालबालिका । उनीहरुले नयाँ नयाँ कुरा पत्ता लगाएका हुन्छन् । तर विद्यालयमा त्यस्ता कुराहरुलाई प्राथमिकता दिइदैन । कुनै विद्यार्थीले ‘आज मैले यस्तो कुरा भेटे नि’ भनेर शिक्षक–शिक्षिकालाई बतायो भने कतिपय शिक्षकले आफूभन्दा जान्ने भको भन्दै उसलाई निरुत्साहित गर्दछन् । यस्तो भयो भने त्यो मात्र हैन, अरु कुनै पनि विद्यार्थीले आफ्नै किसिमबाट सिक्नै सक्दैनन् । उनीहरुको मस्तिष्कमा पढ्ने भनेको केबल किताब घोक्ने मात्रै हो भन्ने कुराले डेरा जमाउछ । अनि कसरी एउटा विद्यार्थी उत्कृष्ट बन्न सक्छ ? एसईईमा ल्याएको ग्रेडकै आधारमा उ उत्कृष्ट हो भन्न कदापी सकिन्न ।
विद्यार्थीको उत्कृष्टता उसको नम्बरमा हैन, उसको क्षमतामा निर्भर हुन्छ । थोरै नम्बर ल्याएर पनि उत्कृष्ट काम गर्ने र धेरै नम्बर ल्याएर राम्रो काम गर्न नसकेका उदाहरण प्रशस्तै छन् । किताबी ज्ञानले मात्रै कोही पनि जान्ने बन्दैनन् । विश्वका महान आविस्कारकहरु किताबी भन्दा व्यवहारिक ज्ञान लिएर महान बनेका उदाहरण अनेक छन् ।
हामीले पनि विद्यालयमा पठनपाठन गराउँदा विज्ञान, प्रविधिसंगै राष्ट्रियताको प्रबद्र्धन गर्ने किसिमले नेपालको पहिचान, यसको गौरबगाथा, यहाँको धार्मिक, सांस्कृतिक विविधताको चिनारी दिनुपर्दछ । यसले मात्र प्रत्येक विद्यार्थीमा राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने भावनाको विकास हुन्छ । अनि त्यतिबेला मात्र शिक्षाको सार्थकता झल्किन्छ । निजी हुन् वा सामुदायिक सबै विद्यालयहरुले यस्तै किसिमले पठनपाठन र अभ्यास गराउनु आवश्यक छ । ज्ञानको सागर जति गहिरो र फराकिलो बनाउदै लगियो त्यसले उति नै सकारात्मक प्रभाव बढाउँछ र विद्यार्थीहरुको व्यक्तित्व विकासमा उल्लेखनीय परिणाम दिनेछ ।
(लेखक श्रेष्ठ उर्सा मेजर चिल्ड्रेन्स एकेडेमी खुसिंबुका संचालक सदस्य हुन्)
प्रतिक्रिया राख्नुहोस्