हिउँले कठ्याङ्ग्रिएर महिलाको मृत्यु
पश्चिमी वायुको प्रभावका कारण लगातारको हिमपातका कारण दैनिक जनजीवन प्रभावित भएको छ । यस क्रममा जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर निधन भएको छ ।

यही माघ २० गतेदेखि परेको हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको निधन भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँकै पाटनमा सेतक चिनी (खिरौंला) कोर्न गएको बेला उनीको यही माघ २१ गते निधन भएको हो ।
“पाटनमा सेतक चिनी कोर्न गएको दिन माघ २० गते राति भारी हिमपात भएपछि २१ गते त्यही हिउँमा कठ्याङ्ग्रिएर उहाँको मृत्यु भएछ,” देवीलालले भन्नुभयो, “गाउँ फर्केर नआएपछि खोजी गर्दा जैकुवाँरालाई पाटनको जंगलमा मृतावस्थामा भेटियो ।” सो घटनास्थल जुम्ला सदरमुकाम खलाङगाबाट एकदिनको बाटो भएकोले प्रहरी पुग्न नसेकेको उहाँले बताउनुभयो ।
यसै गरी तानसेनमा चिसोले एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ रीठाको रुख निवासी ५२ वर्षीय गणेश परियारको चिसोले मृत्यु भएको हो ।
तानसेन नगरपालिका–६ बसपार्क नजिकै घोप्टो परी बेहोस अवस्थामा स्थानीयवासीले देखेका थिए । परियार चिसोका कारण बेहोस भएर लडिरहेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरी उद्धार गरिएको बताइएको छ ।
अस्पतालमा लगिएका परियारलाई चिकित्सकले मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्